नेत्रहीनहरूका लागि लचिलो सीप परीक्षण विधि अपनाउँदै सरकार 

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेत्रहीनहरूका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित दृष्टिविहीनहरुको लागि व्यावसायिक सीप विकास र प्रवर्द्धन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् ।

उनले सिटिभिटीसँग सहकार्य गरी सरकारले नेत्रविहीनका लागि लचिलो सीप परीक्षण विधि अपनाउन सक्ने नेत्रहीनहरुले पनि सहजै रोजगारी पाउने अवस्था सिर्जना हुनसक्ने बताए । नेत्रहीनहरूका लागि कस्ता सीप दिने भन्नेबारेमा विस्तृत छलफल गर्न आवश्यक देखिएको उनको भनाई छ ।

उनले भने, ‘सिटिभिटीले सीप परीक्षण गर्छ । सीप परीक्षण गर्ने क्रममा उहाँहरूलाई अलि सहजीकरण गर्नुपर्ने हो की ? अलि लचिलो बनाउनुपर्ने हो की ? नीति प्रक्रियामा । सीप परीक्षणमा अरूलाई भन्दा फरक किसिमबाट गर्नुपर्छ । त्यसै अनुसार उहाँहरूले रोजगारीको बजार पाउने व्यवस्था गर्नुपर्छ । लचिलो सीप परीक्षण विधि अपनाउनलाई सिटिभिटीमा हामीले सहकार्य गर्नसक्छौँ । सीपको लागि कस्ता सीपहरू दिनुपर्छ, कस्ता स्किल्स दिनुपर्छ भन्नेमा छलफल हुनुपर्छ ।’

कार्यक्रममा नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बूले व्यावसायिक सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरूमा दृष्टिविहीनहरुलाई नसमेटिएको बताए । उनले सीप बिना जीवन चलाउन नसकिने भएकाले नेत्रहीनहरुलाई पनि सरकारले सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरूमा समेट्नैपर्ने जरुरी रहेको बताए । उनले व्यावसायिक सीप विकासको प्रवर्द्धनमा लाग्नुपर्छ सबै लाग्नुपर्ने बताए । दृष्टिबिहीनहरुले गरिरहेका कामहरूको सरकारी निकायबाट प्रमाणित गर्ने काम नभएकोप्रति उनको गुनासो छ ।

उनले भने, ‘अहिले जुन व्यावसायिक सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरूमा दृष्टिविहीनहरुको सवालमा त्यति साह्रो समेटिएको पाइएन । तर त्यसमा समेटिनुपर्छ । किनभने सीप बिना जीवन गुजारा हुँदैन । सीप भएपछि धेरै अवसर हुन्छन् भनेर पहल गरेका हौँ, यो पहल गरेको धेरै वर्ष भयो, अहिले शिक्षा मन्त्रालयले उद्योग सीप विकासको रणनीति बनाएको छ, त्यसमा दृष्टिबिहीनहरुलाई समेट्ने काम भएको छ । यो कार्यक्रम शिक्षा मन्त्रालयको र नेत्रहीन संघ लगायतको संयुक्त पहलमा आयोजना गरिएको हो । सीप विकासको पहिचानका लागि कार्यक्रम गरेको हो । हामी सबै मिलेर व्यावसायिक सीप विकासको प्रवर्द्धनमा लाग्नुपर्छ । दृष्टिविहीनहरुले गरिरहनुभएका कामको सर्टिफाइ गर्ने काम भएको छैन ।’

कार्यक्रममा अन्य वक्ताहरूले सीप विकाससँग सम्बन्धित काममा तीन तहका सरकारबीचको समन्वय, संघीय मन्त्रालय र निकायबीचको समन्वयका साथै सीप विकासको पाठ्यक्रम र सीप परीक्षणलाई कसरी प्रभावकारी बनाउने ? भन्ने विषयमा ध्यान दिन जरुरी रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *