सुनकोसीमा खसेको सरकारी गाडी र २ वटा शव भेटियो

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोसी नदीमा खसेको गाडी पाँचौं दिन फेला परेको छ । गाडीसँगै २ वटा शव पनि भेटिएको छ ।

गोताखोरले फेला पारेको गाडी स्काभेटरको सहयोगमा नदीबाहिर निकालिएको हो।  सीटीईभीटीका प्रशासन महाशाखा निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको शव फेला परेको हो।

योजना महाशाखा निर्देशक प्रेमप्रसाद भुर्तेल भने अझै बेपत्ता छन्। उनको खोजि भइरहेको छ।

सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बी एबी ७४६७ नम्बरको स्कोर्पियो गाडी शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

त्यो गाडी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको इन्स्पेक्टर सुवास थापाको कमान्डमा रहेको गोताखोर सहितको टोलीले खोजिरहेको थियो ।

तर फेला पार्न नसकेपछि सुनकोशीको पानीको भँगालोलाई नै अर्कोतिर पठाएर खोजी गरिएको थियो । त्यसपछि गाडीसँगै २ वटा शव फेला परेको जानकारी आएको सशस्त्र प्रहरीका डीएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको जीपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार गाडी सुनकोशीमा खसेको थियो ।

चालक कृष्ण चौधरी भने घाइते अवस्थामा पौडिएर निस्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *