‘निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा छिटो पारित गरौँ’

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा छिटो पारित गर्न दबाब सृजना गर्नुपर्ने बताएका छन् ।

आम नागरिकको आवाज निर्वाचनमार्फत मुखरित हुने गरी आयोगले सो विधेयकको मस्यौदा तयार पारी सरकार समक्ष पेस गरेकाले त्यसलाई सदनबाट पारित गराउन आयोगले सम्बन्धित पक्षको दबाबको अपेक्षा गरिएको बताएका हुन् । सोमबार निर्वाचन आयोगले काठमाडौँमा गरेको छलफलमा उनले सो विधेयकको मस्यौदामाथि आम बहसको विषय बनाउनका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सञ्चारकर्मीसहित सम्बन्धित पक्षलाई आग्रह गरे ।

आयोगको ध्येय सो कानून निर्माण गरी २०८४ सालको निर्वाचनलाई कसरी राम्रो निर्वाचन गर्न सकिन्छ ? भन्नेतर्फ केन्द्रित रहेकाले त्यसमा आयोगलाई सञ्चारकर्मीले पनि सहयोग गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई थियो । उनले निर्वाचन व्यवस्थापनसम्बन्धि सो कानूनको मस्यौदा सरकारले छिट्टै संसदमा पेस गर्ने विश्वास व्यक्त गर्दै सो मस्यौदा जस्ताको तस्तै पारित भए नेपालको निर्वाचन सुधारको क्षेत्रमा अग्रगामी कदम हुने जिकिर समेत गरे ।

मस्यौदामा भोट हाल्दिन भन्ने नागरिकको अधिकारलाई पनि सुनिश्चि हुनेगरी मतपत्रमै भोट हाल्दिन भन्ने संकेतसहितको चुनाव चिन्ह पनि समावेश गर्ने प्रश्ताव गरिएको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । उनले ५० प्रतिशतभन्दा बढी मतदाताले कुनै उम्मेदवारलाई मत हाल्दिन भन्ने चिन्हमा मत हाले उसको उम्मेदवारी स्वतहः रद्द हुने व्यवस्था पनि सो मस्यौदामा उल्लेख गरिएको र त्यो प्रावधान निर्वाचन सुधारका लागि कोशेढुंगो सावित हुने दाबी गरे ।

सो विधेयकको मस्यौदामा विदेशमा रहेका नेपालीहरुले पनि सम्बन्धित देशको कुटनीतिक नियोग वा राजदूतावासमार्फत मतदान गर्न पाउने, उपनिर्वाचन जिल्ला निर्वाचन कार्यालयको नेतृत्वमा सम्पन्न गर्नेलगायतका प्रावधान पनि राखिएको निर्वाचन आयोगले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *