अदालतले मागेको धरौटी बुझाए पनि प्रहरीले छाडेन लक्ष्मी र टंकलाई

नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले १६ जनालाई थुनामा पठाउने र २ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
दुई साता लामो थुनछेक बहसपछि गत शुक्रबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले यस्तो आदेश गरेको थियो।
अदालतको आदेश अनुसार प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेसहितलाई तत्कालै केन्द्रीय कारागार सुन्धारा पुर्यायो।
१६ जना त्यसै साँझदेखि कारागारमा छन्। तर अदालतको आदेश छाड्न भएपनि लक्ष्मी महर्जन र टंक गुरुङ भने अझै पनि नछुटेका हुन्।
अदालतले लक्ष्मीसँग ५ लाख र टंक गुरुङसँग १० लाख धरौटी माग गरेको थियो। उनीहरुले अदालतले मागेको धरौटी त्यसै साँझ बुझाएका थिए।
तर धरौटी बुझाए पनि प्हरीले उनीहरुलाई हिरासतमा राखेर अहिले सम्पत्ति सुद्धिकरण विभाग र अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा बुझाएको हो।
उनीहरुविरुद्ध त्यहाँ पनि मुद्दा चलाइएको हो। लक्ष्मी सरकारी कर्मचारी पनि भएकाले अख्तियारमा मुद्दा चल्ने भएको हो। उनी नेपाल प्रहरीको नायव निरीक्षक हुन्। उनी प्रहरी अस्पतालमा नर्सका रुपमा कार्यरत छन्।
टंक गुरुङविरुद्ध भने सम्पत्ति सुद्धिकरण विभागमा पनि मुद्दा चलाइएकोले त्यहाँ बुझाउँदा नछुटेका हुन्।








