एमालेले अराजनीतिक गतिविधि गर्यो : माओवादी नेता आङ्बो

काठमाडौँ । माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेले अराजनीतिक गतिविधि गरेको आरोप लगाएका छन् ।
मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएपछि प्रदेश सभा भवन अघि सञ्चारकर्मीसँग कुरा गर्दै आङ्बोले भने– ‘गठबन्धनको कमजोरीमा र संविधानको केही प्रावधानलाई ख्यालमा राखेर एमाले जसरी जबरजस्त गठबन्धन भित्र घुसेको छ, र एमालेले चाँडो भन्दा चाँडो यो गठबन्धनबाट बाहिरिएर आफ्नो नैतिकता प्रदर्शन गरोस् भन्ने आग्रह गर्न चाहन्छु ।’
उनले गठबन्धनको निर्णय कार्यान्वयन हुन नसक्नुको कारण काँग्रेस भएको र यसको जिम्मा उसैले लिनुपर्ने तर्क गरे ।
हालका मुख्यमन्त्री केदार कार्कीले यसअघि एमालेसँग माओवादीले सहकार्य गर्दा तुरुन्त सरकार छाडेर आउन गरेको आग्रह मान्दा अहिले उनैले एमालेसँग मिलेर सरकार बनाएको भन्दै आश्चर्य प्रकट गरे ।
उनले अहिले एमालेले गठबन्धनको अन्तर्विरोधमा खेलेर अराजनीतिक कार्य गरेको बताए । ‘एमालेले नैतिकता प्रदर्शन गर्ने हो भने विपक्षीमा जानुपर्छ ।’ आङ्बोले भने ‘वहाँहरू विपक्षीमा जानका लागी प्रक्रिया सुरु गरे हुन्छ ।’
कोशीमा माओवादीले गठबन्धनको मर्म र संवेदनशीलतालाई ख्यालमा राखेर केदार कार्कीलाई विश्वासको मत दिएको र सरकारमा सहभागिताको विषय मुख्यमन्त्रीको व्यवहार हेरेर तय गरिने समेत उनले बताए ।
मुख्यमन्त्री कार्कीले आज उपस्थित ९१ प्रदेश सभा सदस्य मध्ये ८६ जनाको विश्वास प्राप्त गरेका छन् । ५ प्रदेश सभा सदस्यले भने उनको विपक्षमा मत हालेका थिए ।








