मकालुखबर अनुवाद

१८ वर्षका टम ह्याङ्सले ओस्कार विजेता निर्देशकलाई लेखेको रमाइलो चिठी

टम ह्याङ्सलाई कसले चिन्दैन ? उनी हलिउडका प्रभावशाली अभिनेतामा पर्छन् । उनका ‘कास्ट अवे’, ‘सेभिङ प्राइभेट रायन’, ‘फरेस्ट गम्प’, ‘क्याच मि इफ यु क्यान’, ‘द टर्मिनल’, ‘द पोस्ट’ जस्ता सिनेमाहरू चर्चित छन् । फिल्ममा निभाउने भूमिकाका अतिरिक्त बेलाबेला दिने अन्तर्वार्ताहरूमा पनि उनी उत्तिकै शक्तिशाली सुनिन्छन् । 

‘फिलाडेल्फिया’ र ‘फरेस्ट गम्प’ फिल्मबाट उत्कृष्ट अभिनेताको ओस्कार जित्नुभन्दा निक्कै पहिलाको कुरा । त्यति बेला उनी १८ वर्षका थिए । हाई स्कुलमा पढ्दै थिए । अभिनयको भूत उनलाई चढिसकेको थियो । आफूलाई अभिनयमा डेब्यु गराइदिने कोही मान्छे खोज्दै थिए । 

त्यसै क्रममा उनको नजर पर्‍यो ओस्कार जितिसकेका निर्देशक जर्ज रोय हिलकोमा । उनीसँग पुग्ने उपाय थिएन । उनले सोचे ‘बुढालाई चिठी लेख्छु ।’

उनले चिठी लेखे । पठाए । चिठीमा उनको फिल्म ‘द स्टिङ’ को प्रशंसा थियाे ।अनि ‘तपाईँले मेरो प्रतिभा चिन्नुपर्छ’ भन्ने आशय समेत स्पष्ट थियाे । तर सन् २०१५ मा उनले लेखेको चिठी मोसन पिक्चर एकेडेमीको एउटा लाइब्रेरीमा भेटियो । 

पढ्नुहोस् मकालुखबरको अनुवादमा हलिउड रिपोर्टरबाट साभार गरिएको उनको चिठी । 

आदरणीय हिल सर,

मैले भर्खरै पल न्युम्यान र रोबर्ट रेडफोर्ड अभिनित तपाईँको “द स्टिङ” फिल्म हेरेँ । बबाल मनोरञ्जनात्मक अनि धेरै अवार्ड जितिसकेको त्यसलाई हेर्दै गर्दा मलाई ‘तपाईँले मेरो प्रतिभा चिन्नुपर्छ’ जस्तो लाग्यो । त्यसो भयो भने एकदमै गज्जब हुन्छ ।

‘यो फुच्चे को हो ?’ यस्तै सोच्नुभयो होला । तपाईँले त्यस्तो सोच्नु स्वाभाविकै हो । 

म खासमा कोही पनि हैन । स्काइलाइन हाइस्कुलभन्दा बाहिर मलाई कसैले चिनेको पनि छैन । म हेर्दा उत्पात आकर्षक पनि देखिन्न । न त म ग्रीक भगवान् जस्तो नै छु । म त जुँगा राख्न पनि पाउँदिन । तर मैले मान्छेहरू विशेष खाले फिल्म हेर्न मनपराउँछन् भन्ने थाहा पाएको छु । र मलाई विश्वास छ, उनीहरू मेरो फिल्म हेर्न पैसा तिर्नेछन् ।   

अब तपाईँ र म मिलेर मेरो प्रतिभालाई चिन्ने कामको बारेमा थप योजना बनाऊँ । तपाईँले मलाई महान् अभिनेत्री लाना टर्नरलाई जसरी कसैले चिनेको थियो, त्यसरी नै चिन्न सक्नुहुन्छ । म कुनै ड्रिंक्स पाउने दोकानको टुलमा बसिरहन्छु । तपाईँ आउनु । ममाथि यस्सो नजर लगाउनु । अनि त के चाहियो, म ठाउँको ठाउँ स्टार बनिहाल्छु । 

हामी यसलाई अर्को तरिकाले पनि गर्न सक्छौँ । म एक दिन तपाईँको अफिसमा आइपुग्छु । अनि जागिर जसरी पनि दिनु भनेर भिख माग्छु । मबाट छुटकारा पाउनको लागि भए पनि तपाईँले मलाई आफ्नो आगामी फिल्ममा अभर पर्दा काम दिने गरी भूमिकामा राख्नू । फिल्मको सुटिङका ​​क्रममा स्टारले ड्रेसिङ रुमतिर जाँदै गर्दा खुट्टा भाँचुन् । अनि सोचेको समयभन्दा धेरै ढिलो भइसकेको कारणले तपाईँ मलाई उनको ठाउँमा खेलाउनू । अनि त के चाहियो, म ठाउँको ठाउँ स्टार । 

यी दुई योजनामा तपाईँले जुनसुकै छाने पनि हुन्छ । अथवा तपाईँलाई जस्तो मन लाग्छ, त्यस्तै गर्न पनि म तयार छु । मलाई त केही फरक पर्दैन । तर एउटा कुरा चाहिँ सिधै भन्छु । म केही समय चल्ने अनि वरिपरि केटी नै केटी घुमिराख्ने हलिउड सुपरस्टार जस्तो हुन चाहन्न । म त केवल एक रैथाने अमेरिकन केटो बन्न चाहन्छु, जसको समय बब्बाल चलिरहेको होस् । एउटा भव्य गाडी होस् । अनि रोबर्ट रेडफोर्ड जत्तिको अभिनेतालाई ‘बब’ भनेर बोलाउन पाओस् ।  

तपाईँलाई अत्यन्तै सम्मान गर्ने 

टम ह्याङ्स

Cover photo: Sourced from The Things

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *