शनिबार : देशभर कहाँ के घटना घटे ?

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
कृष्णपुर नगरपालिका-२ बाणी नवदुर्गा टोल बस्ने ३५ वर्षीय कुवेर दमाई (हले)को हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मृतकको भतिज नाता पर्ने कृष्णपुर नगरपालिका-२ बस्ने २२ वर्षीय अजय दमाई र भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाई रहेका छन् ।

सोमबारदेखि घरबाट हराई बेपत्ता भएका कुवेर दमाईको कृष्णपुर नगरपालिका-२ बाणी बन्द नदीको बगरमा बिहीबार गाडिएको अवस्थामा शव फेला परेको थियो । सोमबार राति बन्द नदीको बगरमा उनीहरूबीच घरायसी कुरा गर्दै सम्झाई बुझाई गर्ने क्रममा विवाद भएको र विवादको क्रममा कुवेरलाई दुवै जनाले कुटपिट गर्नुका साथै ढुंगा समेत प्रहार गरी हत्या गरी सोही स्थानमा खाडल खनि पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

रोहित चौधरीको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न थप दुई जना पक्राउ
ईटहरी उपमहानगरपालिका-२० सेउती पुलमा मोरङ बिराटनगर महानगरपालिका-५ कोचाखाल बस्ने २८ बर्षीय रोहित चौधरीको साउन ५ गते गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनामा संलग्न धरान उपमहानगरपालिका-४ बस्ने २७ वर्षीय ज्याङलो भन्ने युनेश राईलाई शनिबार उनकै घरबाट ८ राउण्ड गोलीसहित र ईटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका २९ वर्षीय सुजन तामाङलाई मोरङ बिराटनगर महानगरपालिका-११ स्थित महेन्द्रचोकबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भइरहेको छ । यसअघि सोही घटनामा संलग्न २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।

चोरी गरेको अभियोगमा एक जना पक्राउ
बुढानिलकण्ठ नगरपालिका-३ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा मकवानपुर थाहा नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने ४५ वर्षीय बिकास देउला (पोडे)लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सुजनको घरमा साउन ६ गते राति सुन तथा हिराका गरगहना र नगदसमेत गरी करिब ८५ लाख २६ हजार ९ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चोरीका सामानहरू देउलासँग रहेको खुल्न आएपछि उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । साथै उक्त कार्यमा हाल अभद्र व्यवहार कसूरको अनुसन्धानको सिलसिलामा प्रहरी वृत्त मालिगाउँको थुनामा रहेका सिन्धुपाल्चोक तौथली गाउँपालिका-७ घर भएका ३२ वर्षीय सुमन भन्ने बिष्णु श्रेष्ठको समेत संलग्नता रहेको खुल्न आएको छ ।
देउलालाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
झापा, अर्जुनधारा नगरपालिका-६ बाल बिकाश चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १ सय मिलिग्रामसहित सोही नगरपालिका-११ बस्ने २५ वर्षीय निर्मल बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ मालुबेलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-५ बस्ने २५ वर्षीय अर्जुन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२१ पुरैना बस्ने ५९ वर्षीय मोहम्द सरिफ बागवान र सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय फेशकार खटिकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले मोहम्द सरिफको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय मिलिग्रामसहित दाङ तुल्सीपुर उपमहानगरपालिका-४ बस्ने २७ वर्षीय हरि भक्त गिरी र दाङ दंगीशरण गाउँपालिका-३ हेकुली बस्ने ३२ वर्षीय प्रबिन चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको रा.४ प ६०९२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

तनहुँ, ब्यास नगरपालिका-३ बिसघरे बस्ने ३६ वर्षीय नबिन कुमार थापालाई अवैध लागूऔषध गाँजा करिब ५ केजी ५ ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्रामसहित बेलबारी नगरपालिका-४ बस्ने ३३ वर्षीय सनम गुरूङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०५२ प ७५९६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक गुरूङलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमती २२ वर्षीया द्रोपती बुढा क्षेत्रीलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा चाँदनी नगरपालिका-७ कंचभोज बस्ने ३४ वर्षीय प्रेम बहादुर बुढा क्षेत्रीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
चक्कु प्रहारबाट द्रोपती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै घाइते द्रोपतीको दोधरा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इच्छाकामना गाउँपालिका-३ बस्ने ४५ वर्षीय मेघ बहादुर चेपाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
चेपाङले ती बालिकालाई साउन १३ गते दिउँसो इच्छाकामना गाउँपालिका-३ डुसा सामुदायिक बनमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी फिस्लिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ
चन्द्रागिरी नगरपालिका-५ बस्ने ६१ वर्षीय केदार सिंह सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनारसहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ७ सय १५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु
धनुषा, जनकनन्दनी गाउँपालिका-४ खजुरीमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीया लक्षोदेवी दासको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलसहित फरार चालकको खोजी भइरहेको छ ।

काभ्रे, बनेपा नगरपालिका-६ बुडोलस्थित सडकमा धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.-०२-०१३ प ६५०६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक मोरङ घर भई काठमाडौं बानेश्वर बस्ने २३ वर्षीय सफल आचार्यको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सुन्दरहरैचा नगरपालिका-५ हसिना सिमसार बाधको पानीमा पौडी खेल्ने क्रममा डुबेर सुनसरी ईटहरी उपमहानगरपालिका-३ बस्ने १६ वर्षीय अभिनन्द आचार्यको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
काठमाडौं महानगरपालिका-८ गौरीघाटमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष शुक्रबार र सोही महानगरपालिका-३० सानो गौचरणस्थित प्याराफिटमा हाल नाम, थर, वतन, नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-२६ स्थित बिजयपुर खोलाको पुलमुनी सोही ठाउँ बस्ने ८६ वर्षीय धनवीर सार्की र सोही महानगरपालिका-१८ वाटरफन्टस्थित फेवाताल किनारमा सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने २४ वर्षीय सुजन थापा मगर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सल्यान, शारदा नगरपालिका-१३ चलाउनेपानी बस्ने ६९ वर्षीय मोतिलाल बुढाथोकी छत्रेश्वरी गाउँपालिका-५ सिर्वालीस्थित तिर्थपाले सामुदायिक बनको गोरेटो बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली, कमलामाई नगरपालिका-४ पोखरेल गाउँ बस्ने ५५ वर्षीय फौद बहादुर सार्की सोही नगरपालिका-४ देउराली धारास्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
हुम्ला, नाम्खा गाउँपालिका-३ खगाल गाउँ बस्ने ५१ वर्षीय ग्यालजुङ लामा सोही ठाउँस्थित ताङघुङसो जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । बुधबार दाउरा काट्न गएका उनी फर्की नआएपछि खोजी गर्नेक्रममा शव फेला परेको हो ।

गोरखा, गण्डकी गाउँपालिका-८ बर्खेघाटस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
कागेश्‍वरी मनोहरा नगरपालिका-६ मुलपानी चौरस्थित सोही नगरपालिका-५ थली बस्ने शम्भु कोइरालाको किराना पसल र भारत घर भएका जालिम हुसेनको सिरक डस्ना पसलमा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा दुवै पसलमा रहेको विभिन्न सामान जलेर करिब २७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रामेछाप, रामेछाप नगरपालिका-७ सुकाजोर बस्ने रामकुमार कार्कीको कच्ची घरमा गएराति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *