बगान हेरेर रोइरहेका दर्शकसामु कलाकार पुग्दा…

काठमाडाैँ । शुक्रबार चलचित्र ‘बगान’ रिलिज भएसँगै यसका कलाकारहरु काठमाडौँ उपत्यकाका विभिन्न हलमा दर्शकसामु पुगेका छन् । अभिनेता तथा निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र अभिनेत्री प्रमिला कार्कीले दर्शकसँग साक्षात्कार गरेका छन् ।

चलचित्र हेर्दा हेर्दा रोइरहेका दर्शकले आफ्नै अगाडि चलचित्रका कलाकारहरू देख्दा देखिएको दृश्य अकल्पनीय थियो । अभिनेत्री मानन्धरको अँगालोमा रुने महिलाहरु एकातर्फ थिए भने अभिनेता तथा निर्देशक खनालसँग पुरुष भनेको तपाईंजस्तै हुनुपर्छ भन्दै भक्कानिने अर्कातर्फ थिए ।

चलचित्र हेरेर भावविह्वल भएका पुरुष दर्शकले समाज रुपान्तरणका लागि यो चलचित्र बनेको प्रतिक्रिया दिए । चलचित्र हेर्न आउने एकल आमाहरूले आफ्नै कथामा चलचित्र बनाएको धन्यवाद व्यक्त गरे भने एकल आमाले हुर्काएका छोराछोरीले आफ्नो जिम्मेवारी बोध गराइदिएको बताए ।

विधवा आमाको खुसी जीवनका लागि आमाको विवाह गराउने छोरीको भूमिकामा रहेकी अभिनेत्री कार्कीलाई पनि आमाहरु र छोरीहरूले स्याबासी दिएका थिए । डेब्यु नायिका कार्कीको अभिनयलाई लिएर दर्शकले प्रशंसा गरेका छन् । पहिलोपटक चलचित्रमा देखेको भए तापनि उनको अभिनय नयाँ नलागेको बताउँदै छिट्टै अर्को चलचित्रमा हेर्न चाहेको प्रतिक्रियाबाट कार्की दंग थिइन् ।

भक्तपुरको भाटभटेनीमा रहेको क्यूएफएक्स सिनेमा, दरबारमार्गको राईजिङ मलमा रहेको क्युज सिनेमा र पुल्चोकको लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा कलाकारहरू पुगेका थिए । दुई दिनअगाडि भएको प्रिमियरमा पनि यो चलचित्रले तारिफ पाएको थियो । ‘बगान’ देशभरका १०० भन्दा बढी हलमा १५० भन्दा बढी शो सङ्ख्यासहित चलिरहेको छ ।

अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथमपटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

स्वप्निल नीरवको कथामा आधारित यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डीओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भीएफएक्स तथा रेनिश फागोको कलर करेक्शन छ । ब्याक्ग्राउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहको छ। हरि लम्साल र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ ।

यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशमा प्रदर्शन हुनेछ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *