विष्णु रिमालको अपिल- ब्राण्डमा भोट हाल्नुहोस्, न कि टक्लुलाई काइँयो भिडाउने मार्केटर ! 

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राजनीतिक दल चिनेरमात्र मतदान गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उप निर्वाचन हुने क्षेत्रका मतदाताहरूलाई यस्तो आग्रह गरेका छन् ।

दलहरूलाई ‘ब्राण्ड र मार्केटिङ’को संज्ञा दिँदै रिमालले ब्राण्डमा भोट हाल्न आग्रह गरे । ‘आजबाट बारा-२, चितवन-२ र तनहुँ-१ को उपनिर्वाचनको प्रचारप्रसार पनि सकिँदैछ । ‘शान्त अवधि’ सुरु हुनु अघि यस क्षेत्रका सचेत मतदाताहरूमा विनम्र अनुरोध गर्न चाहन्छु- कृपया पहिले ब्राण्डहरु हेर्नुहोस् । ब्राण्डमा बहस गर्नुहोस् । र, अनि मात्र आफूले भर परेको ब्राण्डमा भोट हाल्नुहोस्,’ उपमहासचिव रिमालले भनेका छन्, ‘मेरो एमबिएको साथीले व्याख्या गरे जस्तो टक्लुको काइँयो कृपया किन्दै नकिन्नु होस् । जस्तोसुकै धातुबाट बनेको काइँयो भएपनि त्यसले नाङ्गो टाउको कोर्दैमा कपाल पलाउँदैन ।’

ब्राण्डिङ र मार्केटिङ फरक कुरा भएका उल्लेख गर्दै उनले अगाडि भनेका छन्, ‘ब्राण्डिङ् या भनौँ ब्राण्डसँग इतिहास जोडिएको हुन्छ । व्यक्ति–व्यक्तिको भावना र असीमित विश्वास जोडिएको हुन्छ । त्यससँग सन्तुष्टि र प्रशंसा मात्र जोडिने हैन, कहिले कहिले असहमति र आक्रोश पनि जोडिन जान्छ । त्यसैले त्यससँग उत्तरदायित्व र जबाफदेहिता जोडिन्छ, आउने सयौँ वर्षसम्म पनि जोडिई रहने लक्ष्य हुन्छ । ब्राण्डिङ् थान–गन्तीमा हुन्न, गरिन्न । मार्केटिङ माल बेच्ने कला हो । जे भनेर भएपनि, जता फर्किएर भएपनि टक्लुलाई काइँयो भिडाउनु यसको लक्ष्य हो । मार्केटिङको सफलता ‘थान-गन्ती’मा मालको बिक्री हो । फकायो, लोभ्यायो, माल बिकायो, सकियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =