ट्रेड युनियन अधिकार कटौती छैन : प्रधानमन्त्री

संघीय निजामती सेवा सम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती गरेको छैन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा सम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगरिएको बताएका छन् । शुक्रबार सिंहदरबारमा आयोजित २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ट्रेड युनियन अधिकारको कुरा कटौती भयो भन्ने प्रश्न उठेको भन्दै विधेयकमा भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरेकाले ढुक्क हुन आग्रह गरे । ‘अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरूप नै निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक छ,’ उनले भने, ‘यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्णरुपमा प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा दक्ष, सुदृढ, उच्च मनोबलयुक्त सेवामूलक, उत्तरदायी व्यावसायिक निजामती प्रशासनको विकासका लागि नीतिगत कानूनी, संस्थागत संरचनागत र व्यवहारिक प्रबन्ध गर्नुपर्नेछ ।’

प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवा सम्बन्धी विधेयक बिहीबारको मन्त्रीपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको बताए । ‘लामो समयदेखि प्रतीक्षारत संघीय निजामती सेवा सम्बन्धी विधेयक हिजोमात्रै नेपाल सरकार मन्त्रीपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको छ । राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने विश्वास लिएको छु । ट्रेड युनियन अधिकारको कुरा उठ्यो, हामीले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन गरेका छैनौँ, यसमा ढुक्क हुनुस्,’ उनले भने ।

उनले संघ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक अन्तरसम्बन्ध कायम गर्न, पनि तहबीच प्रशासनको कार्यात्मक अन्तरसम्बन्धलाई मजबुत बनाइ प्रशासनिक संघीयतालाई संस्थागत गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र कार्यान्वयनमा संघीय निजामती सेवा ऐन कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *