लाओसबिरुद्धको खेलमा रंगशाला भरिने कप्तान किरणको अपेक्षा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले घरेलु मैदानमा बिहीवार लाओसबिरुद्धको खेलमा दर्शकलाई रंगशालामा उपस्थित हुन अनुरोध गर्दै ‘रातो र चन्द्र सूर्य’ को गीतले ९० मिनेट नै गुञ्जयमान बनाउन अनुरोध गरेका छन् ।

नेपालले फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणको खेलमा बिहीवार दशरथ रंगशाला लाओसबिरुद्ध खेल्दैछ ।

सोही खेलका लागि बुधवार कुपण्डोलमा भएको प्रिम्याच कन्फ्रेरेन्समा नेपाली फुटबल टोलीका कप्तान किरणले रंगशाला नै भरिनेगरि खेल हेर्न आउन आग्रह गर्दै सो गीतको गुञ्जनले ९० मिनेट नै टोलीलाई प्रोत्साहित गर्न आग्रह गरे ।

घरेलु मैदानमा लाओसबिरुद्ध केही फरक हुने गोलकिपरसमेत रहेका कप्तान चेम्जोङको अपेक्षा छ ।

नेपालका ठूला ठूला झण्डा देख्न पाउने अपेक्षा गर्दै दर्शकसँगै सबै जना मिलेर राष्ट्रिय गीत गाउने समेत गोलकिपर तथा कप्तान किरणले बताए ।

उनले दर्शकको बाक्लो उपस्थितिले रंगशाला भरिने परिस्थिति सिर्जना हुने अपेक्षा गरे ।

किरणले टोलीको तयारी राम्रो भएकाले लाओसको सामना गर्न तयार रहेको पनि उल्लेख गरे । लामो समयदेखि राम्रो तयारी गरेकाले लाओसबिरुद्ध प्रदर्शन सुखद् रहने उनको विश्वास छ । यसअघि नेपालले त्रिकोणात्मक शृंखलामा लाओसलाई हराएको थियो ।

तर, यस पटक लाओसमा धेरै सुधार भएकाले विश्वकप छनोट खेल फरक हुने किरणको भनाई छ । उनले पनि त्रिकोणात्मक श्रृंखलामा जस्तो लाओस यस पटक नरहेको उल्लेख गर्दै सो टोलीमा केही परिवर्तन भएको उनको भनाइ छ ।

किरणले लाओसको टोली शारीरिक, रणनीति र प्राविधिक रूपमा राम्रो रहेपनि आफ्नो टोली चुनौति सामना गर्न तयार रहेको बताए ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले लाओसको सामना गर्न उत्साहित रहेको उल्लेख गर्दै यस पटक प्रदर्शनबाट सुधार देखाउने बताए ।

लाओसबिरुद्धको खेल कति महत्वपूर्ण छ भन्ने सबैलाई थाहा भएको उल्लेख गर्दै प्रशिक्षक एनेसले सोहीअनुसार राम्रो प्रदर्शन गर्ने अपेक्षा गरे ।

उनले पछिल्ला दुई महिनाको तयारीले टोली बलियो रहेको पनि विश्वास व्यक्त गरे ।

नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको खेलकै लागि म्यानमारसँग दुई खेल खेलेको थियो । लामो समयदेखिको तयारी र एक्सोजरका कारण नेपाली टोलीले राम्रो गर्ने प्रशिक्षक एनेसको विश्वास छ ।

प्रशिक्षक एनेसले बिहीवार खेलका लागि सबै खेलाडी शारीरिक र मानसिक रूपमा पनि फिट रहेको बताए ।

घरेलु मैदानको फाइदा लिँदै राम्रो प्रदर्शन गर्नेमा उनि विश्वस्त छन् । गत मार्चमा नेपालले थ्री नेसन्स लिगमा लाओससँग प्रतिष्पर्धा गरेको थियो ।

तर, त्यतिबेला र अहिले परिस्थिति निकै परिवर्तन भइसकेको उनको भनाइ छ । लाओसको टोली फेरिएको र उनीहरूले पनि राम्रो तयारी गरेको उनले बताए ।

त्यसैले खेल निकै रोमाञ्चक हुने उनको विश्वास छ । यद्यपि, यो खेल जित्दै दोस्रो चरणमा पुग्ने उनको लक्ष्य छ ।

लाओसका प्रशिक्षक कानलेया सिसोमभाङले युवा र अनुभवी खेलाडी समिश्रण रहेको यो टोली पछिल्लो थ्री नेसन्सको भन्दा बलियो रहेको बताए ।

नेपालले विश्वकप छनोटको प्रारम्भिक चरणअन्तर्गत पहिलो लेगमा बिहीवार लाओसको सामना गर्दै छ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eight =