मकालु रिभ्यु

यो फिल्मले सोध्छ ‘मा रेइनी बन्ने कि त्यो युवक ?’

यो फिल्म हुन त मा रेइनीको बारेमा हो जसलाई ‘मदर अफ द ब्लुज’ पनि भनिन्छ । सन् १९२० को दशकमा उनको प्रभाव अमेरिकाभर चुलिएको थियो । 

आफ्नो शक्तिशाली प्रस्तुतिको बलमा उनले अक्सर पुरुष धेरै भएको गायन क्षेत्र अनि गोरा जातिका मान्छेले समातेको क्षेत्रमा पनि आफ्नो स्पष्ट बाटो बनाएकी थिइन् । भनिन्छ उनीपछिका धेरै ब्लुज आर्टिस्टहरूमा पनि उनको प्रभाव पुगेको छ । 

उनको बारेमा पहिला नाटक लेखिएको थियो । पुलिट्जर प्राइस जितिसकेका नाटककार अगस्ट विल्सनले लेखेको त्यही नाटकमा आधारित भएर ‘मा रेइनिज ब्ल्याक बटन’ नामक फिल्म बनेको छ । 

तर यो लेख उनको बारेमा छैन । बरु उनको समूहमा हर्न बनाउन भनेर ठोक्किएको अर्को युवा गायकको बारेमा हो । त्यो युवा गायकको कथामा खोज्न मिल्ने धेरै ठाउँ छ । 

उ एकदमै महत्त्वाकाङ्क्षी छ । मा रेइनी आफैँमा सङ्घर्ष गरिरहेकी मान्छे हुन् । उनले आफ्नो गायनबाट पहिचान बनाएकी छन् । उनको स्वर बिक्ने भइसकेको छ । तर पनि उनले त्यसअनुसार सम्मान पाइसकेकी छैनन् । 

त्यो सम्मान उनी खोजिरहन्छिन् । कसैले दिएन भने हडप्छिन् । फिल्ममा धेरै दृश्यहरू छन् जहाँ उनी मन लागेन भने रेकर्डिङ नै रोकिदिन्छिन् । गोरा रेकर्डिस्ट १५ मिनेटमा सुरु गर्ने भन्छन् । उनि भन्छिन् ‘जतिबेला म तयार हुन्छु त्यतिबेला सुरु गर्ने ।’

उनलाई धेरै कुरा उनले भनेको जस्तै नै हुनुपर्छ । 

मान्छेहरू उनले भनेको मान्छन् । किनकि उनले त्यो सीप विकाश गरिसकेकी छन् । किनकि तीनको लागि उनी नभई नहुने मान्छे हुन् । 

तर त्यो युवकले आफूलाई त्यसरी चिनाइसकेको छैन । उ पनि एकदमै प्रभावशाली सम्भावना बोकेको सङ्गीतकार हो । उ हर्न खुब राम्रो बजाउँछ । त्यसैले पनि मा रेइनी को टिममा उ आइपुगेको छ । 

तर उसको समस्या के छ भने उ आफूलाई मात्र सही सोच्छ । रेइनीको लागि बजाउँदै गर्दा आफूलाई मन लागेको जसरी बजाउँछ । उनी उसलाई सम्झाउँछिन् । मान्दैन । 

उ फिल्ममा स्थापित हुँदै गर्दा उसको केही कुरा नोटिस हुन्छ । उसले एकदमै टल्किने जुत्ता लगाएको छ । त्यसमा छिरिक्कै कुनै दाग लाग्न उ दिँदैन । उ पटक पटक कोही त्यसमा ठोक्किन्छ कि भनेर डराउँछ । 

एकपल्ट कसैले झुक्किएर छोएको बेला उ झगडा गर्छ । 

त्यो जुत्तासँगको उसको प्रेमलाई उसको बाह्य व्यक्तित्वको रूपमा बुझ्न मिल्छ । उ आफूलाई बाहिरबाट बनाउन एकदमै रुचि राख्छ । उ आफ्नो पहिचानप्रति सचेत छ । उ आफ्नो वरपर कसैको हस्तक्षेप हुन दिँदैन । 

तर सँगै त्यसले उसको सीमितता पनि भनिदिन्छ । उ एक्लै छ । उ कोहीसँग पनि मिल्न सक्दैन । उ उग्र छ । उसले र रेइनीले काला जातिको कलाकार भएर भोगेका पीडा उस्तै हुन सक्छन् । तर उ त्यस्तो कुनै कुरा खोज्दैन । सोच्दैन । उसलाई केवल आफ्नो मात्र मतलब छ । 

उ सामूहिक लडाई गर्दैन । त्यसैले पनि उसको पक्षमा कोही बोल्ने ठाउँ रहँदैन । 

एक प्रभावशाली सङ्गीतकार कसरी सामाजिक विभेदको कारण बिग्रिन सक्छ भन्ने कुरा पनि उसको चरित्रले देखाउँछ । यदि अमेरिकामा काला र गोरा बिचमा विभेद हुँदैनथ्यो र उसले सङ्गीत बाहेक अरू कुरालाई सोच्नु पर्दैनथ्यो भने पक्कै पनि उ कुनै ठुलो सङ्गीतकार बन्थ्यो । वा उसले सामान्य जुत्ता लगाउँदा विभेद पो सहेको थियो कि ?

