मर्यादित महिनावारी सद्भावनादूत बनिन् चर्चित गायिका रेखा जोशी 

काठमाडौँ । चर्चित देउडा गायिका रेखा जोशी मर्यादित महिनावारी सद्भावनादूतमा नियुक्त भएकी छन् । उनलाई साझा मञ्च राष्ट्रिय महिनावारी सञ्जाल (एमएचएम पीए)ले राष्ट्रिय मर्यादित महिनावारी सद्भावनादूतको रूपमा नियुक्त गरेको हो ।

देशभरका विभिन्न ठाउँमा छाउपडी प्रथा हटाउन गायिका जोशीले सचेतनामूलक कार्य गर्दै आएकी छन् । अब सद्भावनादूतमा नियुक्त भइसकेपछि महिनावारी व्यवस्थापनका लागि उनले छाउपडीविरुद्ध सांगीतिकमाध्यमबाट जनचेतना जागरण गर्न अभियान चलाउने छिन्  । साथै विभिन्न भिडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम, अन्तर्वार्ता, जनचेतनामूलक सामग्री (पिएसए) लगायतका कार्यक्रम सञ्चालन गर्नेछिन् ।

महिनावारी स्वास्थ्य र स्वच्छता व्यवस्थापनमा संयुक्त राष्ट्रसंघका निकायहरू, अमेरिकन, बेलायती, जर्मनी, फिनल्याण्डका दूतावासहरू समेत गरी ३० ओटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा ४० भन्दा बढी राष्ट्रिय गैर सरकारी संस्थाहरू यसमा आबद्ध छन् । गायिका जोशीलाई महिनावारी स्वास्थ्य र स्वच्छता व्यवस्थापन सम्बन्धी काम गरिरहेका देशभर रहेका एक सयभन्दा बढी साझेदार संस्थाहरूको साझा मञ्च (एमएचएम पीए)ले मर्यादित महिनावारी व्यवस्थापनको राष्ट्रिय सद्भावना दूतको जिम्मेवारी दिएको हो ।

कलाकारिता क्षेत्रमा उनको लोकप्रियताका कारण पनि स्थानीय स्तरमा रहेका लक्षित वर्गलाई छाउपडी प्रथाका गलत अभ्यासको बारेमा सचेतनामूलक सन्देश दिन सकिने विश्वास लिएको छ । रेखा आफ्नो सुरिलो स्वरमार्फत दर्जनौँ लोक तथा देउडा गीत गाएर श्रोताको मन जित्न सफल छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *