गुण्डा नाइके ‘रिगल’को कैद मिनाहाविरुद्ध भारतीले सुरु गरिन् अनसन

काठमाडौं । आफ्ना श्रीमान चेतन मानन्धरको हत्या अभियुक्त रिगल भनिने योग ढकाललाई आममाफी दिने निर्णयविरुद्ध भारती मानन्धरले अनसन थालेकी छन् ।
भारतीले बुधबार काठमाडौंको माइतीघर मण्डलामा अनसन सुरु गरेकी हुन् । उनले आफूले न्याय नपाएसम्म अनसनत जारी राख्ने जनाएकी छन् ।
अनसनस्थलमा पत्रकाहरुसँग कुरा गर्दै भारतीले भनिन्, ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु । म मर्न तयार छु, तर न्याय नपाएसम्म फर्किन्नँ।’ पहिलो दिन, बुधबार उनले २ घण्टा अनसन बस्ने जनाएकी छन् ।
उनको अनसनलाई समर्थन गर्दै त्यसपछि आशिष मल्ल ठकुरी, दीपक थापा, गणेश जोशी अनसन बस्ने भएका छन् ।
भारतीले आममाफीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट समेत दायर गरेकी छन् । उनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि बुधबारलाई पेसी छ ।
भारतीका श्रीमान् चेतनको २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा खुँडा प्रहार गरी हत्या भएको थियो । चेतनको हत्या अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगल भनिने योग ढकाल सत्तारुढ दल नेपाली कांग्रेसनिकट तरुण दलका नेता हुन् । यस वर्ष संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद सजाय मिहना गरेका थिए ।








