बामदेव गौतम एमालेमा फर्कन तयार

काठमाडौँ । राष्ट्रियसभाका सदस्य एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतम नेकपा (एमाले)मा प्रवेश गर्न तयार भएका छन् । पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने निर्णय पार्टीले गरे लगत्तै उनले बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मी माझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिएका हुन् । तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने एमालेका उपाध्यक्ष समेत रहिसकेका गौतमको सर्त छ ।

‘विगतमा मलाई रोक्नकै उक्त उमेर हलको व्यवस्था ल्याइएको थियो,’ उनले भने, ‘एमाले मैले निर्माण गरेको पार्टी हो । त्यसको माया लाग्छ ।’

आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको उनले बताए । केही दिनभित्र पार्टी सदस्यता नविकरण गर्ने समेत उनले बताए । गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताए ।

उनले भने, ‘यदि उहाँहरुले मलाई खबर गर्नु भयो । तपाई आउनु पर्यो भन्नु भयो भने म र मसित रहेका जेजति साथीहरु छन् । त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौैं । यही अवस्थामा जान्छौं । अरु केही पर्दैन अब । उहाँहरुले मलाई नै रोक्नका निम्ति त्यो उमेर हद ल्याउनु भएको हो । मैले त्यसबेला के भनेको थिएँ भने ७० वर्ष यहाँ भएका सबै पुग्नु हुन्छ एक दिन । एउटा ७० वर्ष पुग्नुअघि अध्यक्ष भईहाल्यो भने अरु बाँकि रहेका पनि ७० वर्ष पुगिहाल्छ । उनीहरु त आउट हुनैपर्छ । त्यसो भएर ७० वर्ष सबैको निम्ति आउँछ । मेरो निम्ति मात्रै आउन लागेको होइन । राख्नु हुन्छ भने राख्नुस भन्ने मेरो त्यो प्रतिक्रिया थियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *