जनगुनासो सम्बोधन गर्न समाजवादी मोर्चा बनाइएको हो : सांसद शर्मा

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की सांसद नारायणी शर्माले जनताको जनगुनासोहरूलाई सम्बोधन गर्नका लागि समाजवादी मोर्चा नेपाल बनाइएको बताएकी छिन् ।

बुधवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले जनताको जनगुनासोहरूलाई एक ठाउँमा केन्द्रित गरी एक ठाउँमा उभिएर मुकाबिला गर्नका लागि समाजवादी मोर्चा बनाइएको बताएकी हुन् । उनले सत्ता टिकाउनको लागि मात्रै मोर्चा नबनाएको दाबी गरिन् । यद्यपि मोर्चाले सरकार सञ्चालनमा सहयोग नै पुग्ने उनको भनाई छ ।

उनले देशमा देखिएका विभिन्न प्रकारका समस्या समाधान गर्न दलहरू एक ठाउँमा उभिएर अघि बढ्दा सहज हुने भएकाले मोर्चा बनेको बताए । उनले मोर्चामा आबद्ध दलहरू सडक, सदन र सरकारमा एक भएर अघि बढ्ने बताइन् ।

सांसद शर्माले नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकीकरण गरेर माओवादी केन्द्रको महासचिव बनाउने भनेर नफकाइएको बताइन् । उनले विप्लव विगतमा माओवादी आन्दोलनकै नेतृत्व भएको भन्दै एकीकरण भएको खण्डमा पार्टीले जुनसुकै जिम्मेवारी दिनसक्ने बताइन् ।

उनले भनिन्, ‘उहाँ(विप्लव) हिजो माओवादी पार्टी भित्रकै उत्पादन हो । माओवादी आन्दोलन भित्रको जनयुद्धको उत्पादन हो । उहाँ यहाँको नेतृत्व पनि हो । उहाँले एउटा ढङ्गले नेतृत्व गर्दै जनयुद्धमा हिँडेको पनि हो । तर विविध कारणले पार्टी टुटफुट भयो । क्रमशः हिजो जनयुद्धको शक्ति थियो नि, त्यो क्रमशः एक ठाउँमा केन्द्रित हुँदैछ । त्यसको एउटा उपजको रूपमा त्यसलाई बुझ्नुपर्छ । अहिले पार्टी नै एक ठाउँमा आएको त होइन । मोर्चामा आउँदाखेरि शक्ति केन्द्रित हुने कुरा, एक ठाउँमा उभिने कुरा हो । यो देला, ऊ देला भनेर होइन । भोलि उहाँ यहाँको नेता हो । यो पार्टीमा आउँदा उहाँलाई जुनसुकै जिम्मेवारी पार्टीले दिन सक्छ । उहाँले वहन गर्न सक्नुहुन्छ । त्यो पार्टीले दिने कुरा हो भोलि आइसकेपछिको । अहिले फकाएर ल्याएको विषय होइन ।’

सांसद शर्माले कोसी प्रदेशलाई प्रदेश सरकारको दुई तिहाइले नाम पारित गरेको भन्दै कसैले सो नाम लिन आनाकानी गर्नु नहुने बताइन् । उनले नामकरणको बेलामा कसैले हस्तक्षेप नगरेको र प्रदेश सभाले पास गरेको उल्लेख गर्दै यसमा अफट्यारो मान्नु नहुने बताइन् ।

उनले भने, ‘पहिचान हुँदाहुँदै किन यसो गर्याे भन्ने एउटा खालको तर्क भयो । तर त्यहाँ दुई तिहाइ बहुमतले पास गरेको कुरा भयो । संघ सरकारले हस्तक्षेप गरेको विषय पनि भएन । प्रदेश सभाले पास गरेको हुनाले लेख्दा बिग्रिन्न थियो । आन्दोलन भइरहेको छ । मानिसको मृत्यु भइरहेको छ । प्रश्न गर्ने ठाउँ त छैन दुई तिहाइले पास गरिसकेको छ । तर आन्दोलन चलिरहेको बेलामा के गर्ने भन्नेखालको अफट्यारो परिस्थिति पर्न सक्छ भन्ने मलाई लागेको । दुई तिहाई बहुमतले पास गरिसकेपछि त्यो नाम लेख्दाखेरि अप्ठ्यारो हुने विषय चाहिँ होइन ।’

उनले कोशी प्रदेशमा पहिचानवादीहरूको आन्दोलन भइरहेको कारणले सरकारी निकायलाई कोसी नाम लिन अफट्यारो परेको हो कि भन्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =