नक्कली भुटानी शरणार्थी प्रकरणमा अरु पार्टीले जति गल्ती माओवादीले गरेको छैन : शर्मा (भिडिओ)

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको बताएकी छिन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेकी उनले सरकारले आफैँ भित्र त्यो देखिए पनि त्यसलाई कारबाही गरेर अघि बढ्ने संकल्प लिएको पनि स्पष्ट पारिन् ।

प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दाबी समेत गरिन् । मन्त्री शर्माले माओवादी मन्त्रीहरूले विगत र अहिले पनि अरु दलका मन्त्रीहरूले भन्दा रामो काम गरिरहेको जिकिर गर्दै बदमासी माओवादी पार्टीबाट मन्त्री बनेकाहरूले पनि गरेको हुन सक्ने स्वीकार गर्दै उनले अरु दलका मन्त्रीहरूको तुलनामा भने कम गल्ती गरेको बताइन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकाल बढी सुझबुझपूर्ण ढंगले अघि बढाएको भन्दै प्रशंसा समेत गरिन् ।

मन्त्री शर्मा भन्छिन्, ‘अहिले सरकारले राम्रो सुरुवात गरेको छ । अस्ति हाम्रो प्रधानमन्त्रीले प्रश्नोत्तरको बेलामा बोल्नु भयो । त्यो बोलिरहँदा एउटा कन्डिशन के देखियो भने हिजोदेखि अहिलेसम्मका सरकार हेरौँ । हिजो केपी ओलीले नेतृत्व गर्दा होस्, शेरबहादुर देउवाले नेतृत्व गर्दा होस् । जसले नेतृत्व गर्दाहोस–माओवादी मन्त्रीहरु त्यति धेरै बदनाम छैनन् । राम्रो परिणाम हामीले कति निकाल्न सक्यौँ, त्यो एउटा कुरा होला । तर बदमासी गरेको भन्ने कुरा अरूका तुलनामा छैनन् । यो कुरा पनि हाम्रो सकारात्मक हो । र, जे जति राम्रा काम भएका छन् । ती माओवादी मन्त्रीकै कारण बढी भएका छन् फेरी । अरूले गर्दै गरेनन् । मैले यसो भन्न खोजिराखेको छैन । तर माओवादी मन्त्रीकै कारण बढी भइरहेका छन् । अहिले हेर्नु भयो भने पनि अहिले त झन् प्रधानमन्त्रीज्यूले हिजो दुई कार्यकालबाट थप सिकेर, बीचको कार्यकाल त त्यस्तै त्यस्तै भयो । पहिलो कार्यकाल सिक्ने क्रममा नै थियौँ । र, यो तेस्रो कार्यकाल बढी परिपक्वताका साथ, एकदमै बढी सुझबुझका साथ र स्टेप लिइसकेपछि पछाडि नफर्कने गरेर जसरी कामहरू सुरुवात भएका छन् । त्यो धेरै सकारात्मक छ । र, पछिल्लो समयमा हामीले धेरै गर्दै आउँदाखेरीमा नक्कली भुटानी शरणार्थीको विषय जसरी उठिराखेको छ । र, अस्ति प्रधानमन्त्री जसरी बोल्नु भयो संसद्मा । त्यो देख्दा हामीलाई के आत्मविश्वास पैदा भएको छ भने हामी पनि बदमास रहेछौँ भने पर्छौ भन्ने कुरा ग्यारेन्टी छ । यसमा कसैले कसैलाई रक्षा गर्ने भन्ने कुरा आउँदैन । बदमासीका लागि जनयुद्धका बेला अध्यक्ष प्रचण्डले भन्नु हुन्थ्यो–आफ्नो टाउँकामा आफैँ आगो लगाउने भन्नु हुन्थ्यो । हामी आफैँले आफैँलाई आगो लगाउन तयार भएनौँ भने अरु विकृतिमाथि हामी आगो लगाउन सक्दैनौँ । त्यस कारण अहिले जेजति स्थिति बनेको छ । अहिले सरकारले राम्रो पहलकदमी लिएको छ । राम्रा कामहरू गरेको छ । तर ती कामहरूको प्रचारप्रसार व्यवस्थित ढंगले हुन सकेको छैन । ’

मन्त्री शर्माले सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै त्यसको प्रचारप्रसारको काम गरिदिन पनि सञ्चार माध्यामहरुलाई आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *