झरना थापाले मध्यरातमा लेखिन्- मर्नु न बाँच्नुको पीडा भइरहेको छ !

काठमाडौँ । अभिनेत्री तथा निर्देशक झरना थापाले निराशाजनक स्टाटस लेखेकी छन् । आफूहरूले निर्माण गरेको ‘एक भगवत् गीता’लाई सेन्सर अनुमति नदिइएपछि निर्देशक थापाले निराशाजनक स्टाटस लेखेकी हुन् ।

चिन्ताले गएराति निदाउन नसकेको उनले मध्यरात फेसबुकमार्फत उल्लेख गरेकी छन् । ‘मान्छेलाई अत्यन्तै पीडाबोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ, जुन आज म महसुस गरिरहेको छु’, मध्यरातमा फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘आफ्ना सारा स्रोत सम्पत्ति, सपना र अहिलेसम्मको चलचित्र कर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भइरहेको छ ।’

  • झरना स्टाटस

मध्यरातमा मैले आज यो लेखिरहँदाखेरि धेरै जना निदाइसक्नुभएको होला, कति जना अझै निदाउनु भएको छैन होला। मान्छेलाई अत्यन्तै पीडाबोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ, जुन आज म महसुस गरिरहेको छु। प्रार्थना गर्छु– जोजति जना निदाउनु भएको छैन, हजुरहरू ननिदाउने कारण मेरोजस्तो नहोस्।

मैले मेरो जीवनको तीन दशक अनवरत रूपमा चलचित्र क्षेत्रमा दिएँ। प्रिय दर्शक हजुरहरूको मायाले म पर्दामा छाइरहेँ। मैले पनि दिनरात, झरीबादल, घरपरिवार नभनी हजुरहरूलाई मनोरञ्जन दिन अथक काम गरिरहेँ। सम्पूर्ण नेपाली दर्शकहरूको माया र साथको कारणले म अभिनय हुँदै निर्देशनमा आइपुगेको छु। म जहाँ छु, जे छु, जस्तो छु, म नेपाली जन र नेपाली मनको आशीर्वादले छु। यही प्रेरणाले म मेरो अन्तिम साससम्म चलचित्रमै काम गर्छु भनेर हिँडिरहेकी छु। मेरो जिन्दगी भनेकै चलचित्र कर्म र दर्शकहरूको खुसी हो, त्यसबाहेक केही छैन।

मैले निरन्तर चलचित्र गरिरहेको छु र निर्देशकको रूपमा हजुरहरूको माया र स्नेह निरन्तर पाइरहेको छु। यही क्रममा समाजको केही यथार्थलाई टिपेर एउटा चलचित्र हामीले बनायौँ। चलचित्रको कथावस्तु तथा मेरो भगवान् श्रीकृष्णप्रतिको असीम आस्थालाई केन्द्रमा राखेर चलचित्रको नाम ‘एक भगवत् गीता’ राख्यौँ। मैले मेरो जीवनभर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने कर्म अहिलेसम्म कहिल्यै गरेको छैन। हामीले एक भागवत् गीता निर्माण पूरा गरेर अब हजुरहरूको हातमा सुम्पन तयार भइसकेपछि चलचित्रको नाममाथि प्रश्न उठाइयो। हामीले उठेका प्रश्नहरूको विनम्रतापूर्वक उत्तर दियौँ। हामीले हाम्रो चलचित्रमा हिन्दु पवित्रग्रन्थ श्रीमद् भगवद्‌गीताको कुनै पनि अवहेलना गरेका छैनौँ भनेर कथाको सार नै प्रस्तुत गर्‍यौँ। चलचित्रको स्क्रिप्ट नै अध्ययन गर्न दियौँ। अझ चित्त नबुझे रिलिजपूर्व चलचित्र हेर्न पनि अनुरोध गर्‍यौँ।

प्रिय दर्शकवृन्द! मेरो आफ्नो जीवन नै भगवान् श्रीकृष्णको आस्थामा चलेको छ र श्रीमद् भगवद् गीता आफैँमा मेरो चलचित्र कर्मको प्रेरणा हो। म धार्मिक आस्था र सहिष्णुतामा सचेत छु र कथा चयन गर्दा सबै कुराको अध्ययन गरेको छु। बारम्बार हामीले हाम्रो चलचित्रको कथावस्तु सुनाएर, श्रीमद् भगवद्‌गीताको अवहेलना नभएको सप्रमाण बताइरहँदा पनि चलचित्रलाई सेन्सर अनुमति नै दिइएको छैन र निर्क्योल आइतबार (आज) गरिने भनेर भनिएको छ। आफ्ना सारा स्रोत सम्पत्ति, सपना र अहिलेसम्मको चलचित्र कर्मको लगानी गरेर बनाइएको चलचित्र यसरी चल्नै नदिने अवस्था आउँदा मर्नु न बाँच्नुको पीडा भइरहेको छ। थाहा छैन, हाम्रो चलचित्र हजुरहरूको आँखासम्म आउन पाउँछ कि पाउँदैन थाहा छैन।

प्रिय दर्शकहरूको मायाको तेलले बलिरहेको यो झरना थापा नामको दियो अब बल्न पाउँछ कि पाउँदैन? सत्य बोलिरहँदा पनि सही छु भनेर दसी प्रमाण दिइरहँदा पनि कसैले न सुनिदिएपछि अन्तिममा फैसला त भगवान्‌ले गर्नु होला नि हैन?
मैले मेरो फैसला मेरो भगवान्‌को हातमा छोडिदिएको छु ।
प्रिय दर्शकहरू!
भगवान् श्री कृष्ण!!
हरे कृष्ण!!!

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *