टिप्पणी

संसद्‌मा रवि र राजेन्द्र : एमालेतिर हेर्ने, इशारामा चल्ने

'ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणका ठूला माछा जोगाउन सबै दल एकै ठाउँमा'

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनताले सोध्छन्, ‘ललिता निवास प्रकरणमा नाम मुछिएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, नेताहरू विष्णु पौडेल र विजय गच्छदारलाई कहिले समात्ने ? कर्मचारीलाई समातेर रमितामात्र हेरिरहने कि मुख्य योजनाकारहरूलाई पनि कानुनको दायरामा ल्याउने ?’

ललिता निवासको सरकारी जग्गा हिनामिना गर्न दलालीहरूलाई बाटो खोलिदिने त यिनीहरू नै हुन् भनिन्छ । मन्त्रिपरिषद्बाटै निर्णय गरेर यिनीहरूले सरकारको सम्पत्ति धमाधम व्यक्तिलाई भागबन्डा लगाएको आरोप छ । मुख्य योजनाकारलाई पहिले पक्रिनुपर्ने होइन र ? ठूला समात्दा साना आफैँ कानुनको दायरामा आइहाल्छन् । आफ्नो कुर्सी जान्छ कि भनेर डराइरहने हो भने मुख्य अभियुक्त कानुनबाट उम्किन सक्छन् । प्रधानमन्त्री पद सधैँ रहिरहने होइन, कतिखेर छोडेर हिँड्नुपर्छ थाहा छैन । त्यसैले ‘अपराधी’हरूलाई कानुनको कठघरामा ल्याउन ढिलाइ गर्नुहुन्न । जनता कतिबेला ठूला माछाहरूलाई सरकारले समात्ला भनेर कुरेर बसिरहेका छन् । तर, यो आँट सरकारमा देखिएन । न प्रधानमन्त्री प्रचण्डमा देखियो न त गृहमन्त्री नारायण श्रेष्ठमा ।

केन्द्रीय अनुसन्धान ब्यूरो पनि तल्ला तहका कर्मचारीलाई मात्रै समाती रहेको छ । सरकारले फाइल त खोल्यो तर अनुसन्धान जरैसम्म जालाजस्तो छैन । प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठ  बिच्किने हो कि भनेर पनि आशंका गर्न थालिएको छ । जनताको नजरमा उल्लेखित सबै जना ‘अपराधी’ हुन् । सरकारमा भएको बेला उनीहरूले सरकारकै सम्पत्ति हिनामिना गर्न बाटो खोलिदिए । उनीहरूलाई किन छोड्ने ? टिप्पणी उठाउने सचिव समातिए भने निर्णय गर्ने मन्त्री र प्रधानमन्त्री किन समातिएनन् ? कस्तो कानुन हो यो । प्रधानमन्त्री र मन्त्रीले नचाहेको भए सचिवले उठाएको टिप्पणी रोकिन्थ्यो । यहाँ सबैको मिलीभगत छ भन्ने त स्पष्ट देखिएको छ । एमालेले विष्णु पौडेललाई बचाउन खोज्यो भने २०८४ सालको चुनावमा त्यसको परिणाम भोग्नुपर्छ । गलत गर्नेलाई संरक्षण गर्न खोज्नेलाई त जनताले छोड्दैनन् । कांग्रेसले पनि विजय गच्छदारलाई जोगाउन नखोज्दा पनि हुन्छ ।

माधवकुमार नेपाललाई कानुनको दायरामा ल्याउन एकीकृत समाजवादीका नेताहरूले सरकारलाई सहयोग गर्छन् ? डा. बाबुराम भट्टराई त सबैतिरबाट एक्लिरहेका छन् । गैरकानुनी काम गर्नेहरूलाई अब पार्टीहरूले कारबाहीका लागि कदम चाल्नुपर्छ । सदनमा यत्रा सांसद छन् । तर, कुनै सांसदले यसबारे बोलेका छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीको अगाडि सांसदहरू नै निरीह बनेको कतिपयको तर्क छ । ललिता निवासको जग्गा प्रकरणमा कसको हात कति छ ? भनेर निरन्तर समाचारहरू बाहिर आइरहेका छन् । यद्यपि, सांसदहरूले अपराध गर्नेलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउनुपर्छ भनेर आवाज उठाउन सकेका छैनन् । सदनमा पनि ठूला नेताहरूकै चल्दो रहेछ भन्ने स्पष्ट भएको छ । पार्टी नेतृत्वकै बोली अन्य नेता तथा सांसदहरूले बोल्ने रहेछन् भन्ने पनि छर्लङ्ग देखिएको छ ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी आफ्नो नाम जोडिनेबित्तिकै बेपत्ता भएका थिए । उनी रातारात भागे । अध्यक्ष केपी ओलीले नै उनलाई लुकाएको भनेर जनताले प्रश्न पनि उठाए । तर, अन्तिममा कानुनको दायरामा आउनैपर्‍यो । हिजो बालुवाटारको जग्गा काण्डमा मुछिएपछि विजय गच्छदार पनि भागेका थिए । ओली नेतृत्वको सरकार हुँदा उनी महिनौँ गायब भए । पछि देउवा नेतृत्वको सरकार आएपछि मात्रै उनी फर्किएका हुन् । अब पनि यिनीहरू भाग्दैनन् भनेर के प्रमाण छ ? गल्ती गरेका मान्छेहरू उम्किने सही समय हेरेर बसेका छन् । उनीहरू जतिबेला पनि भाग्न सक्छन् । अनि सरकारलाई खोज्नकै सास्ती । अनुसन्धान छिटोछिटो सकाएर दोषीलाई कारबाही गर्नुपर्‍यो नि ।

सरकारले अनुसन्धान सकाउँदासम्म त अधिकांश भागिसकेका हुन्छन् । सदनमा प्रेम सुवाल र चित्रबहादुर केसी पनि छन् । उनीहरू गलतको विरोधमा बोल्लान् भनेर जनताले धेरै आस गरेका थिए । विडम्बना, अहिले आएर आस गर्नु गलत भएको महसुस भएको छ । यो काण्ड बाहिरिएको यत्रो समय भइसकेको छ तर यिनीहरू चुइँक्क आवाज उठाउँदैनन् । रवि लामिछाने र राजेन्द्र लिङ्देनले आफ्नो विचार, सिद्धान्त ओलीलाई बुझाइसकेका छन्  । यिनीहरूलाई ओलीको कठपुतली भन्दा पनि केही फरक नपर्ला । ओलीले जे भन्यो त्यही मान्छन् । यस्ताबाट आस गर्नु बेकार छ । संसद्‌मा पनि रास्वपा र राप्रपा गतिविधि हेर्दा- एमालेतिर हेर्ने, उनीहरूले ढ्यापढ्याप बजाए ढ्यापढ्याप बजाउने । मुठ्ठी उचाले मुठ्ठी उचाल्ने ? यो बाहेक अरू केही गरेको देखिँदैन । रास्वपा वा राप्रपाका सांसदले हामी छुट्टै दल हो भनेर भन्ने सकेको खै ?

देशमा लोकतन्त्र ल्याउने प्रचण्ड हुन् । १० वर्ष जनयुद्ध गरेर उनले राजतन्त्र फ्याँकेका हुन् । तीन पटक प्रधानमन्त्री बनिसकेका उनी फेरि प्रधानमन्त्री बन्लान्, नबन्लान् थाहा भएन । तर, अहिले उनी त्यो ठाउँमा छन्, जहाँ बसेर उनले धेरै काम गर्न सक्छन् । यही मौकालाई उनले सदुपयोग गर्न सक्नुपर्छ । भ्रष्टाचारीहरूलाई कानुनको दायरामा ल्याउन सक्यो भने २०८४ सालको चुनावमा जनताले माओवादीलाई पहिलो पाटी बनाउँछन् ।

गृहमन्त्री श्रेष्ठको वा-वाही अहिले सबैतिर चलेको छ । यसलाई उनले काम गरेर कायम राख्न सक्नुपर्छ । अन्य मन्त्री विवादमा तानिरहँदा उनले गरेको काम साँच्नै नै प्रशंसायोग्य छ । सिंहदरबारभित्र त्यत्रा मन्त्रालय छन्, मन्त्री छन् । तर, कसले के काम गरे ? बरु, माफियाकै पक्षमा निर्णय गरेर दिन बिताइरहेका छन् । भूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र शहरी विकासमन्त्री सीता गुरुङले खेतीयोग्य जमिन मास्ने गरी कित्ताकाट खोलिदिएको आरोप छ । यातायातमन्त्री प्रकाश ज्वाला सरकार र जनतालाई फाइदा हुने एउटा काम गर्दैनन् । नयाँ ट्याक्सीको दर्ता बन्द भएको तीन दशक बढी भइसकेको छ तर यसतर्फ उनको ध्यान जाँदैन । अर्थमन्त्री डा प्रकाशशरण महत बढाएको कर व्यवसायीको दबाबमा आएर फिर्ता लिन्छन् । अन्य मन्त्री पनि त्यस्तै छन्, काम नलाग्ने । प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री श्रेष्ठ मात्र काम गर्ने खालका देखिएका छन् । प्रमुख प्रतिपक्षमा एमाले बसेको छ । रास्वपा र राप्रपा पनि विपक्षीमा छ ।

तर, एमाले ललिता निवास प्रकरणमा किन बोलिरहेको छैन त ? आफ्नो दाहिने हात जेल जाने भएपछि ओली चुप लागेका छन् । नचाहिँदो कुरा गर्न एमालेलाई कसैले भ्याउँदैन भने चाहिने काममा मुख नै खोल्दैन । संसद् अवरोध गर्न एमाले पहिलो नम्बरमा छ । ऐनकानुन बनाउन दिँदैन । अनि आफ्नो पार्टीका नेताले गलत गरेको देख्दा पनि चुइँक्क मुख खोल्दैन । राम्रो काम गर्नेलाई हाईहाई नराम्रोलाई कारबाही भन्ने कुरा एमालेले बुझेको छैन । विष्णु पौडेल त शुरुका दिनदेखि नै एमालेमा छन् । टोपबहादुर रायमाझीजस्तो माओवादीबाट सरुवा भएर आएका हैनन् । तापनि रायमाझीलाई बचाउन उनले हर कोसिस गरे । पौडेललाई बचाउन त ओली ज्यान फालेरै लाग्छन् । पौडेल एमालेबाट पटकपटक मन्त्री भइसकेका छन् । ओलीले पौडेललाई समात्न दिन्छन् ? जसरी हुन्छ जोगाउन खोज्छन् भन्ने त प्रष्टै छ । यहाँबाट के स्पष्ट हुन्छ भने नेताहरूले नै गलत गर्नेहरूलाई संरक्षण गरिरहेका छन् ।

यस्तै पारा हो भने कसरी भ्रष्टाचार रोकिन्छ ? देशमा भ्रष्टाचार अन्त्य नै गर्ने हो भने ठूलैबाट सरसफाइ अभियान सुरु गर्‍यौँ । ‘सानालाई ऐन, ठूलालाई चैन’ नहोस् । कानुन सबैका लागि बराबर हुनुपर्छ । सरकारलाई हानिनोक्सानी पुर्‍याउने, सरकारी सम्पत्तिमा गिद्देनजर लगाउनेहरू कोही पनि नछुटुन् । कानुनले मन्त्री भन्दो रहेनछ भन्ने कुरा त भुटानी शरणार्थी प्रकरणमा देखियो । भूपू गृहमन्त्री बालकृष्ण खाँण गैरकानुनी काम गर्दा जेल गए । अब अन्यको पनि पालो आउँदै छ ।

सरकार ढल्छ कि भनेर प्रधानमन्त्री प्रचण्डले खुट्टा कमाउनुभएन । ‘अपराध’ गर्नेलाई जतिसक्दो छिटो कारबाही गरौँ । कुर्सीमा बस्नु र झण्डावाल गाडी चढेर हिँड्नु ठूलो होइन । एक मिनेट भएपनि समयको सदुपयोग गर्नुपर्छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अहिलेसम्म यिनीहरूलाई नसमात्नुको कारण सर्वसाधारणलाई भन्नुपर्छ । माथिबाट दबाब आएको भए जनतासमक्ष भन्नुपर्‍यो । होइन भने भटाभट समात्नुपर्‍यो । कि ललिता निवास प्रकरणमा यिनीहरूको संलग्नता छैन भन्न सक्नुपर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *