मकालु रिभ्यु

दुर्व्यवहार भएको सात जनाले देखेका थिए र पनि टेलर स्विफ्टलाई पत्याउने थिएनन्

मैले टेलर स्विफ्टलाई यसरी चिनेको रहेनछु ।

उनका गीतहरूमा धेरै सम्बन्धका कुरा हुन्थे । भावना अनि प्रेमका कुरा हुन्थे । कथाबाचनको शैली हुन्थ्यो । ती अरूले गाउने तरिकाभन्दा फरक हुन्थे । मलाई ती मन पर्थे ।

तर ती कथालाई गीत बनाएर गाउने कलाकारभित्र उनले बिताइरहेको जीवन कस्तो थियो ? उनले भोगेका घटनाहरू कस्ता थिए ? सानो उमेरमा उनले पाएको लगातारको सफलताले बिचमा कहाँ कहाँ काँडामा टेक्नुपर्‍यो ? बाहिरबाट सुपरस्टार बनिसकेको उनको इमेजले भित्रबाट कस्तो कस्तो सङ्घर्ष गर्नुपरेको थियो ?

आखिर जति नै ठुलो मान्छेलाई पनि दुखाउन पर्दा सानै कुराले दुखाउन सक्छ ।

उनलाई के के ले दुखाइरहेका थिए भन्ने बारेमा मलाई केही थाहा नै थिएन । यसपल्ट ‘मिस अमेरिकाना’ डकुमेन्ट्री हेरेपछि त्यो थाहा भएको छ । यो डकुमेन्ट्रीले उनलाई एक सुपरस्टार हैन एक मानव अनि एक आर्टिस्टको रूपमा देखाएको छ । अनि सँगै समाजले उनलाई भनेका कुरा र गरेका व्यवहारले उनलाई एक व्यक्तिको रूपमा कसरी बलियो बनाउँदै लग्यो भन्ने पनि देखाएको छ ।

उनी अमेरिकाभित्रको अर्को अमेरिकामा जन्मिएकी मान्छे । उनलाई अमेरिकाकै आकर्षण बन्न पनि सङ्घर्ष थियो ।

उनी भएको ठाउँबाट विश्वभर पुग्न अर्को लडाई थियो । आफूले लेखेर गाएका गीतको भरमा ।  उनले त्यो लडाइ लडेकी रहिछन् ।

उनको यात्रा प्रेरणादायी छ ।

उनी सुन्दर थिइन् । खिरिलो ज्यान थियो । तर त्यसले पनि धेरै खाले सुन्दरताको मापनमा फसेकी रहिछन् । धेरैपल्ट आफूलाई लक्षित गरेर ‘यस्तो र त्यस्तो’ भनिएको सुनेकी रहिछन् ।

उनको यात्रा पीडादायी पनि छ ।

तर त्यसले उनलाई आफूलाई स्विकार्न सक्नेगरि बलियो बनाएको पनि छ । समाजले भन्ने कुरा भन्दै गर्दा आफ्नो बाटो छोड्नुहुँदैन भनेर सिकाएको पनि छ । त्यसैले त डकुमेन्ट्रीमा उनी भन्छिन् ‘सँधैभरी एउटा न एउटा सुन्दरताको मापनले तपाईँलाई न्याकिरहन्छ । यदि दुब्लो भयो भने मान्छेलाई मन पर्ने पुठ्ठा हुँदैन । मोटायो भने उनीहरूलाई मन पर्ने खिरिलो पेट हुँदैन ।’

उनले करियरमा अग्लो उचाइ भेटिरहँदा धेरैले त्यसमा खुट्टा तान्न खोजेका थिए ।

एकपल्ट उनले वेस्ट भिडियो अफ दि इयरको अवार्ड जित्दा एक जना र्यापर स्टेजमा आएर ‘उनको भन्दा बियोन्सेको भिडियो राम्रो थियो’ भनिदिन्छन् । दर्शकहरू ती र्यापरलाई उडाउँदै ‘बु’ गरे ।

तर उनी आफूलाई मान्छेले उडाएको सोच्छिन् । त्यो घटनाले कुनै दोष नै नभएकी उनलाई थिच्छ ।

एउटा पुरुषको लहडले एक उदाउँदी कलाकारलाई थिच्छ ।

पुरुषको भद्दा व्यवहारले महिलाको स्पटलाईटलाई असर गरेको यो नै पहिलोपल्ट पनि त छैन । भर्खरै स्पेनको महिला टिमले विश्वकप जित्यो । तर त्यसको खुशीयालीमा भन्दा चर्चा स्पेनका फुटबल प्रमुखले खेलाडीलाई गरेको चुम्बनले लिइरहेको छ । यहाँ फेरी पनि एक पुरुष आफ्नो हर्कतको कारण महिलाहरूको खुशीमा बाधक भइरहेका छन् ।

टेलरको कथामा अमेरिकाजस्तो देशमा पनि एक महिला आर्टिस्टले भोग्नुपर्ने अनेकौँ तहका अवरोधहरू देख्न पाइन्छ । र्यापरले उनको भिडियोमाथि गरेको त्यो कन्ट्रोभर्सिपश्चात उनलाई घृणा गर्नेहरू बढ्छन् । कतिसम्म भने #TaylorSwiftisOver भन्ने ह्यासट्याग ट्रेन्डिङमा नै पर्छ ।

तर यसले उनलाई अझै बलियो बनाउँदै लान्छ । अझै स्पष्ट पार्दै लान्छ । त्यसपछि उनले लेख्ने गीतले समाजको डबल स्ट्याण्डर्डलाई भत्काउँदै जान्छ ।

डकुमेन्ट्रीमा उनले भनेका केही चिज छन् जुन असाध्यै बलिया छन् । तीनले समाजले छोरीलाई कसरी हुर्काउँछ वा कस्तो देख्न चाहन्छ भन्ने बारेमा धेरै कुरा भन्छ । जुन कुरा नेपाली समाजको लागि पनि नौलो हैन ।

उनी न्यारेसनमा भन्छिन् ‘असल केटीले कुनै आफ्नो बिचार मानिसहरूलाई सुनाउँदिन । उ केवल हाँस्छे वा हात हल्लाउँछे ।’

यो कुरा अहिलेको समाजको लागि गरिएको व्यङ्ग हो । यो समाज केटीले कुनै बिचार बोकेको सुन्न नै मनपराउँदैन । उसलाई समाज केवल इशारामा हाँस्न वा हात हल्लाउन मात्र सिकाउन खोज्छ । अनि जति नै पीडा परेपनि समाजको इज्जतको खातिर चुप बस्नु भन्छ ।

उनको त्यो बुझाई अझै विकसित तब हुन्छ जब उनी आफूमाथि भएको यौन दुर्व्यवहारको बारेमा खुलेर भन्छिन् । एक जना व्यक्तिले एक सार्वजनिक कार्यक्रममा नै उनको पुट्ठामा चलाइदिएका हुन्छन् । उनलाई त्यसो गरेको मनपरेको हुँदैन ।

उनी त्यसको बारेमा मुद्दा परेपछि कोर्ट रुममा गएको कुरा सुनाउँछिन् । तर त्यहाँ मान्छेहरू उनलाई यस्तरी हेर्छन् कि मानौँ उनले केही गरेकी हुन् ।

उनी पीडित थिइन् । तर मानिसहरूले अनि अदालतले नै पनि उनलाई यस्तरी हेर्छ कि मानौँ उनी नै पुरै दोषी हुन् ।

अनि अझै सोध्छन् ‘अनि तिमी किन नकराएकी ?’

‘किन चाँडो रियाक्ट नगरेकी ?’

‘उ भन्दा अरू पर किन नगएकी ?’

त्यो घटना भएको सातजनाले प्रत्यक्ष देखेका थिए । त्यसो हुँदै गरेको फोटो थियो । सँगै उनी आफैँ त्यसको बारेमा बताइरहेकी थिइन् । र पनि मानिसहरू उनलाई पत्याइरहेका थिएनन् । उनी के बाट गुज्रिइन् भन्ने नबुझी उनलाई नै दोषी देख्न खोजिरहेका थिए ।

यस्तो नेपालमा पनि पटक पटक भइरहेको छ । कसैले आफूमाथि दुर्व्यवहार भएको सुनायो भने पहिलो दोष त्यसो भन्नेमा नै खोजिन्छ ।

त्यो घटनाले उनलाई पुरै फेरिदिन्छ । राजनैतिक विषयमा बोल्यो भने कलाकारको करियर सकिन्छ भन्ने कुरा आँखै अगाडि भएको देख्दा पनि उनी चुप भने लाग्दिनन् । उनी अझै बोल्न थाल्छिन् । त्यति मात्र हैन त्यसपछि आउने चुनावमा ट्रम्पको पक्षबाट आफ्नो ठाउँमा उठेकी उमेद्वारको विपक्षमा माहौल नै बनाउँछिन् ।

उनलाई त्यो ट्रायलले नयाँ टेलर स्विफ्ट बनाउँछ ।

बोल्न नडराउने टेलर स्विफ्ट ।

‘किन त्यस्तो बन्नुपर्‍यो ?’

उनी भन्छिन्:

‘म त्यहाँ हुनुपर्‍यो भनेर नै म रिसाएको थिएँ ।’

‘म रिसाएको थिएँ किनकि त्यो एक महिलामाथि भइरहेको थियो ।’

‘म रिसाएको थिएँ किनकि म पीडितलाई नराम्रो देखाउन मानिसहरूलाई पैसा खुवाइएको थियो ।’

‘म रिसाएको थिएँ किनकि सबै विवरणहरू बङ्ग्याइएको थियो ।’

‘त्यस्तो बेला मैले जित्दा नै पनि जितेको महसुस हुन नसक्ने थियो किनकि त्यो पुरै प्रक्रिया नै एकदमै अमानवीय थियो ।’

उनले भनेको त्यो कुरा दुखका साथ भन्नुपर्दा हाम्रो देशमा पनि मिल्छ । यहाँ पनि यौन दुर्व्यवहारको बारेमा जो बोल्छन् उनीहरूलाई नै भिलेन बनाउने गरिन्छ । उनीहरूले नै अनेक लाञ्छना सहनुपर्छ ।

हामीले भर्खरै भएका गौशाला २६ तथा समीक्षा अधिकारीको केशमा पनि यो देखिसकेका छौँ । उनीहरूले आफूमाथि भएको अन्याय भन्दा त्यसको मूल्य अहिले पनि चुकाइरहनुपरेको छ । खासमा त्यसरी बोलेकोमा उनीहरूमाथि सम्मान हुनुपर्ने हो । पल शाह र सन्दीप लामिछानेमाथि प्रश्न उठ्नुपर्ने हो । तर अवस्था फरक छ ।

जो पीडक हुन् उनीहरूलाई सजिलो छ । जो पीडित हुन् उनीहरूलाई झन् पीडा छ ।

टेलर डकुमेन्ट्रीमा भन्छिन् सात जना देख्ने र फोटो हुँदा त त्यस्तो थियो तर यदि कुनै प्रमाण नभएको तर गलत भएको विषय बोकिरहेका महिलाहरूलाई कसले पत्याउने ?

उनले बोलेको यो कुरा हाम्रो समाजमा पनि सोधिनुपर्ने खालको छ ।

अनि डकुमेन्ट्रीको अन्तिमतिर उनी जब ट्रम्पको विपक्षमा बोल्न थाल्छिन् उनको आवाज बुलन्द हुन थाल्छ । उनलाई जे डर देखाइएको थियो त्यो हुँदैन । किनकि उनले आफ्नो आवाज कमाइसकेकी छन् ।

उनी भन्छिन् ‘म इतिहासको राइट साइडमा हुन चाहन्छु ।’

अनि भन्छिन् ‘म पिंक लगाउँछु पनि अनि पोलिटिक्सको बारेमा बोल्छु पनि ।’

‘मान्छेहरू मलाई भोटिङ गर्नु तिम्रो अधिकार हो मान्छेलाई कहाँ भोट गर्ने भन्ने हैन भन्छन् ।’

‘तर म यस्तो अवस्थामा पुगिसकेको छु जहाँबाट अब मान्छेले यस्तो गर्नु र त्यस्तो गर्नु भनेको म सुन्न सक्दिनँ ।’

टेलस स्विफ्ट जुन उचाइमा छन् उनी आजको दिनमा एक इन्डस्ट्री बनिसकेकी छन् । उनी जत्तिको मान्छेले राजनैतिक रूपमा यति सचेत भइदिँदा सामाजिक न्यायको लडाइलाई ठुलो बल पुग्छ ।

उनी जस्तै मान्छेहरू संसारमा अरू पनि चाहिएको छ ।

नेपाललाई त झन् चाहिएको छ ।

ट्रेलर हेर्ने लिंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *