मुभी लभर्स

इथियोपियाकी वकिलले लडेको ‘बलात्कारविरुद्धको मुद्दा’ भन्ने सिनेमा

मुभी लभर्सको साप्ताहिक सिनेमा सुझाव

‘सिर्फ एक बन्दा काफी है फिल्मको चर्चा भइरहँदा मैले ‘डिफ्रेट’ फिल्मकी मुख्य पात्र ‘हिरुत’लाई याद गरिरहेको छु । यो  फिल्म मैले कोभिडको पहिलो लकडाउनताका हेरेको हुँ । यसले एक नाबालिग र वकिलको उतारचढावपूर्ण जीवनलाई देखाएको छ ।’

मुभी लभर्समा नियमित लेख्ने भीष्म जोशी ‘डिफ्रेट’लाई यसरी सम्झिन्छन् । सँगै थप्छन् ‘इथियोपियामा एउटा परम्परागत कुप्रथा छ । त्यहाँ पितृसत्तात्मक समाजका पुरुषले आफूलाई मन परेको ना(बालिका)लाई अपहरण गरेर विवाह गर्न पाउँछन् । यो फिल्ममा पनि स्कुलबाट घर फर्किरहेकी १४ वर्षीय नाबालिगलाई राइफलधारी एक समूहले अपहरण गर्छ ।’

‘बिहे गर्ला त ?’

‘अहँ गर्दैन । वा भनौँ सक्दैन ।’

‘बरु बिहे गर्ने आश्वासनमा गोठमा थुनेर बलात्कार गर्छ । अन्ततः साहसिक नाबालिगले आत्मरक्षाको लागि उसलाई नै गोली ठोकेर भाग्छिन् ।’ 

‘अब के होला ?’

‘जे पनि हुन सक्छ । चुपचाप ढुक्कसँग फिल्म हेर्नुहोस् । यो एक विशुद्ध कोर्ट रुम सिनेमा हो ।’

भीष्मले हेर्न सुझाएको यो फिल्म अन्तर्राष्ट्रिय रूपमा पनि ख्यातिप्राप्त छ । यसले सन् २०१४ को सन्डान्स फिल्म फेस्टिभलमा वर्ल्ड सिनेमाटिक ड्रमाटिक अडियन्स अवार्ड तथा बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा पानारोमा अडियन्स अवार्ड जितेको थियो । जेरेसिने बर्हाने मेहारी ले निर्देशित यस फिल्मको कार्यकारी निर्माता हलिउडकी चर्चित अभिनेत्री तथा निर्देशक एन्जेलिना जोली हुन् ।

सत्य घटनामा आधारित यो फिल्मले बालिकाको कथामार्फत इथियोपियाको धेरै सामाजिक संरचनाहरूलाई पनि खोतल्छ । एकातिर बालिकालाई जबरजस्ती गर्न पाउने आफ्नो परम्परा भएको भन्नेहरू उभिन्छन् भने अर्कोतिर त्यो कुरा गैर कानुनी हो भनेर वकालत गर्ने महिला वकिलहरू । एकातिर बालिकाले आत्मरक्षाको लागि हतियार उठाएको कुरा छ भने अर्कोतिर त्यसलाई अदालतले नपत्याउने सङ्कट । फिल्ममा एक व्यक्ति भन्छन् ‘महिलालाई आत्मरक्षाको लागि गरेको भनेर कुनै पनि मुद्दा जिताइएको छैन ।’ 

यो केवल एउटा घटनाको बारेमा बनाइएको फिल्म मात्र हैन । यो त्यो घटनाको वरिपरि जेलिएका अनेकौँ सामाजिक सांस्कृतिक उल्झनहरूको वर्णन पनि हो । यसमा हाम्रो नेपाली समाज पनि भेटिन्छ ।

समय मिले हेर्नुहोस् है । 

फिल्मको ट्रेलर: https://www.youtube.com/watch?v=C2pO_uX4O5Y&ab_channel=FilmsBoutique 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *