नेम्वाङलाई श्रद्धाञ्जली दिन सबै शीर्ष नेता पुगे च्यासल (तस्बिरहरू)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरको च्यासलस्थित नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा पुगेर पूर्व सभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगी पूर्व सभामुख नेम्वाङलाई श्रद्धाञ्जली दिइन् ।

यसै गरी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगर, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत नेम्वाङलाई श्रद्धाञ्जली दिन च्यासल पुगे ।

सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले पूर्व सभामुख नेम्वाङले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा खेल्नुभएको भूमिकाको उच्च सम्मान गर्दै सरकारले राजकीय सम्मान प्रदान गरी अन्त्येष्टि गर्ने र त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताइन् ।

यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेलगायत नेताहरुले पूर्व सभामुख नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरे । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको ठुलो उपस्थिति छ ।

गए राति हृदयाघातका कारण नेम्वाङको उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लैजाने क्रममा बाटोमा निधन भएको थियो ।

तस्बिरहरू:

तस्बिर : रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 13 =