गल्ती आरके अदिप्त गिरी कै हो

गल्ती आरके अदिप्त गिरी कै हो । 

छँदाखँदाको फोटोग्राफीको करियर छोडेर तीनलाई कुस्मा फर्किनुपर्ने । 

अनि फर्किएपछि पनि कुनै ढङ्गको काम गरेको भए त हुने नि । कुस्मा आर्ट प्रोजेक्ट खोल्नुपर्ने । पुरानो घरलाई ढल्न नदीएर शताब्दी घर बनाएर अड्याउनुपर्ने । 

कुस्मा शहर पूरै ढलान भइसक्दा पनि तिनलाई भने ती नै काठपातको लोभ लागिरहनुपर्ने । 

गल्ती आरके अदिप्त गिरी कै हो । 

तिनलाई कालिगण्डकी नदीको माया लाग्नुपर्ने । कत्ति न नदी तिनको मात्रै भएको जस्तो । त्यहाँ भएका त्यत्रा मान्छे छन् तिनलाई केही नहुँदा हुने । तिनलाई भने नदीमा जथाभाबी दोहन भएको देखेर नदीको दया लाग्नुपर्ने । कसले के गर्छ भन्ने कुरा नदीलाई के थाहा हुन्छ ? 

नदीले त्यस्तरी ढुङ्गा फुटाएर बालुवा बनाएको के काम ? 

त्यसलाई निकालेन भने त्यो त्यसै खेर गएन ? 

उनलाई कत्ति न नदीको प्रवक्ता हुनुपर्ने । अरू दुनियाँले नदी बोल्दैन भनेर पत्याएको बेला उनलाई भने नदीको बोली बोल्नुपर्ने । 

नदीको संरक्षण गर्ने नाममा दुनियाँ मान्छेलाई भड्काएको छ । अनेकथरी कविता लेखेर फेसबुकमा कालिगण्डकी बचाउ अभियान चलाएको छ । त्यत्रा धेरै कविहरूको समय नष्ट गरिदिएको हेर त । अनि डिजाइन कसले गर्यो ? राम राम । त्यति समयमा त ढङ्गको काम गरेको भए के के भइसक्थ्यो । 

ती कविताहरूले नदीलाई मायाले दोहन गरिरहेकाहरूको के हालत भयो भनेर सोच्नु छैन । उनले गरेको कुराले कति जनाको निन्द्रा बिग्रियो । ढुक्कले ठेकेदारी चलाइरहेकाहरू कतिको चैन हराम भयो । उनलाई त्यो कुराको केही मतलब छैन । 

मान्छेको निन्द्रा बिगारेर उनलाई नदीको निन्द्राको पिर गर्नुपर्ने ।

जो मान्छेलाई आफ्नो वरपरका दलालहरूको स्वास्थ्यको ख्याल छैन उसैलाई नदीको स्वास्थ्यको ख्याल गर्नुपर्ने । 

यस्तो असामाजिक पनि कोही कसरी हुन सक्छ ? 

गल्ती आरके अदिप्त गिरी कै हो । 

अनि फेरि उनी त बोले अरे । अरूलाई बोल्न उनले किन नैतिक दबाब दिने हो र ? उनको अगाडि उभिन सारालाई लाज नै लाग्ने बनाउने हो र ? 

स्थानीय निकायमा भएका मान्छेहरूको आनन्दले बस्ने समयलाई किन झकझक्याउने हो र ? आनन्दले चलिरहेको मुर्दा शान्तिलाई किन बिथोल्ने हो र ? 

उनले त्यसो गर्दा बिग्रिएको सामाजिक वातावरणको जिम्मा कसले लिने ? 

उनी त्यति प्रखर बोलेर, त्यति इमानदार इज्जत कमाइदिएर अरूको इज्जतलाई कमजोर बनाइदिन मिल्छ ? 

उनले सामाजिक अभियानलाई त्यसरी कसैले छुनै नसक्नेगरीको उँचो बनाइदिन मिल्छ ? 

कस्तो एक्लै उभिन खोजेको हो ? 

सामाजिक अभियान भनेको त यस्सो देखाउने दाँत पो हो त । बैङ्कहरूले सिएसआरमा लगानी गरेको जस्तो । कहाँ आफ्नो जीवन नै त्यसमा समर्पित गर्ने हो त ? यस्सो फेसबुकमा फोटो हाल्नसम्म गरिने प्रभातफेरीजस्तो पो गर्ने हो त सामाजिक काम । कि त यस्सो वर्षमा एकपल्ट सरसफाइ कार्यक्रम गर्ने हो ।

दोहन भएको ठाउँमा सरसफाइ कार्यक्रम राखेको भए हामी पनि आउँथ्यौँ । 

छँदाखँदाका युवाहरूको दिमाग भुटेर त्यसरी सामाजिक अभियानमा होम्ने हो त ?

गल्ती त आरके अदिप्त गिरी कै हो । 

कुस्मा यसै पनि पर्यटनको हब बनिरहेकै थियो । मानिसहरू पुल हेर्न आइरहेकै थिए । बन्जी हानिरहेकै थिए । त्यहाँ गएर उनी पनि बरु मस्तले बन्जी हाने भो नि । नदीलाई त त्यसरी पो हेर्ने हो त । आनन्द त त्यसरी पो लिने हो त । 

टायल हालेर मन्दिर बनाउने जमानामा कहाँ उनी सम्पदाको कल्पना गर्दै हिँडेका । 

अनि फेरि उनले विरोध पनि एकजनाको पो गर्ने हो त । एउटा मान्छे छान्ने हो उसलाई गर्ने हो । बरु सरकारी कर्मचारीको गर्ने हो । नेताको गर्ने हो । 

काहीँ पत्रकारको पनि गर्ने हो र ? 

पत्रकारलाई छुने ? 

नयाँ समयको बडाहाकिमहरूलाई छुने ? 

तीनलाई पत्रकारको पावर थाहा छैन कि के हो ? 

पत्रकारलाई तीनले लेख्न सिकाउने ? 

लेखेन भनेर गाली गर्ने ? 

पत्रकारलाई बुझ्न सिकाउने ? 

बुझेन भनेर गाली गर्ने ? 

फोटो पत्रकार कि के हो भन्ने त सुनेकै हो त । हैन पत्रकार पनि हैनन् कि के हो ? 

अरू कुरा जे होस् । उनले पत्रकारलाई केही भन्न नहुने थियो । पत्रकार भनेको त अहिलेको समयको सबैभन्दा ठुलो वर्ग हो । त्यस्तो वर्गलाई उनले छुने । त्यो पनि नाथे कालिगण्डकी नदीको बालुवा निकालेको विरोधमा । 

नाथे नदी । 

गल्ती त आरके अदिप्त कै हो । 

हामी त निर्दोष हौँ । निर्दोष भएको मान्छेले दोषीलाई कारबाही गर्नैपर्छ । 

हामी निर्दोषलाई अपशब्द बोल्ने । 

उनले यतिन्जेल बोलेका कुरा हामीले सुनेनौँ अरे । हामी कम्ता बिजी मान्छे हौँ । उनले भनेका कुरा यसै पनि बिजाउनेखाले थिए । तीनले त समाजको अर्डर नै परिवर्तन हुनुपर्छ भनेका थिए । 

त्यस्तो कुरा सुनेर हामीले लेख्यौँ भने भोली अरूतिर पनि नदीको कुरा सुन्ने बढ्लान् । उनको सहयोगी बढेर हरेक ठाउँका सम्पदा जोगिएलान् । 

पुराना घर ढलाउन नदीने बढ्लान् । बाटो चौडा बनाउन नदीने बढ्लान् ।

नदी छिरिक्कै छुन नदीने बढ्लान् । 

हामीले उनलाई नसुनेको त समाजकै भलाइको लागि त हो नि । 

अनि के त्यसो भन्दैमा पत्रकारलाई नै गाली दिने । हाम्रो निन्द्रा बिथोल्ने ? 

पत्रकारको निन्द्रा बिथोल्ने ? 

गल्ती आरके अदिप्त गिरी कै हो ।

आरकेलाई थुन्नैपर्छ । किनकी उनीजस्ता बाहिर भए भने हामीलाई गाह्रो पर्छ ।

पत्रकारलाई गाह्रो पार्ने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *