‘अन्तर्राष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने
२०८० जेठ ३१ गते

काठमाडौँ । साउदी अरबको पवित्र सहर मक्कामा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कुरान वाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने भएको छ । बुधवार (आज) मुस्लिम आयोगले सो प्रतियोगितामा नेपालबाट पनि प्रतिनिधित्व हुने जानकारी गराएको हो ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयले आयोगलाई पठाएको पत्रमा सो कुरा उल्लेख गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । परराष्ट्र मन्त्रालयले सो प्रतियोगितामा सहभागी हुने एक जना छनौटको कामको संयोजन गर्ने जिम्मेवारी पनि सोही आयोगलाई दिएको छ ।
आयोगले नेपाल सरकारमा रजिष्ट्रर भएका मदरसाबाट आवेदन आह्वान गरेको थियो । त्यसमा १२ जनाले आवेदन गरेको र उनीहरूमध्येबाट उत्कृष्ट एक जनाको छनौट गरी सो प्रतियोगितामा सहभागी गराउन लागिएको पनि आयोगका अध्यक्ष अन्सारीले बताए ।
उनले भने, ‘हाम्रो परराष्ट्र मन्त्रालयबाट आएको पत्र अनुसार साउदी अरबको पवित्र सहर मक्कामा २५ अगस्टदेखि ६ सेप्टेम्बरसम्म अन्तराष्ट्रिय कुरान कम्पिटीशनमा नेपालको तर्फबाट पनि एक जना सहभागी गराउनुपर्ने भनेर साउदी एम्बेसीबाट परराष्ट्र मन्त्रालयमा आयो । सो जानकारी हामीलाई गराएको छ । त्यही बमोजिम हामीले चाहिँ एक हप्ता अघि नै सूचना निकालेर यसमा सहभागी हुने इच्छुक चाहिँ स्टुडेन्टलाई आ–आफ्नो मदरसाबाट छनौट गरेर चाहिँ आज आयोगमा २०८० साल ज्येष्ठ ३१ गते छनौटका लागि हामीले आह्वान गरेका थियौँ । त्यही हिसाबले टोटल १२ जना विद्यार्थीहरू यसमा सहभागी हुनु भएको छ । जुन चाहिँ ५ वटा क्याटोगरी यसमा दिएको छ साउदी सरकारको तर्फबाट । त्यसमा हामीले तेस्रो क्याटोगरीलाई चुज ग¥यौं । र, त्यो क्याटोगरीमा चाहिँ आज कम्पिटीशन हुन्छ । र, यो १२ जना मध्ये चाहिँ कम्पिटीशनमा एक जनालाई हामी छनौट गर्छौ । र, त्यो एक जना चाहिँ साउदी सरकारकै खर्चमा साउदीमा अन्तराष्ट्रिय कुरान कम्पिटीशनमा उहाँहरू जानुहुन्छ । र, यसको जुन क्याटोगरी छ । त्यसमा फष्ट हुनेलाई २ लाख रियाल पुरस्कार पनि छ । र, यसमा विश्वभरीबाट नै सहभागी हुने हो यो कम्पिटीशनमा ।’
सो अन्तर्राष्ट्रिय प्रतियोगिता अगस्ट २५ देखि सेप्टेम्बर ६ अर्थात् नेपाली समय आगामी भदौ ८ गतेदेखि २० गतेसम्म हुनेछ । प्रतियोगितामा विश्वका विभिन्न देशहरूबाट एक/एक जना प्रतियोगी सहभागी हुनेछन् । त्यसमध्येबाट प्रथम हुनेलाई २ लाख रियाल नगदसहितको पुरस्कार दिइने पनि आयोगले जनाएको छ ।
२०८० जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








