पक्राउ परेका कलाकार र युट्युबरलाई वर्ष कैद र जरिवाना माग

काठमाडौँ । वानएक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरविरूद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार अनुसन्धान प्रतिवेदन बुझाएको काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ३१ गते हाँस्य कलाकार र युट्युबर गरी आठ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा गोरखा घर भई वनस्थलीले ३५ वर्षीय हाँस्य कलाकार ‘बल्छी ध्रुवे’ मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय ‘म्याकुरी’ पवन खतिवडा, पोखरा घर भई नयाँ बजार बस्ने ‘राजु मास्टर’ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टीकाथली बस्ने युट्युबर एलिश राई पक्राउ परेका थिए ।

रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर ‘जलन’, मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले अर्का युट्युबर राजकुमार तामाङलाई असार ९ गते पक्राउ गरेको थियो ।

उनीहरूविरूद्ध प्रहरीले मुलुकी अपराध संहिताको दफा १२५ अनुसार सजायको मागदाबी गरेको छ । जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुर अन्तर्गत एक वर्ष कैद र जरिवानाको मागदाबी गरेको हो । अब सरकारी वकिल कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदन अध्ययन गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ । त्यसपछि उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने कि थुनाबाहिर भन्ने आदेश हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *