अस्पतालमा राजनीतिक भागबन्डामा नियुक्ति गर्नु हुँदैन : सांसद कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले अस्पतालजस्तो संवेदनशील ठाउँमा राजनीतिक भागबन्डाको आधारमा नियुक्ति गर्नु नहुने बताएकी छन् ।

बिहीबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डा. कार्कीले अस्पतालमा राजनीतिक भागबन्डाका आधारमा निर्देशक नियुक्ति हुने गरेको भन्दै त्यसो गर्नु नहुने बताएकक्ी हुन् ।

मन्त्री नयाँ आएपिच्छे निर्देशक फेरिँदा अस्पतालको अवस्थाको बारेमा निर्देशकलाई नै थाहा नहुने गरेको उनको भनाई छ । उनले बिरामीको उपचारमा अस्पतालका भौतिक पूर्वाधार, उपकरण, स्वास्थ्यकर्मी, व्यवस्थापन, सरकारको नीति र अस्पतालका प्रोटोकलको कुरा जोडिने भएपनि चिकित्सकहरूलाई मात्रै दोषारोपण गर्ने गरिएको बताइन् ।

उनले भनिन् ‘केन्द्रमा भएको अस्पतालमा आएको बालिकाले बाहिर कुरिराखेर उसको ज्यान जाने जुन कुरा भयो । त्यो जस्तो लज्जास्पद कुरा हाम्रो लागि केही छैन । त्यो जति दुखदायी कुरा केही हुँदैन । आयोग गठन गरेर केही हुनेवाला छैन । अस्पतालमा राम्रो सेवा दिनका लागि बृहत्तर रूपमा हेर्नुपर्ने हुन्छ । यहाँ त जहिल्यै पनि स्वास्थ्यकर्मीहरूलाई दोष दिएको देखेको छु । जहिले पनि आयोग बनायो स्वास्थ्यकर्मीहरूतर्फ अनुसन्धानको सुई फर्कायो अनि अरू बाँकी सबै चोखो । त्यस्तो हुनु हुँदैन । बिरामीलाई राम्रो बनाएर पठाउन अस्पतालका भौतिक पूर्वाधारदेखि त्यहाँका उपकरण, स्वास्थ्यकर्मी र व्यवस्थापनका कुरा । सरकारको नीति र अस्पतालका प्रोटोकलका कुरा सबै जोडिएर आउँछ । अस्पतालमा सरकारको प्रतिनिधित्व भनेको अस्पतालको निर्देशक हुन्छ । प्रशासकीय प्रमुख हुन्छ । हामीकहाँ व्यवस्था कुनै पनि निर्देशकको नियुक्ति, पनि ९ महिनामा ६ वटा निर्देशक बदलिएको हुन्छ । मन्त्री कुन पार्टीको भयो त्यो पार्टीको निर्देशक बनाउने । त्यो निर्देशकलाई केही थाहा हुँदैन । भागबन्डाको राजनीति अस्पताल जस्तो संवेदनशील ठाउँलाई बनाउनु भएन नि ।’

उनले काठमाडौँजस्तो केन्द्रमा रहेको कान्ति बाल अस्पतालमा बालिकाले उपचार नपाएर मर्नुपर्ने अवस्था आउनु लज्जास्पद र दुःखदायी कुरा भएको बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *