प्रचण्डकाे प्रष्टिकरण : भारतसँग नेपाली भूभाग कालापानी साट्ने प्रस्ताव गरिएको छैन

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानी साट्ने प्रस्ताव भारतीय पक्षसँग नराखेको बताए ।

एमालेसहितका विपक्ष दलहरुले सो भूमि साट्न सकिने अभिव्यक्ति दिएको भन्दै संसद बैठक अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो स्पष्टिकरण आएको हो । उनले पहिलो पटक आफूले सो भूमि नेपालको हो भनेर स्थापित गराउन पहलकदमी लिएको दावी समेत गरे । सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चार दिने औंपचारिक भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री दाहालले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कालापानी, लिपुलेक, लिम्पियाधुरासहित सीमा समस्या समाधान गर्नैपर्ने कुरा प्रष्टसँग राखेको र त्यो समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीले पनि पहिलो पटक संयुक्त प्रेसमिटमा स्पष्टसँग राखेको बताए । उनले आफूले सिधा र प्रष्ट ढंगले राखेको सो कुरालाई जनतामा भ्रम फैल्याउने गरी प्रचार गरेकोमा आफूलाई पीडाबोध भएको पनि बताए । प्रधानमन्त्री दाहालले आफूले राष्ट्रिय हितको प्रवद्र्धनका लागि भारतसँग गरेको कुरालाई राम्रो भन्न सक्ने आँट गर्न पनि विपक्ष दलहरुलाई पटकपटक आग्रह गरे ।

प्रधानमन्त्री दाहालले एमाले निकट केही बुद्धिजीविहरुले नै बरु सीमा समस्या समाधानका लागि बंगलादेश मोडल उपयुक्त हुने भनेर प्रस्ताव गरेको कुरालाई आफूले स्मरण गराउने काम मात्रै गरेको जिकीर समेत गरे । उनले आफ्नो भारत भ्रमणमा भएको उपलब्धिलाई केही होइन भन्ने ढंगले हल्ला गरियो भने प्राप्त हुने उपलब्धि पनि गुम्नेतर्फ विपक्ष दलहरुलाई सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *