मुभी लभर्सको सिनेमा सिफारिस

खडेरीमा पानी खोज्न परिवारसहित हिँडेको एक बुबाको कथा

अफ्रिकाको एउटा परिवार बसेको ठाउँमा खडेरी पर्छ । 

खडेरीमा बसिरहन को सक्छ ? उनीहरू पानीको खोजीमा निस्किन्छन् । 

तर के पानी खोज्ने यात्रा सजिलो छ ?

नेपालको तराइमा पहिला पहिला केही मिटर खन्दैमा पानी आउँथ्यो रे । अहिले दुई अङ्कदेखि तीन अङ्कसम्म खन्नुपर्ने अवस्था आउन लागिसक्यो । चुरेलाई दिनानुदिन कोट्याउने काम भइरहेको छ । स्रोत चलाउँदा भोलीको पुस्तालाई पनि चाहिन्छ भन्ने सोच लगभग शून्य छ । 

पानी खोज्न पहिलाजस्तो सजिलो कहाँ छ ? भोलीको दिनमा अझै गाह्रो हुँदै जाने छ । 

उनीहरू उँट डोर्‍याउँदै मरुभूमिको बाटो पानीको खोजीमा निस्किरहन्छन् । पानीको नयाँ स्रोत पत्ता लगाउन नसके उनीहरूको जीवन चल्ने छैन । उनीहरू एक परिवार भएर आउने हरेक कठिनाइहरूसँग लड्नुपर्ने छ । सँगै भएर लड्न सकिएन भने सङ्कट सजिलोगरि कट्दैन । 

भोली हाम्रो देशमा पनि यसरी नै पानी खोज्दै हिँड्नुपर्‍यो भने ? अनि उनीहरू एकै भएर लडेको विपरीत एक अर्कासँग लड्नुपर्‍यो भने ।

यसरी हेर्दा त यो फिल्म अफ्रिकाको खडेरीको कथा मात्र हैन । त्यहाँको मरुभूमिको कथा मात्र पनि हैन । जलस्रोतको धनी देश भनेर गौरव गरिरहँदा बेलामा पानी नपरेर धाँजा फुटेका खेतहरू हामीले हेरेका छौँ । अनि अव्यवस्थित निकासी अनि मूल काट्ने विकासको मारमा धेर ठाउँ सुख्खा हुँदै गरेको पनि हामीले हेरेका छौँ। 

कुनै ठाउँ हराभराबाट सुख्खा हुन समय लाग्दैन । सुख्खाबाट मरुभूमि हुन पनि समय लाग्दैन । 

यस्तो लाग्छ खडेरीको कारण पानीको तिर्खा भोगेका एक अफ्रिकी परिवारको यात्रा देखाउँदा देखाउँदै यो फिल्मले हामीलाई हाम्रो सम्भावित विगत कस्तो हुनसक्छ भनी झस्काइदिन्छ । 

उनीहरूलाई पानीकै कारण धेरै झमेलाहरूले सताउँछ । सङ्कट चलेको बेला त्यही सङ्कटसँग खेल्ने मान्छेहरू हुन्छन् । जब कुनै ठाउँमा केही कुराको अभाव हुन्छ त्यहाँ त्यो कुरा पाउने विषयमा द्वन्द्व हुन्छ । अक्सर संसारका धेरै गृहयुद्धहरू गरिबीको कारण भएका छन् । आर्थिक असमानताको कारण भएका छन् । जातीय दुरीका कारण भएका छन् । यो फिल्ममा उनीहरूले भोग्ने सङ्कटमा पनि ती सबै कुराको छनक पाइन्छ । 

तर फेरी पनि यी सबै कुरा भन्दै गर्दा फिल्ममा सबैभन्दा ठुलो कुरा छ । त्यो हो परिवारको शक्ति । बुबा आफ्ना सन्तानको लागि जे पनि गर्छन् । आमा आफ्नो श्रीमानलाई जुनसुकै हदसम्म पुगेर साथ दिन्छिन् । तातो हावा चलिरहन्छ तर उनीहरू आफ्नो आँत सुक्न दिँदैनन् । सासले खेलाँची गरिरहन्छ तर उनीहरू सासलाई पनि थाक्न दिँदैनन् । 

घरि परपरसम्म देखिने ल्याण्डस्केपहरूको वाइड सट । घरि आँखा नै पढ्न सकिने क्लोज सट । घरि खडेरीलाई परबाट । घरि खडेरीलाई नजिकैबाट । जसरी हुन्छ फिल्मले खडेरीको असरलाई देखाइरहन्छ । अनि सम्झाइरहन्छ ‘यो खडेरी आज हामीलाई परेको छ, भोली तिमीहरूलाई पनि पर्न सक्छ ।’

मारियोन हन्सल निर्देशित यो ‘साउण्डस् अफ स्याण्ड’ तपाईँलाई पनि मनपर्न सक्छ । हामीले यहाँ यसको ट्रेलर राखिदिएका छौँ । फिल्म कसरी हेर्ने खोज्ने काम तपाईँको है त । 

यो परिवारले पानी खोजेजसरी तपाईँ पनि यो फिल्म खोजेर देखाउनु है त । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *