ढकमक्क अलकापुरी नगरी (तस्बिरहरू)

आदिकवि भानुभक्त आचार्यले ‘आलकापुरी कान्तिपुरी नगरी’ कविता त्यसै लेखेका थिएनन् । उनले कान्तिपुर अर्थात् अहिलेको काठमाडौँप्रति मोहित भएरै त्यो कविता लेखेका थिए । हो, त्यो कान्तिपुरले फेरि जवानीको रूप देखाएको छ ।

वसन्त ऋतुमा अलकापुरी नगरी ढकमक्क छ । धुवाँधुलो र प्रदूषण त छँदैछ तर त्यसमा वसन्त ऋतुका आगमनमा रङ्गीचङ्गी फूल र हरियालीले संघीय राजधानी काठमाडौँलाई मनमोहक बनाएको छ । काठमाडौँ उपत्यकाका सडक किनारमा फुलेका फूलहरूले जो कोहीलाई पनि मोहित पार्छ ।

डाँडाकाँडा चउर हरिया देखिए पालुवाले ।
बोकी ल्यायो बकुल वनको वास मिठो हावाले ।।
डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेली ।
गोठालाले वनवन डुली हाल्न थाल्यो सुसेली ।।

राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको यो वैशाख कविताको अंशले काठमाडौँको वैशाखको फूलैफूलको शहरलाई चरितार्थ गर्छ । नदीका किनार, सडकका छेउ, घरका प्रवेश द्वार, मठ मन्दिर जताततै फूलैफूलले ढाकेको छ । वसन्त ऋतु अर्थात् वनस्पतिहरूले काँचुली फेर्ने ऋतु ।

शिशिर र गृष्मबीचको यो ऋतुलाई ऋतुराज पनि भनिन्छ । काठमाडौँका सडक र किनारमा सवारी र पैदलयात्रुलाई मोहित पार्दै ढकमक्क फूल फुलेका छन् । अधिकांश वनस्पतिहरूले पाउला फेर्ने भएकाले यो ऋतु हरियाली त हुन्छ नै ढकमक्क फुलेको फूलहरूले झनै सौन्दर्य बढाउँछ ।

वसन्त ऋतुको सुरुवात भएसँगै यतिखेर राजधानी पनि परिवर्तन भएको भान हुन्छ । सडकको वरिपरि रहेको चेरी र आरु ढकमक्क फुलेर सडकको सौन्दर्यता बढाएको छ । राजधानी काठमाडौँका सडक पेटीमा फुलेका चेरी र आरु फूलको दृश्यले कम आनन्द महसुस हुँदैन ।

सडकमा हिँड्ने यात्रु लोभ लाग्दा फूलहरूसँग रमाइरहेका हुन्छन् । काठमाडौँका सडकहरूमा यतिबेला विभिन्न प्रजातिका फूलहरू फुलेका छन् । यसले पदयात्रीलाई थप आनन्दित बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *