पूर्वबाट नेपाल प्रवेश गर्दै मनसुनी वायु, ‘नर्थ इन्डिया’ आइपुग्यो

काठमाडौँ । अब बिस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएकाले उखरमाउलो गर्मी बिस्तारै घट्ने भएको हो ।
मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । ‘त्यसैले तराईका भू-भागहरूको अधिकतम तापक्रम नबढ्ने देखिन्छ,’ उनले मकालुखबरसँग भने, ‘कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भाग वर्षाको सम्भावना छ ।’
मनसुनी वायु पनि भारतको केरला हुँदै उत्तरतर्फ आइरहेको उनले बताए । ‘मनसुनी वायु अहिले केरला हुँदै नर्थ इन्डिया प्रवेश गरिरहेको छ,’ मौसमविद् लामिछानेले भने, अब केही दिनमा पुग्छ । नेपालको पूर्वी भागबाट प्रवेश गर्ने वायुले वर्षा गराउनेछ । त्यसको केही प्रभाव देखिन थालिएको छ ।’
मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो । सामान्यतया भारतको केरलामा जुन १ मा मनसुनी वायु देखापर्दा नेपालमा जुन १३ मा मनसुनी वायु भित्रने गर्थ्यो । मनसुन वायु नेपाल कति चाँडै आउँछ भन्ने कुरा वायुको वेगसँग पनि निर्भर रहने उनको भनाइ छ । गतवर्ष नेपालमा जुन ५ मा मनसुनी वायु प्रवेश गरिसकेको थियो ।