तर फेरी उसले जसरी आफूमा महत्त्वाकाङ्क्षा र घमन्ड थपेको थियो त्यसको कारणले उ अहिले जुन अवस्थामा पुग्यो त्यही अवस्थामा पनि पुग्न सक्थ्यो । 

फिल्ममा एउटा दृश्य छ जसले तीव्र महत्त्वाकाङ्क्षा र दायाँबायाँ केही नसोच्ने जुनसुकै युवा रगतलाई पनि सचेत बनाइदिन सक्छ । उनीहरू रेकर्डिङ स्टुडियोमा हुन्छन् । त्यहाँ एउटा ढोका हुन्छ जुन बन्द हुन्छ । त्यो युवकलाई लाग्छ यदि त्यो ढोका खोलेर जाने हो भने उ आफूले चाहेको ठाउँमा पुग्न सक्छ । आफूले चाहेको जस्तो हुन सक्छ । 

उसलाई जति सकस भइरहेको छ त्यो केवल त्यही ढोका बन्द भएर भएको हो । 

उ पटक पटक त्यसलाई खोल्न खोज्छ तर सक्दैन । उसलाई अरूले रोक्न खोज्छन् तर सक्दैनन् । 

गीत रेकर्डिङमा केही न केही झमेला थपिइरहन्छ । 

उसको र मा रेइनीको बिचमा लफडा भइरहन्छ । 

उ आफूलाई एक्लो पारिरहन्छ ।

उ रिहर्सलमा पनि खासै ध्यान दिँदैन । 

‘म यस्तो सङ्गीत हैन रियल म्युजिक बजाउन चाहन्छु’ भनिरहन्छ । 

‘मलाई म के गरिरहेको छु थाहा छ, अरूको मतलब छैन’ भनिरहन्छ । 

त्यसपछिको एउटा दृश्य । 

उ त्यतिन्जेल खोल्न खोजिरहेको त्यो ढोका खोल्छ । भित्र देख्छ त्यहाँ त केही पनि छैन । केवल भित्तो छ । साँघुरो भित्तो । 

उसले त्यतिन्जेल आफूलाई एक्लै पारेर त्यही भित्तो भेट्छ । कतै जान नपाउने भित्तो । 

उसले त्यतिन्जेल आफूलाई जे सोचिरहेको थियो, त्यो पनि त्यस्तै भित्तो थियो । 

उसले आफ्नो महत्वकांक्षामा जे देखिरहेको थियो, त्यो त्यही भित्तो जस्तै रित्तो थियो । 

उ मार्फत यो फिल्मले सङ्गीतमा मात्र नभएर समाजमा पनि एउटा मान्छे तीव्र महत्वकाक्षांको कारण एक्लिनु कति घातक छ भन्ने देखाएछ । त्यसले त्यो मान्छेलाई कतै पुर्‍याउँदैन सिवाय उसले भेटेको जस्तै भित्तो । 

घमन्डले मान्छेलाई कतै पुर्‍याउँदैन, केवल उसले भेटेको जस्तै भित्तो । 

हामीले अर्कोतिर जे भइरहेको होला भन्ने सोचेका छौँ त्यस्तो नहुन सक्छ । 

अरूको सफलतालाई जसरी देखेका छौँ त्यस्तो नहुन सक्छ ।

हामीले खोजेको समाधान जस्तो होला सोचेका छौँ त्यस्तो नहुन सक्छ ।

हामीले गर्नुपर्ने लडाई त फेरी पनि मा रेइनीले गरेको जस्तै नै हो । उनी आफ्नो आवाजलाई मुखरित गर्छिन् । युवक आफ्नो महत्वकांक्षालाई मात्र मुखरित गर्छ । उनी आफ्नो स्वरलाई कसैले बेवास्ता गर्नै नसक्ने बनाउँछिन् । 

उ आफ्नो कर्मलाई सबैले बेवास्ता गर्ने बनाउँछ । 

उनी आफ्नो अधिकारको लागि सबैलाई लिएर लडिरहेकी छन् । फिल्ममा एक युवक आउँछ । जो नर्भस भएर गाउन सक्दैन । उनी उसलाई गाउने बनाएरै छोड्छिन् । 

उनी आवाज नभएकाहरूलाई पनि आवाज दिएरै छोड्छिन् । 

उ आफूभित्र भएको आवाजलाई पनि हल्लाले छोपेरै छोड्छ । 

फिल्म हेरिसक्दा गहिरो प्रश्न उब्जिन्छ । 

कुन बन्ने ? 

मा रेइनी ? 

कि त्यो युवक ? 

ट्रेलर हेर्ने लिंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *