खिन्से नोर्बु निर्देशित ‘डाकिनी’ को विशेष प्रिमियर काठमाडौँ र पोखरामा हुँदै

अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बौद्ध धर्मगुरु, निर्देशक र लेखक गुरु जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु) नेपाल आउँदैछन् । आफूद्वारा निर्देशित फिल्म ‘डाकिनी’ को नेपाल रिलिजमा सहभागी हुन उनी आउन लागेका हुन् । उनको नेपाल आगमन र फिल्मको रिलिजको मेसो पारेर काठमाडौँ र पोखरामा विशेष प्रदर्षनी पनि आयोजना हुँदैछ । फिल्मको पब्लिक रिलिज भने जेठ ५ गतेबाट काठमाण्डौभित्रका सीमित हलहरूमा मात्र हुँदैछ । फिल्मलाई नेपालको प्रोडक्सन कम्पनी षड्कोण आर्ट्सले निर्माण गरेको हो । 

ज्येष्ठ ६ गते शनिवार काठमाण्डौको सिटिसी हलमा बिहान ११ बजेदेखिको विशेष प्रिमियर मुभी लभर्स समुदायले आयोजना गर्न लागेको हो । त्यसपश्चात् १.३० बजेदेखि निर्देशक नोर्बुको ’ब्युटी इज अ ट्र्याप’ ‘Beauty is a Trap’ शीर्षकमा मास्टरक्लास पनि हुने कार्यक्रम छ । सोही दिन मिडटाउन सिनेमा पोखरामा दिउँसो ३:०० बजे हुने प्रिमियर पोखराका चलचित्र प्रेमीहरूले आयोजना गरेका हुन् । 

खिन्से नोर्बु अर्थात् जोङसार खिन्से रिम्पोछे सिनेप्रेमीहरूमाझ परिचित नाम हो । उनको ‘The Cup’ फिल्मले भारतमा अवस्थित बिर नामको तिब्बती शरणार्थी गाउँमा बस्ने दुई जना फुटबल प्रेमी शरणार्थी वालकहरूले सन् १९९८ को वर्ल्डकप फाइनल हेर्नको लागि टेलिभिजन जुटाउन गरेको सङ्घर्षको कथा भन्छ । यस्तै भुटानमा खिचिएको पहिलो फिचर फिल्म ‘Travellers and Magician’ ले अति सामान्य जीवनबाट भाग्न खोजिरहेका चरित्रहरूको यात्रा पछ्याउँछ । उनको अर्को फिल्म ‘Vara- A Blessing’ ले एक मुस्लिम मूर्तिकारसँग प्रेममा पर्ने देवदासी पुत्री युवतीको कथा भन्छ । यो फिल्म सन् २०१३ को बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवको उद्घाटनमा पनि देखाइएको थियो । ‘डाकिनी’ उनको पछिल्लो फिल्म हो । 

बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो फिल्म पनि यस्तै देवीको खोजीको कथा हो, जसले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ । फिल्मको सबै छायाङ्कन नेपालको पाटन र काभ्रेको पनौतीमा भएको थियो । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषा प्रयोग भएको छ । 

फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन् । दुवैले अभिनय गरेको यो पहिलो फिल्म हो । कर्म, दिव्य देव, रवीन्द्रसिंह बानियाँलगायत नेपाली कलाकारले समेत यसमा अभिनय गरेका छन् । निर्देशक मात्र होइन, छायांकार पनि उत्तिकै हाइप्रोफाइल छन् । २१ अन्तर्राष्ट्रिय अवार्ड पाएका ताइवानका मार्क ली पिङ बिङले यो फिल्म खिचेका हुन् । उनले सन् २००० मा वङ कर वाइको फिल्म ‘In the Mood for Love’का लागि कान्स फिल्म फेस्टिभलको ग्रान्ड टेक्निकल प्राइज पनि पाएका थिए ।

यो फिल्मलाई हेरेर विश्वकै चर्चित हलिउड फिल्म निर्देशक मार्टिन स्कोरसिजले पत्र समेत लेखेका थिए । गत मङ्गलवार ललितपुरमा आयोजित फिल्मको प्रेसमिटमा फिल्मको निर्माण कम्पनी षट्कोण आर्ट्सले यो पत्रबारे खुलाएको थियो । ३० जुलाई २०१९ को मितिमा लेखिएको उक्त पत्रमा स्कोरसिजले आफू अध्यक्ष रहेको फिल्म फाण्डेसनको लेटरप्याडमार्फत टोरन्टो इन्टरनेसनल फेस्टिभलका प्रमुखलाई स्कोरसेसिजले सम्बोधन गरेका छन् । ‘फेस्टिभलमा फिल्म छनोटको अन्तिम तयारी भइरहँदा म चाहिँ खिन्से नोर्बुको नयाँ फिल्म लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाचको पक्षमा उभिन्छु । म लामो समयदेखि नोर्बुका सुन्दर कामको प्रशंसक हुँ । मेसिनजस्तो बनिरहेको आधुनिक विश्वमा नोर्बुले तिब्बती रहस्यवादमार्फत मानवीयताको वकालत गरेका छन् । अन्तर्मनतर्फको यात्रा गराउने यो फिल्म निकै सुन्दर छ । महान् ताइवानी छायाकार मार्क-ली-पिङ-लीले नेपाललाई आकर्षक ढङ्गले खिचेका छन्,’ स्कोरसिजको पत्रमा उल्लेख छ ।

हरेक दुई महिनामा विशेष फिल्महरूको स्कृनिङ गर्नेगरेको मुभी लभर्सले यही फिल्मको लागि भनेर आफ्नो समय फेरबदल गरेको हो । यसकै आयोजनामा गत वैशाख २४ गते विक्रम सापकोटा निर्देशित ‘हल्कारा’ को विशेष प्रिमियर भएको थियो । यसभन्दा पहिला मुभी लभर्सले सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’को विशेष प्रिमियर सफल भएको थियो ।

केही  केही सिनेमा मन पराउने साथीहरूले सुरु गरेको फेसबुक समुदायमा हाल लगभग सात हजार सिनेमा प्रेमीहरू जोडिइसकेका छन् । नेपाली सिनेमा क्षेत्रलाई दर्शकको आँखाबाट प्रवर्धन गर्ने उद्देश्य यो समुदायले लिएको छ । 

‘डाकिनी’ को स्क्रिनिङमा आध्यात्मिक व्यक्ति, लामा, भिक्षुहरूको उपस्थिति पनि बाक्लै हुने अपेक्षा समुदायले गरेको छ । यसका संस्थापक मध्येका एक दृश्य भन्छन् ‘यो विशेष प्रदर्शनी भव्य हुनेवाला छ । हामीजस्तो सानो तर उदाउँदै गरेको समुदायले विशिष्ट अन्तर्राष्ट्रिय निर्देशकलाई स्वागत गर्न पाउनु गर्वको कुरो हो ।’ कार्यक्रमकै दौरान निर्देशक खिन्से नोर्बुको आउँदै गरेको नयाँ फिल्म ‘Bug Who Carries Fire’ बारे सामग्री भएका प्रिन्टेड टिसर्टहरू पनि गोलाप्रथाद्वारा वितरण गर्ने कार्यक्रम रहेको पनि उनले बताए । 

नोर्बु यसअघि पनि नेपाल आएका थिए । दुई वर्ष पहिला आएको बेला उनले भुषिता वशिष्ठसँग कुराकानी गरेका थिए । उक्त अन्तर्वार्ता यो लिङ्कमा गएर हेर्न सकिन्छ । 

https://www.youtube.com/watch?v=iwqhXQ0kqpg&ab_channel=BhrikutideviTrust 

डाकिनीको ट्रेलर: https://www.youtube.com/watch?v=w0VHdAmKS9w&ab_channel=ShatkonArts

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *