रुस-युक्रेन युद्धको ५ सय दिन पूरा : ९ हजार जनाभन्दा धेरै नागरिक र ६० हजारभन्दा धेरै सैनिकको ज्यान गयो

रुसले युक्रेनमा आक्रमण शुरु गरेको पाँच सय दिन पूरा भएको छ । रुसले सन् २०२२ को फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण शुरु गरेको हो ।
आक्रमण शुरु भएको पाँच सयौँ दिनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध शुरु भएको ठाउँ स्नेक आइल्याण्डको भ्रमण गरेका छन्। युद्ध शुरु हुने बेला रुसी सेनाले आत्मसमर्पणका लागि दिएको आदेश नमानी युक्रेनी सेना अन्तिम अवस्थासम्म लडेका थिए ।
शुरुमा रुसले आक्रमण गरेको ब्लाक सी को यो टापु पछि युक्रेनले फिर्ता गरेको हो । एउटा भिडियो जारी गर्दै जेलेन्स्कीले स्नेक आइल्याण्डलाई विजयको ठाउँ भनेका छन्। युक्रेन युद्धको ५ सय दिनमा नौ हजारभन्दा धेरै नागरिक मारिएका छन् ।
जसमध्ये ५ सय बालबालिका रहेका संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर ज्यान गुमाउनेको संख्या सरकारी तथ्याङ्कभन्दा धेरै हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले जनाएको छ ।
समाचारसंस्था रोयटर्सका अनुसार युद्धमा रुसी सेनाका झण्डै ४३ हजार जना र युक्रेनी सेनाका झण्डै साढे १७ हजार जना मारिएका बताइए पनि यकिन तथ्याङ्क छैन। युद्धमा ज्यान गुमाएका र घाइते गरी साढे तीन लाख जनाभन्दा धेरै सैनिकहरु प्रभावित भएका छन्।








