खाद्यको सिमकोट शाखाले बेच्यो कुहिएको चामल

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५, मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ । केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो ।

नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको बताए । एक घरधुरीलाई चार बोराका दरले बिक्री गरिएको थियो । उनले त्यसमा दुई बोरा चामल कुहिएको भेटिएको बताए । उनले आफ्नो मात्र नभई अधिकांश खाद्यान्न पाएका घरपरिवारको कुहिएको चामल डल्लैडल्ला परेको भेटिएको बताए ।

२५ किलोको बोरा चामलको मूल्य दुई हजार ३७५ मा किनेको र घरमा चामलको बोरा खोल्दा कुहिएको पाइएको स्थानीय जंग लामाले बताए । “पैसा तिरिसकेका छौँ, चामल कुहिएर डल्ला परेको भेटिएको छ,” उनले भने ।

खाद्यले करिब ५० घरधुरीलाई चामल बिक्री गरेको थियो । अधिकांश बोरामा कुहिएको चामल भेटिएको स्थानीयको गुनासो छ । मुचुगाउँमा लिमिटेडले बिक्री गरेको चामल कुहिएर खान नमिल्ने भएपछि बोरा खोलेर घाममा सुकाउने गरिएको छ । घरको छतमा त्रिपालमा चामलको बोरा खोलेर सुकाउँदा पनि खान नमिल्ने खालको रहेको छ ।

हिल्सा नाकामा चामल राख्ने गोदाम नहुँदा केही बोरा चौरमा पालले छोपेर राख्ने क्रममा पानी पर्दा भिजेका कारण कुहिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । काठमाडौँ–केरुङ हुँदै तिब्बती मार्ग हुँदै हिल्सा नाकाबाट चार हजार क्विन्टल खाद्यान्न ढुवानी भएको थियो । त्यसमा एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि छुटाइएको थियो ।

यस्तै, तीन हजार क्विन्टल खाद्यान्न सिमकोट शाखामा आएको उनले बताए । उनले कुहिएको खाद्यान्न फिर्ता गरेर राम्रो चामल दिने व्यवस्था गरिने बताए । खाद्यान्न कुहिएको भए पैसा फिर्ता दिने पनि उनले बताए । सो कुहिएको खाद्यान्न भने राम्रोसँग राख्न उनले आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *