राजावादीहरुले समाज भड्काउने काम गर्दैछन् : सुदन किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले नेपाली समाजले साम्प्रदायिकता स्वीकार गर्ने बताएका छन् ।

बुधवार काठमाडौँमा खेमराज गुरुङ ट्रष्टले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय केही तत्त्वहरूले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको भन्दै इतिहासदेखि अहिलेसम्म नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगरेको दाबी गरे ।

मन्त्री किराँतीले नेपाल सबै जाती, धर्म र संस्कृतिको साझा फूलबारी रहेको भन्दै केही तत्त्वहरूले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न नसक्ने बताए । उनले विगतमा राजाको पालामा साम्प्रदायिकता भड्काउने काम भएपनि त्यस्तो हुन नसकेको उल्लेख गरे । उनले नेपालको २०७२ को संविधानले सबै परम्परा र सांस्कृतिक मूल्य मान्यताको संरक्षण ,विकास, संवर्द्धन गर्ने तर आफ्नो संस्कृतिको संरक्षण गर्दा अर्काको संस्कृति माथि आँच पुग्नु हुँदैन भन्ने स्पष्ट पारेको दाबी गरे ।

उनले नेपाली सबैले सहिष्णुता कायम गरी साम्प्रदायिकता खारेज गरी सुन्दर फूलबारीको रक्षा गर्न आवश्यक रहेको बताए । मन्त्री किराँतीले नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा धनी, ठूलो र सुन्दर रहेको बताए । संसारको अग्लो शिर सगरमाथा,गौतम बुद्ध, पशुपति, हिमाल पहाड तराई, फरक पहिरन, भाषा, संस्कृति नै नेपालीहरूको मौलिकता रहेको मन्त्री किराँतीको भनाई छ ।

मन्त्री किराँतीले नेपालको संस्कृति र प्रकृति हिरा र सुन भएको भन्दै त्यसलाई नेपालले विश्व बजारमा बेच्न र ब्राण्डिङ गर्न सक्नुपर्ने बताए । उनले संसारका मानिसहरूलाई नेपालको संस्कृति, परम्परा, प्रकृतिप्रति आकर्षित गर्नसके मात्रै नेपाल पर्यटनको क्षेत्रबाट प्रकृति र संस्कृतिलाई देखाएर धेरै डलर आर्जन गर्नसक्ने अवस्था रहेको उल्लेख गरे । नेपालको जङ्गल, जडीबुटी र पानीलाई मात्रै सदुपयोग गर्नसके आर्थिक रूपमा धेरै माथि पुग्ने बताए ।

उनले भने ‘नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा धनी र ठूलो सुन्दर पनि छ । संसारको अग्लो शिर सगरमाथा, गौतम बुद्ध, पशुपति, हिमाल पहाड तराई, फरक पहिरण, भाषा, संस्कृति नै नेपाली मौलिकता हो । यही हो नेपालीको परिचय, पहिचान र सम्पती हो । नेपालको संस्कृति र प्रकृति वास्तवमा हिरा हो । सुन हो हामीले यसलाई बेच्न र ब्राण्डिङ गर्न सक्नुपर्छ । संसारका मानिसहरूलाई नेपालको संस्कृति, परम्परा, प्रकृतिप्रति आकर्षित गर्नसक्यौं भने स्वाभाविक रूपमा नेपाल पर्यटनको क्षेत्रबाट प्रकृति र संस्कृतिलाई देखाएर धेरै डलर आर्जन गर्नसक्छौं । हामीसँग भएको जङ्गल, जडीबुटी र पानीलाई मात्रै सदुपयोग गर्नसक्यौं भने आर्थिक रूपमा धेरै माथि पुग्छौँ । कृषिमा धेरै गर्नुपर्दैन । आत्मनिर्भर मात्रै भयौँ भने पुग्छ । बेच्नुपर्दैन । संसारसँग प्रतिस्पर्धा गर्ने सामान बनाउन योग्य छैनौँ । बनाए पनि प्रतिस्पर्धा गर्न सक्दैनौँ । नक्कली भन्छन् । तर नेपालको पानीलाई विद्युतमा परिणत गरौँ भने विश्वमा कसैले भन्ने छैनन् । नेपालको विद्युत, प्रकृति र संस्कृति नक्कली हो । हाम्रो साझा फूलबारी माथि फेरि कतिपय त्यस्ता तत्त्वहरूले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न खोजिरहेका छन् । तर नेपाली समाजले इतिहासदेखि अहिलेसम्म नेपाली समाजले प्रमाणित गरिसकेको छ । नेपाली समाजले साम्प्रदायिकता स्वीकार गर्दैन । साम्प्रदायिकता भड्काउने काम राजाको पालादेखि सुरु भएको हो । सेता मगुराली र अन्यको बीचमा काटाकाट गर्ने स्थिति बनाउने नाराहरू नेपालमा स्थापित बनाएका थियो । नेपालको २०७२ को संविधानले सबै परम्परा र सांस्कृतिक मूल्य मान्यताको संरक्षण, विकास, संवर्द्धन गर्ने तर आफ्नो संस्कृतिको संरक्षण गर्दा अर्काको संस्कृति माथि आँच पुग्नु हुँदैन भन्ने स्पष्ट छ । लोकतन्त्रमा हामी सबैले सहिष्णुता कायम गरौँ । यो पवित्र थलोबाट सहिष्णुता कायम गरी साम्प्रदायिकता खारेज गरी सुन्दर फूलबारीको रक्षा गर्नुपर्छ ।’

मन्त्री किराँतीले मुलुकमा गीतसङ्गीतको क्षेत्रबाट योगदान पुर्याउने सष्ट्राहरुलाई राज्यले सम्मान गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *