फिचर

राजा बन्न दौड !

गोर्खा । सुन्दा नि अचम्म लाग्न सक्छ, नेपालको एक मात्र ठाउँ जहाँ दौडिएर राजा बन्न पाइन्छ । हो गोर्खाको पालुङ्टार नगरपालिकामा पर्ने लिगलिगकोटमा दौडिएर राजा बन्न पाइन्छ ।

इतिहास हेर्दा नेपाल एकीकरणअघिका बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो। पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भए पनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको छ।

वि.सं १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो। १६०४ सालको विजयादशमीका दिन पहिलोपटक १९ वर्षका दलसुर घले मगरले लिगलिगे दौड प्रतियोगिता जितेर राजा भएदेखि यहाँ दौडेर पहिलो हुने एक वर्षका लागि राजा बन्ने परम्परा बसेको थियो ।

मगर १६१५ सम्म लगातार दौड जितेर राजा बनेको इतिहास छ । १६१६ मा द्रव्य शाह दौडेर राजा भएपछि गोरखा राज्यमा शाह वंशको उदय भएको थियो । त्यसपछि यो परम्परा रोकिएको थियो ।

२०६७ सालदेखि सुरु भएको प्रतियोगितामा इलामका भुमिराज राई, धदिङका हरिप्रसाद रिमाल, रामेछापका समिर तामाङ, रामेछापकै कृष्ण बहादुर बस्नेत, पर्वतका अनिष थापामगर, धादिङका हरिप्रसाद रिमाल (दोश्रोपटक), र पर्वतका अनिष थापामगर (तेस्रो पटक) ले प्रतियोगिता जितेका छन् ।

प्रतियोगितामा पहिलो हुने प्रतियोगी एक दिनका लागि लिगलिगको राजा घोषित हुनेछन् । लिगलिगे दौडको दूरी १३.८ रहेको छ । गोरखा र लमजुङको सिमानामा पर्ने मर्स्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु हुने दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर समापन हुने गर्दछ।

कोभिडका कारण विगत तीन वर्ष सञ्चालन हुन नसकेको प्रतियोगिताले यस वर्षदेखि निरन्तरता पाएको छ । ११ औ संस्करणको लिगलिगे दौडमा खुल्ला र विद्यालय स्तरको दुई विधामा प्रतियोगिता भएको छ ।खुल्ला विधाको लिगलिगे दौड प्रतियोगितामा २०८०र८१ को लिगलिगे राजा खोटाङका गजेन्द्र राई भएका छन् ।

उनी चेपेघाट देखि लिगलिगकोट सम्म ५६ मिनेट ३६ सेकेन्डको समयमा पुगेका थिए । धावक राई त्रिभुवन आर्मी क्लबका खेलाडी सदस्य हुन ।त्यसतै बैतडीका नरेन्द्र रावत दोस्रो भएका छन् भने तेस्रो स्थान पर्वतका अनिश थापा मगर भएका छन् । त्यस्तै गरी विद्यालय विधातर्फ विमल परियार प्रथम, बादल कार्की दोस्रो र तेन्जेन रोका तेस्रो भएका छन् ।

अन्तर्राष्ट्रिय स्तरको लिगलिगे दौडमा अरू वर्षको तुलना यो वर्ष सहभागिता कम भएको लिगलिगे बिकाश अभियानका अध्यक्ष संजिव राना मगर ले बताउँछन् । ‘तिन वर्ष पछिको प्रतियोगितामा जुन उल्लास हुनु पर्न त्यो नदेखिएको र गाउँको युवाहरू बिदेसिनुको कारणले पनि सहभागिता का साथै स्थानीयको उपस्थिति कम भएको छ’ उनी भन्छन् ।

स्थानीय सरकारले थप बजेट निर्धारण गरेमा आगामी वर्ष निरन्तरता लाई सहयोग हुने उनी बताउछ्नि । लिगलिग विकास अभियानले यो वर्षदेखि सुरु गरेको लिगलिगे दौडमा ७० जनाको धावकहरूको प्रतिस्पर्धा भएको थियो । २१ स्थानीय र खुल्लाबाट ४९ जना सहभागी भएका थिए । देशभरिबाट विभिन्न जिल्लाबाट धावकहरूको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *