सुर्तीजन्य पदार्थको कर बढाएर विपन्नको निःशुल्क उपचार : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्योपचार उपलब्ध गराउन सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने बताए।
आज यहाँ एक–एक पाइला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गर्दै उहाँले विपन्न नागरिकको सहज र निःशुल्क स्वास्थ्योपचारमा पहुँच पु¥याउनका लागि सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न आवश्यक रहेको बताए।
“विपन्न नागरिकको उपचार जिम्मेवारी सरकारले लिनुपर्छ । तर स्वयं मन्त्रालयसँग बिरामीलाई सहयोग गर्न रकम छैन”, उनले भने, “त्यसैले सुर्तीजन्य पदार्थमा कर ह्वात्तै बढाएर त्यसबाट प्राप्त रकमलाई कोषको रूपमा खडा गरेर बिरामीको उपचारका लागि मन्त्रिपरिषद्सम्म प्रस्ताव गरेको छु । छिट्टै स्वीकृत भएर काम अघि बढ्नेछ ।”
मन्त्री बस्नेतले स्वास्थ्यमा बजेट बढाउन निरन्तर पहल गरिरहेको दाबीसमेत गरे। उनले भने, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ४० प्रतिशत बजेटको सिलिङमा घटेर आयो । म आएपछि, मन्त्रालयको टोलीले नै अर्थ मन्त्रालयमा अनुरोध गरेपछि सात अर्ब बजेट थप्न सकेका छौँ ।”
उहाँले एक–एक पाइला ठोकर्पा आधारभूत अस्पतालको स्तरोन्नतिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत गरे। सामुदायिक अस्पतालको स्तरोन्नति गर्न आफू लागिपरेको भन्दै मन्त्री बस्नेतले धुलिखेल सामुदायिक अस्पताललाई ट्रमा अस्पतालका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए।
सुनकोसी गाउँपालिका र एक–एक पाइला फाउण्डेशनको साझेदारीमा सञ्चालित अस्पताल गत साउनदेखि सञ्चालनमा आएको हो। अस्पताल सञ्चालनमा आएदेखि हालसम्म तीन हजार सेवाग्राहीले उपचार सेवा लिएका छन्। मुख्यतः सुनकोसी, लिसङ्खुपाखर, काभ्रेको भुम्लु र चौतारा साँगाचोकगढीका स्थानीय लाभान्वित भएको अस्पतालका प्रमुख डा विनोद रानामगरले बताए।
सुनकोसी गाउँपालिका वडा नं ३ का स्थानीय सूर्यबहादुर कार्कीले सहजरूपमा उपचार सेवा पाउँदा आफूहरू हर्षित भएको बताए। उनले भने, “सामान्य उपचारका लागि धुलिखेल र बाडीचौर पुग्नपर्ने बाध्यता टरेको छ ।” यस्तै वडा नं ३ कै धनमाया लामाले आफ्नै गाउँपालिकामा आँखाको उपचार गर्न पाउँदा खुसी व्यक्त गरे, “काठमाडौँमा उपचार गर्न जाँदा धेरै झन्झट हुन्छ, आफ्नै घरगाउँमा उपचार गर्न पाउँदा सहज हुने नै भयो ।”
सुनकोसी गाउँपालिका, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जिल्ला समन्वय समिति, सिन्धुपाल्चोक स्वीडेन नेपाल सोसाइटीको लगानीमा अस्पतालको भौतिक संरचना निर्माण भएको थियो। विसं २०७४ देखि निर्माण सुरु गरिएको ठोकर्पा अस्पताल गत वर्ष २०७९ साउनमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो।
स्वास्थ्य सेवा केन्द्र ९पोलिक्लिनिक०को रूपमा सुरु भएको संरचना अहिले १० शय्याको अस्पतालका रूपमा सञ्चालन भइरहेको छ । हाल अस्पतालमा दुई चिकित्सकसहित २९ कर्मचारीले आकस्मिक सेवा, बहिरङ्ग सेवा, दन्त, आँखा, बर्थिङ सेन्टर, ल्याब, एक्स–रे, भिडियो एक्स–रे र फार्मेसीलगायतका उपचार सेवा उपलब्ध गराउँदै आएको छ। यस्तै प्रत्येक महिना विशेषज्ञ सेवासमेत उपलब्ध गराउँदै आएको अस्पतालका प्रमुख रानाको दाबी छ।








