वर्तमान सत्तारुढ गठबन्धन स्वार्थका लागि होइनः वर्षमान पुन

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सैद्धान्तिक कुरा मिलेका कारण नै वर्तमान सत्तारुढ गठबन्धन बनेको बताएका छन् ।

सोमबार नेपाली कांग्रेसका नेता दिवंगत नेता प्रदीप गिरीको प्रथम स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौँमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले सैद्धान्तिक कुरा मिलेरै गठबन्धन बनेको बताए ।

वर्तमान सत्तारुढ गठबन्धन स्वार्थका लागि नभएको उनले बताए । उनले शान्ति सम्झौतादेखि संविधान निर्माण गदासम्म आइपुग्दा आफूहरुका बिचमा साझा बिन्दुहरु बनाएको बताए । उनले संविाधानलाई बचाउन र सुदृढ गर्नका लागि पनि आफूहरु एकै ठाउँमा रहेको बताए । उनले सामाजिक न्याय सहितको समृद्धि र आर्थिक विकासको लागि आफूहरु गठबन्धनमा सामेल भएको बताए ।

उनले भने, ‘आज माओवादी, कांग्रेस हामी समकालिन केही पार्टीहरुको गठबन्धन छ । चुनावमा पनि भयौँ । सरकारमा पनि छौँ । के ले होला ? यस्तै कमन कुराहरु मिलेरै होला । सैद्धान्तिक रुपले केही कुरा मिलेर नै हामी एक ठाउँमा छौँ । मात्र यो सत्ता स्वार्थको लागि होइन । हामी फरक रुपले लड्यौँ । तर शान्ति वार्ता, शान्ति सम्झौता, संविधानसभा, संविधान निर्माण गर्दा केही साझा बिन्दुहरु बनाएका छौँ । त्यसमा हाम्रो सहकार्य हो । अहिले संविधानलाई बचाउने, यसलाई सुदृढ गर्ने, हाम्रो स्थापित लोकतन्त्रलाई अझ परिमार्जन गर्ने यसको जगमा आर्थिक विकास, समृद्धि जो न्यायोचित वितरण पनि होस् । समन्यायिक होस् । सामाजिक न्यायसहितको भन्नेकुरोमा कहिँ न कहीँ मिलेर नै हामी एक ठाउँमा छौँ । हामी मिलेरै केही समय यसलाई सुदृढ गर्ने, परिमार्जन गर्ने गर्नुपर्छ भन्ने नै म यहाँ राख्न चाहान्छु । आज झन्डै १७ प्रतिशत जनता अति गरिबीको रेखा मुनि रहेको अवस्था छ । झन्डै ७ प्रतिशत जनता आजपनि बिजुली पाएका छैनन् । लोडसेडिङ मुक्त छ, तर गाउँमा बिजुली छैन । हर्ष न बिस्मातको अवस्था छ । सडक, खानेपानी, शिक्षा पुगेको छैन । यसमा हामी साझा ढंगले जान सक्दैनौँ ? जान सक्छौँ । त्यसैले हामी सहकार्य गरिराखेका छौँ ।’

उपमहासचिव पुनले गाउँघरमा अझै पनि विद्युत, सडक, खानेपानी र शिक्षाको पहुँच पुग्न नसकेको भन्दै जनतामा त्यसको पहुँच पुर्याउन पनि मिलेर अघि बढ्नुपर्ने बताए । उनले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता लगायतका राष्ट्रिय अडानका विषयहरुमा दलहरुका बीचमा आपसी सहकार्य हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *