म एमाले र एसमा जान सक्छु तर माओवादीमा जान्न : वामदेव गौतम

काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीमा जानसक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताएका हुन् । उनले जनयुद्ध कालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै उनले प्रधानमन्त्री दाहालले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारे ।

राजनीतिक व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभई गल्ती भएको उनको जिकिर छ । नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे । उनले उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नैपर्ने बताए ।

उनले भने ‘हामी नेपालको सबै कम्युनिस्टहरू एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन । म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जानसक्छु । म माओवादी केन्द्रमा जान सक्दिन । किनभने जनयुद्ध कालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए । राजनीतिक व्यक्तिहरूको हत्या गरियो, त्यसलाई मार्क्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले घरघरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन । संयुक्त रूपमा एउटै पार्टी बनाउने हो भने हामी जानसक्छौँ । नेकपा एमालेले ७० वर्ष उमेर हद हटायो भनियो तर त्यो हटाएको छैन । उमेर हद भनेको यो संविधानको धारा २४ को विरुद्धमा छ । त्यो व्यवस्था उँच, निच, छुवाछुत, जातिपाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ । उमेर हद नेपालको संविधान विरोधी छ, त्यो हट्नै पर्छ ।’

समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरूमा पुँजीवाद भन्दा अरू केही नरहेको जिकिर गरे । पार्टीको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री स्वयंले नै एमसीसीको व्याख्यात्मक टिप्पणीमाथि प्रश्न उठाउनुले धेरैकुरा शँकाको घेरामा आएको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *