काठमाडौँ उपत्यकालाई व्यवस्थित बनाउन सरकारले उपत्यका गुरु योजना बनाउँदै
२०८० असार २६ गते

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले काठमाडौँ उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौँ उपत्यका गुरु योजना बनाइरहेको बताएका छन् ।
सोमबार जिल्ला समन्वय समिति ललितपुरको सातौँ जिल्ला सभामा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले काठमाडौँ उपत्यका घरै–घरको मात्रै सहर भएको बताए । उनले राज्यको स्पष्ट सहरको स्वरूप बनाउने नीति बनाएर कार्यान्वयन हुन नसक्दा काठमाडौँ उपत्यकामा घरै मात्रै भएको बताए । मन्त्री गुरुङले काठमाडौँ उपत्यकामा ठूलो सहर नभएको,गाडी पार्किङ गर्ने ठाउँ अभाव, खानेपानी,साना–साना पार्क र फुटपाथ केही पनि नभएर धेरै घरहरू भएको सहरका रूपमा स्थापित भएको बताए ।
उनले यसरी बनेका घरहरू राज्यले सहर व्यवस्थित बनाउने भनेर मात्रै पनि भत्काउन सक्ने अवस्था नभएको बताए । उनले सरकारले बनाएको गुरु योजनाले सहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन सकिने बताए । उनले काठमाडौँ उपत्यकाबाट बग्ने बागमती नदी र त्यसका सहायक नदीहरूको सरसफाई र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्विक सांस्कृतिक वस्तुहरूलाई संरक्षण गरी पर्यटन विकास गर्ने गरी सरकार लागि रहेको बताए ।
उनले काठमाडौँ उपत्यकालाई स्वच्छ र सफा सहर बनाउने कार्यको थालनी पनि गरेको बताए । उनले सहर व्यवस्थित बनाउनका निम्ति मुख्य गरी अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउनुपर्ने बताए । उनले सरकारलाई अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन धेरै गाह्रो भएको बताए ।
उनले भने, ‘राज्यले नीतिगत रूपमा सहरको स्वरूप यस्तो हुनुपर्छ भनेर कार्यान्वयन गर्न नसक्दा काठमाडौँ उपत्यकामा घरै मात्रै भएको अवस्था छ । ठूलो सहर पनि छैन । गाडी पार्किङ गर्ने ठाउँ पनि छैन । खानेपानी,साना–साना पार्क र फुटपाथ केही पनि छैन । धेरै घरहरू भएको सहर भएको छ । शहरलाई कसरी व्यवस्थित बनाउने भनेर सबै भत्काउन सकिने अवस्था छैन् । तर पनि व्यवस्थित बनाउने दृष्टिकोणका साथ सरकारले अहिले काठमाडौँ उपत्यकाको मास्टर पलान (गुरु योजना)बनाएर अगाडि बढाउने हिसाबले काम गरिरहेका छौँ । सबै स्थानीय तहहरूले सुझाव दिन अनुरोध गर्छु । यस्तो योजना बनाएर काम गर्दा भइरहेको संरचना र व्यथितिलाई रोक्न सकिन्छ । काठमाडौँ उपत्यकाबाट बग्ने बागमती नदी र त्यसका सहायक नदिहरुको सरसफाई र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्विक सांस्कृतिक वस्तुहरूलाई संरक्षण गरी पर्यटन विकास गर्न सकिन्छ भन्ने विषयमा सरकार लागेको छ । त्यस्तै कसरी स्वच्छ र सफा सहर बनाउने विषयमा काम थालनी गरेका छौँ । त्यो कामलाई पूर्णता दिनको निम्ति मुख्य गरी अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन सरकारलाई धेरै गाह्रो भएको छ । यदि सरकारले नदिन किनारको अव्यवस्थित र सुकुम्वासी बस्ती हटाउन सक्यौँ भने ती कामहरू गर्न सजिलो हुन्छ । यसमा स्थानीय सरकार,जिल्ला समन्वय र सांसदहरूको सहयोग आवश्यक पर्छ । सहरको फोहोरमैला व्यवस्थापन स्थानीय सरकारको मातहतमा छ । सहरहरूमा अहिले जटिल समस्या भनेको फोहोरमैला व्यवस्थापन भएको छ । काठमाडौँ महानगर र सहरी विकास मन्त्रालयले फोहोर उठाएन भनेर हामीले दीर्घकालीन समाधान दिन सक्दैनौँ । स्थानीय सरकार नै फोहोर व्यवस्थापनमा लाग्नु पर्ने अवस्था छ । सरकारले काठमाडौँ उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन कसरी गर्ने भन्ने उपाय खोजे पनि अधिकार स्थानीय सरकारको रहेको छ । ललितपुर जिल्ला भित्रका स्थानीय तहहरूले छुट्टै आफ्नै फोहोर व्यवस्थापन गर्न सक्नुपर्छ ।’
उनले खोला किनारका अव्यवस्थित र सुकुम्वासी स्थानीय सरकार,जिल्ला समन्वय र सांसदहरूको सहयोग आवश्यक पर्ने बताए । उनले सहरको फोहोरमैला व्यवस्थापन स्थानीय सरकारको मातहत रहेको भन्दै सहरहरूमा अहिले जटिल समस्या भनेको फोहोरमैला व्यवस्थापन भएको बताए । उनले काठमाडौँ महानगर र सहरी विकास मन्त्रालयले फोहोर उठाएन भनेर दीर्घकालीन समाधान दिन नसकिने भन्दै स्थानीय सरकार नै फोहोर व्यवस्थापनमा लाग्नुपर्ने बताए । उनले ललितपुर जिल्ला भित्रका स्थानीय तहहरूले छुट्टै आफ्नै फोहोर व्यवस्थापन गर्न सक्नुपर्ने बताए ।
२०८० असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








