समुन्द्रमा परमाणु दूषित पानी फालेको भन्दै जापानविरुद्ध फिजीका नागरिकद्वारा विरोध जुलुस

एजेन्सी । जापानले फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल प्रशान्त महासागरमा फालेकोबारे फिजीका नागरिकहरूले विरोध जनाएका छन् । शुक्रबार उनीहरूले देशको सुभास्थित सडकमा नारा लगाउँदै विरोध जुलुस निकालेका हुन् ।
फिजी गैर सरकारी संगठन कोलिशन अन ह्युमन राइट्सको नेतृत्वमा प्रदर्शनकारीहरूले समुन्द्र र भावी पुस्ताको रक्षा गर्न टोकियोको कदम रोक्न अन्तर्राष्ट्रियस्तरले कारबाही गर्नुपर्ने बताए । उनीहरूले यो मानिसहरूको लागि अपमान भएको बताए । प्रशान्त महासगरसँग जोडिने देशहरू साना भएपनि सबै देशका मानिस समान हुने र जापानको यो कदम डरलाग्दो रहेको बताए ।
भविष्यका पुस्ताका लागि गठबन्धनका सह संस्थापक लभेतानालागी सेरुले प्रशान्त क्षेत्रमा आणविक परीक्षणको इतिहास रहेको र मार्शल टापुका मानिसहरू अझैपनि आणविक प्रदूषणसँग जुधिरहेको बताए । मार्शल टापुले सन् १९४६ देखि १९५८ सम्म संयुक्त राज्य अमेरिकाद्वारा सञ्चालित ६७ आणविक बम परीक्षणको प्रभाव झेलिरहेको छ ।
कार्यक्रमकी सहआयोजक नोएलेन नाबुलिभोले प्यासिफिक नजेताहरु र विश्वका सबै देशहरूले आफूहरूको आवाज सुनेर जापानको कदम रोक्ने विश्वास व्यक्त गरेका छन् । जापानले गत बिहीबार १ बजेबाट फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित जल प्रशान्त महासागरमा फाल्न सुरु गरेको थियो ।








