‘डाकिनी’ को विशेष स्कृनिङ सँगै नोर्बुको मास्टरक्लास सम्पन्न

मुभी लभर्स समूहको आयोजनामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बौद्ध धर्मगुरु, निर्देशक र लेखक गुरु जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु) निर्देशित ‘डाकिनी’ को विशेष स्कृनिङ शनिवार सम्पन्न भएको छ । काठमाडौँको सिटिसी हलमा भएको उक्त विशेष स्कृनिङसँगै उनको ‘ब्युटी इज अ ट्र्याप’ शीर्षकमा मास्टरक्लास पनि राखिएको थियो । फिल्मको पब्लिक रिलिज भने गत शुक्रबारदेखि नै काठमाडौँ भित्रका सीमित हलहरूमा भएको थियो । फिल्मलाई नेपालको प्रोडक्सन कम्पनी षड्कोण आर्ट्सले निर्माण गरेको हो ।

आफ्नो मास्टर क्लासमा रिम्पोछेले आफूले फिल्म निर्माण गर्न थाल्दाको कथादेखि समग्र फिल्मले वर्तमान समयमा महसुस गरिरहेका धेरै पक्षहरूलाई केलाएका थिए । आफू बुद्धिस्ट फिलोसफी र अभ्याससँग भिजेर हुर्किएकाले आफ्नो फिल्ममा त्यसको प्रभाव आउने गरेको स्वीकारेका थिए । उनको विशेष जोड युनिभर्सल थिममा बनाउने नाममा फिल्महरूलाई हलिउड वा बलिउडकरण गर्नुहुँदैन भन्ने कुरामा थियो । सँगै उनले सुन्दरताको मानकलाई पनि प्रश्न गरेका थिए । सुन्दर सट लिने नाममा फिल्मकर्मीहरूले फिल्मको मर्मलाई नबुझिरहेका हुन सक्छन् भन्ने शङ्का पनि व्यक्त गरेका थिए ।

उनले व्यवसायीक फिल्मलाई स्टारबस्ट कफीको ब्राण्डिङ र वितरणसँग अनि भने अफबिट फिल्मलाई ‘भियतनामको अण्डा कफी’ सँग तुलना गरेका थिए । संसारमा जता पनि उस्तै पाइने पहिलोको गुण सम्झिँदै भने ‘स्टारबस्समा तपाईँले सुरक्षित कफी पाउन सक्नुहुन्छ । तर भियनामिजक कफी भियतनामिज तरिकाले बन्छ । त्यसको पहिलो सुरूप धेरै तितो हुन्छ तर बिस्तारै मिठो हुन्छ ।’ 

हरेक दुई महिनामा विशेष फिल्महरूको स्कृनिङ गर्ने गरेको मुभी लभर्सले यही फिल्मको लागि भनेर आफ्नो समय फेरबदल गरेको हो । यसकै आयोजनामा गत वैशाख २४ गते विक्रम सापकोटा निर्देशित ‘हल्कारा’ को विशेष प्रिमियर भएको थियो । यसभन्दा पहिला मुभी लभर्सले सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’को विशेष प्रिमियर सफल भएको थियो ।

केही  केही सिनेमा मन पराउने साथीहरूले सुरु गरेको फेसबुक समुदायमा हाल लगभग सात हजार सिनेमा प्रेमीहरू जोडिइसकेका छन् । नेपाली सिनेमा क्षेत्रलाई दर्शकको आँखाबाट प्रवर्धन गर्ने उद्देश्य यो समुदायले लिएको छ । 

‘डाकिनी’ को स्क्रिनिङमा आध्यात्मिक व्यक्ति, लामा, भिक्षुहरूको उपस्थिति पनि बाक्लै उपस्थिति थियो । कार्यक्रमकै दौरान निर्देशक खिन्से नोर्बुको आउँदै गरेको नयाँ फिल्म ‘Bug Who Carries Fire’ बारे सामग्री भएका प्रिन्टेड टिसर्टहरू पनि गोलाप्रथाद्वारा वितरण गरिएको थियो । 

खिन्से नोर्बु सिनेप्रेमीहरूमाझ परिचित नाम हो । उनको ‘The Cup’ फिल्मले भारतमा अवस्थित बिर नामको तिब्बती शरणार्थी गाउँमा बस्ने दुई जना फुटबल प्रेमी शरणार्थी वालकहरूले सन् १९९८ को वर्ल्डकप फाइनल हेर्नको लागि टेलिभिजन जुटाउन गरेको सङ्घर्षको कथा भनेको थियो । यस्तै भुटानमा खिचिएको पहिलो फिचर फिल्म ‘Travellers and Magician’ ले अति सामान्य जीवनबाट भाग्न खोजिरहेका चरित्रहरूको यात्रा पछ्याउएको थियो । सन् २०१३ को बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवको उद्घाटनमा पनि देखाइएको उनको अर्को फिल्म ‘Vara- A Blessing’ ले एक मुस्लिम मूर्तिकारसँग प्रेममा पर्ने देवदासी पुत्री युवतीको कथा सुनाएको थियो । 

‘डाकिनी’ फिल्मको सबै छायाङ्कन नेपालको पाटन र काभ्रेको पनौतीमा भएको हो । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषा प्रयोग भएको छ । फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन् । दुवैले अभिनय गरेको यो पहिलो फिल्म हो । कर्म, दिव्य देव, रवीन्द्रसिंह बानियाँलगायत नेपाली कलाकारले समेत यसमा अभिनय गरेका छन् । निर्देशक मात्र होइन, छायांकार पनि उत्तिकै हाइप्रोफाइल छन् । २१ अन्तर्राष्ट्रिय अवार्ड पाएका ताइवानका मार्क ली पिङ बिङले यो फिल्म खिचेका हुन् । उनले सन् २००० मा वङ कर वाइको फिल्म ‘In the Mood for Love’का लागि कान्स फिल्म फेस्टिभलको ग्रान्ड टेक्निकल प्राइज पनि पाएका थिए ।

Photo: Royal Bhimsen & Prakash Bhusal, Trident Concept

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *