दिलिप रानाभाटको निर्देशनमा तीन युवतीको कथा ‘त्रयम्’ मञ्चन हुँदै

कलाकार तथा निर्देशक दिलिप रानाभाटको निर्देशनमा ‘त्रयम्’ नाटक मञ्चन हुने भएको छ । टेकुस्थित कौशी थिएटरमा आगामी जेठ १२ देखि २८ गतेसम्म उक्त नाटक हुने भएको हो । थिएटर भिलेजसँग विगत १० वर्षदेखि आबद्ध रहँदै रंगकर्म गरिरहेका रानाभाटको थिएटर भिलेजकै प्रस्तुति रहेको नाटकको लेखन दिलिप स्वयंले गरेका हुन् । 

निर्माण टिमका अनुसार त्रयम् काठमाण्डौको एउटा घरको एउटै फ्ल्याटमा संयोगले भाडामा बस्न पुगेका तीन युवतीको एक दिनको कथा हो । उनीहरू एक अर्कामा फरक छन् । सबैको बानी अर्कै अर्कै छ । सँगै बस्नुपर्ने बाध्यताबाहेक उनीहरूसँग नजिक हुनलाई धेरै कुरा छैनन् ।

आफ्नो स्पेशलाई आफूले चाहेको अनुसार बचाउन उनीहरू तल्लीन छन् । उनीहरू आफ्नो मात्र ख्याल गर्ने स्वार्थी छन् । तर त्यो बिचमा एक दिन केही हुन्छ जसले उनीहरूको एक अर्काप्रतिको बुझाइलाई भत्काइदिन्छ । उनीहरू आफैँले आफूअगाडि लगाएको पर्खाल ढलाइदिन्छ ।

अनि महिलाहरूले लामो समयदेखि भोगिरहेको यथार्थलाई सतहमा ल्याइदिन्छ । निर्देशक दिलीपका अनुसार ‘तीन युवतीको एक दिनको कथा भने पनि यो नाटकले महिलाहरूले भोगेको वर्षौँदेखिको कथा सुनाउँछ ।’

नाटकको मुख्य भूमिका सङ्गीता थापा, रक्षा थापा बस्नेत र पूर्णिमा आचार्यले निभाएका छन् । संगीता चर्चित गजलकार पनि हुन् भने रक्षाले अभिनय गरेको फिल्म ‘बाटो’ प्रदर्शन हुने क्रममा छ । यसका अलावा नाटकमा न्याथन रायनलाई पनि देख्न सकिन्छ । न्याथन भर्खरै सम्पन्न भएको पोयट आइडलका फाइनलिस्ट हुन् । 

दिलिपले यसअघि ‘सिंहदरबारको टेन्डर’ ‘गुम्फन’, ‘झिमिक झिमिक झ्याप्प’ जस्ता नाटक निर्देशन गरिसकेका छन् । यस्तै उनीसँग ‘सान्दाजुको महाभारत’, ‘दाँतको डोब’, ‘मकैको अर्कै खेती’, ‘ह्याम्लेट’, ‘मालिनी’, ‘पल्पसा क्याफे’ जस्ता नाटकको सहनिर्देशन गरेको पनि अनुभव छ । डेनमार्क, स्विडेन, लण्डन, जर्मनी, बेल्जियम, पाकिस्तान तथा भारतका प्रतिष्ठित नाटक महोत्सवहरूमा सहभागी भैसकेका उनी चलचित्र लेखन र निर्देशनमा पनि सक्रिय छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *