कप्तान रोहितको उत्कृष्ट ब्याटिङमा नेपालले भारतलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतकमा नेपालले एसिसी इमर्जिङ कपमा भारत ए लाई १ सय ६८ रनको सामान्य लक्ष्य दिएको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७.२ ओभरमा १ सय ६७ रनमा अल आउट भयो ।
नेपालका कप्तान रोहित पौडेलले ८५ बलमा ७ चौकासहित सर्वाधिक ६५ रनको योगदान दिए । रोहित स्पिनर निशान्त सिन्धुको बलमा कट विहाइन्ड हुँदै विकेटकिपर ध्रुब जुरेलबाट समातिन पुगे । रोहित आउट हुँदा नेपाल ३३.२ ओभरमा १४४.७ को अवस्थामा थियो ।
गुलशन झा ३० बलमा २ चौका र २ छक्कासहित ३८ रनमा क्याच आउट भए । एक समय ९०–६ को दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि रोहित र गुलशन झाले ५६ बलमा ५४ रनको साझेदारी गरेका थिए ।
त्यसअघि नेपालको प्रदर्शन सम्झन लायक थिएन । एक समय १० ओभरमा ३७–५ को दयनिय अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि रोहित र सोमपालले ५३ रनको साझेदारी गरेका थिए । सोमपाल स्पिनर मानव सुथारको बलमा स्वीप खेल्ने धुनमा १४ रनमा एलबीडब्लू आउट हुन पुगे ।
नेपालको शीर्षक्रम ब्याटिङ पुन तीव्र गतिका बलर सामु निरिह बन्यो । तीव्र गतिका बलर हर्षित रानाले इनिङको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई एलबीडल्लू आउट गर्दै शून्यमा पेभेर्लिएन फर्काएका थिए । त्यसपछि दोस्रो विकेटका लागि आसिफ शेख र देव खनालले २७ रनको साझेदारी गरेका थिए ।
तीव्र गतिका बल राजवर्धन हंगेगाकरको बलमा आसिफ एज लागेर विकेटकिपर धु्रब जुरेलबाट ७ रनमा समातिन पुगे । देव खनाल टप एज लागेर अभिषेक शर्माबाट १५ रनमा क्याच आउट भए । देवले २१ बलमा ३ चौका प्रहार गरे ।
भीम सार्की हर्षित रानाको नवौं ओभरको पाँचौं बलमा एज लागेर ४ रनमा बोल्ड भएपछि नेपाल ३५–४ को खराब अवस्थामा पुगेको थियो । राजवर्धनकै दशौं ओभरको अन्तिम सर्ट बलमा कुशल मल्ल सेकेन्ड सिलिपमा शून्यमा अभिषेक शर्माबाट क्याच आउट भए ।
पवन सरार्फ ६ रनमै आउट भए । भारतका राजवर्धन हंगागेकारले ६ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । हर्षित रानाले ५ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । स्पिनर निशान्त सिन्धुले ३.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए ।








