आर्थिक संकट समाधानका लागि वृहत गोलमेच सम्मेलन गरौँ : सांसद भट्टराई

काठमाडाैँ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि वृहत गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीलाई आग्रह गर्नुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले देश चरम आर्थिक संकटमा रहेको भन्दै संकट समाधानका लागि वृहत गोलमेच सम्मेलन गर्नुपर्ने बताए । उनले राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र, विकासका साझेदार अन्तर्राष्ट्रिय समुदाय लगायतको सहभागितामा गोलमेच सम्मेलन गरी निकासको बाटो खोज्नुपर्ने बताए । उनले गोलमेच सम्मेलनबाट देशको आर्थिक अवस्थाको सन्दर्भमा साझा धारणा बनाउनुपर्ने बताए ।

उनले भने, ‘धेरै देशहरुले जब आर्थिक संकटको अवस्था आउँछ, त्यतिबेला धेरै देशहरुले बृहत आर्थिक सम्मेलन, गोलमेच सम्मेलन गर्ने गरेका छन् । सबै राजनीतिक दल, निति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजि क्षेत्र, हाम्रा विकासका साझेदार अन्तर्राष्ट्रिय समुदाय, लगायत सबै सबैको सहभागितामा एउटा बृहत गोलमेच सम्मेलन गरौँ ।’

सांसद भट्टराईले राष्ट्रपति, प्रधानमन्त्रीदेखि राज्यका उच्चपदस्थ कर्मचारीहरुको २५ प्रतिशतले तलव, भत्ता कटौति गर्ने प्रस्ताव पनि गरे । उनले भने, ‘म प्रस्ताव गर्न चाहन्छु राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेश सभा, उपसचिवभन्दा माथिका कर्मचारीहरु, राजनीतिक नियुक्तिमा भएका मानिसहरु ति सबैको आउँदो वर्ष २५ प्रतिशतले तलव, भत्ता कटौति गर्ने घोषणा गर्नुस् । हामी प्रतिपक्षको हिसावले तपाईलाई समर्थन गर्छौं । त्यसबाट आउने पैसा एउटा कुनै राष्ट्रिय गौरवका आयोजनामा हामी खर्च गर्छौ भन्नुस् । खर्च कटौति यसरी हुन्छ ।’

सरकारले ल्याउको आगामी आर्थिक वर्षको बजेटले कुनै गन्तव्यहरुलाई निश्चित नगरेको उनको भनाइ छ । बजेटले आजका चरम आर्थिक संकटहरुलाई अनुभुति समेत नगरेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *