हिसान शैक्षिक मेला असार ८ गतेबाट पुन: सञ्चालन हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रोकेको ८ औँ कान्तिपुर हिसान एडु फेयर असार ८ गतेबाट पुनः सञ्चालन हुने भएको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा असार ८,९ र १९ गते मेला पुनः सञ्चालन हुने भएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति प्राप्त गरी जेठ ३२ गतेदेखि असार ३ गतेसम्म भृकुटीमण्डपमा आयोजित शैक्षिक मेला काठमाडौँ महानगरका तर्फबाट गैरकानूनी ढङ्गले अवरोध सिर्जना गरी बाधा पुर्याएपछि कानुनी प्रक्रियामा गए उच्च अदालत पाटनका तर्फबाट मेला सञ्चालन गर्न अनुमति दिएसँगै मेला सञ्चालन गर्न लागेको बताए ।

उनले मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरूले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिन सक्ने बताए ।

उनले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति प्राप्त गरी २०८० जेठ ३२ गतेदेखि असार ३ गतेसम्म भृकुटीमण्डप काठमाडौँमा आयोजना भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाका तर्फबाट गैरकानूनी ढङ्गले अवरोध सिर्जना गरी बाधा पुर्याइएकोले कानुनी प्रक्रियामा गई सम्मानित उच्च अदालत पाटनका तर्फबाट प्राप्त मेला सञ्चालन गर्नु, गरुराउनु भन्ने अन्तरिम आदेश बमोजिम शैक्षिक मेला पुनः सञ्चालन गर्न लागिएको हो । शैक्षिक मेला २०८० असार ८, ९ र १० गते भृकुटीमण्डप काठमाडौँमा सञ्चालन हुँदैछ । तीन दिनसम्म निर्बाध रूपमा सञ्चालन हुनेछ ।’

गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौँ महानगरपालिकाले अनुमति नलिईकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 13 =