निरा पाण्डे हत्या प्रकरण : हत्यारा छिटो पत्ता लगाउन माग गर्दै प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । बाग्लुङ बडिगाड गाउँपालिकाकी निरा पाण्डे आचार्यको हत्या रहस्यमय बन्दै गएको छ ।

कपनस्थित सरस्वती नगरको व्यस्त सडकमा आफैँले सञ्चालन गरेको ‘निरु किचेन’ पसलभित्रै ३५ वर्षीया आचार्यको ८ वैशाखमा चक्कु प्रहारबाट बीभत्स हत्या भएको थियो ।

आचार्यको बीभत्स हत्या भएको एक साता बढी बितिसक्दा पनि प्रहरीले हत्याराबारे अझैसम्म कुनै ‘क्लु’ समेत फेला पार्न सकेको छैन ।

निराका आफन्तले भने हत्यारा छिटो पत्ता लगाउन प्रहरीलाई दबाब दिन थालेका छन् । निराका आफन्तले निराको हत्या भएको पसलअगाडि नै धर्नासमेत दिन थालेका छन् ।

दबाब स्वरूप आज सरस्वती नगर, कपन हत्या भएको पसल अगाडि बाटो बन्द गरेर स्थानीय र आफन्तले प्रदर्शन गरेका छन् ।

निरा हत्याबारे प्रहरीले अनुसन्धान गर्न छुट्टाछुट्टै समितिसमेत बनाएको छ ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार अनुसन्धानका क्रममा शंकास्पद ५० जनाभन्दा धेरैसँग सोधपुछ गरिसकेको छ । हत्या भएको दिन घटनास्थल आसपास सक्रिय टेलिफोन विश्लेषणमा पनि प्रहरी लागेको छ । तर, ‘क्लु’ फेला नपर्दा प्रहरी अन्योलमा परेको छ ।

केसी भन्छन्, घटना सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । शंकास्पद व्यक्तिसँग सोधपुछ तथा उनीहरूलाई निगरानीमा राख्ने विषय त हुने भए । त्यसबाहेक ‘टेक्निकल’ पक्षबाट पनि हामी अनुसन्धानलाई अघि बढाइरहेका छौँ ।

निराको हत्या भएको पसलभन्दा केही दूरीमै उनकै श्रीमान् योगेन्द्र आचार्यले छुट्टै इलेक्ट्रिकल पसलसमेत सञ्चालन गरेका छन् ।

उनका श्रीमान्‌ले समेत हत्याबारे कुनै चाल नपाएको प्रहरीले जनाएको छ ।

निराकी एक छोरी छन् ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *