उपेन्द्रलाई भोट माग्न बारा जाँदै प्रधानमन्त्री, माधवले मागिसके, देउवाकाे टु्ंगाे छैन

उपेन्द्रलाई गठबन्धनको आश, किल्ला आफ्नो बनाउने जनमतको दाउ

काठमाडौँ । देशका ३ स्थानमा १० वैशाखमा हुन लागेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको माहोलले यतिबेला राजनीतिक वृत्तलाई मज्जाले तताएको छ । तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुन लागेको छ । त्यसैले यी क्षेत्रमा आम मतदातालाई भोटमाग्न व्यस्त उम्मेदवार र तिनका समर्थकका कारण राजनीतिक माहोल गर्माएको छ । त्यसो त तराई–मधेसका यी तीनै जिल्लामा यतिबेला यसै पनि मौसमी गर्मी बढेको छ । मौसमी गर्मीसँग काठमाडौँको ठण्डा मौसममा बसिरहेका उम्मेदवारहरु यी क्षेत्रमा पसिना चुहाउँदै प्रचारप्रसार र चुनावी अभियानको प्रतिस्पर्धामा उत्रिरहेका छन् ।

खास गरी बारा २ मा हुन लागेको उपनिर्वाचनको विषयमा कुरा गर्ने हो भने यहाँ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका छन् । यादवलाई गठबन्धनका दलहरु  नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र  तमलोपा पार्टीले उपेन्द्र यादवलाई साथ दिएका छन् ।

यो क्षेत्रमा जसपाकै रामसहयप्रसाद यादवले मंसिर ४ को निर्वाचनमा जितेका थिए । तर, उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । गठबन्धनले आफ्नो दह्रो उम्मेवारको रुपमा यादवलाई मानेको छ । र उनलाई जसरी पनि जिताउन कम्मर कसेर लागेको देखिन्छ ।

त्यस्तै यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पूर्व डिआइजी रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, एमालेबाट पुरुषोत्तम पौडेल, आम जनता पार्टीबाट अरुण ज्ञवाली, नागरिक उन्मुक्ति पार्टीबाट डा. कमरुल्लाह अन्सारीको पनि उम्मेदवारी परेको छ ।

यी सबैसँगको प्रतिस्पर्धा उपेन्द्र यादवका लागि सहज भने देखिँदैन ।

त्यही असहजतालाई सहजतामा बदलेर उपेन्द्रको सहज जित निकाल्न गठबन्धनमा रहेका ठुला दलका नेतादेखि सांसदसम्म धेरै नेता बारामा गएर उपेन्द्र यादवको पक्षमा भोट मागिरहेका छन् ।

एक साताअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बारा पुगेर उपेन्द्र यादवको पक्षमा मत मागिसकेका छन् ।

यस्तै, २०८० को वैशाख १ गते नेपाली कांग्रेसको तर्फबाट बालकृष्ण खाँणले पनि बारा पुगेर उपेन्द्र यादवको पक्षमा मत मागेका छन् । गठबन्धनमा उम्मेदवार रहेको कारणले उनले हारे गठबन्धनको शक्तिमाथि शंका उत्पन्न हुने भन्दै उपेन्द्रलाई जिताउन गठबन्धन दलका सबैजसो नेता नेताहरू बारा पुग्न थालेका हुन् ।

लोसपाका महन्त ठाकुरले पनि उपेन्द्रको पक्षमा मत माग्न यो क्षेत्रमा उत्तिकै मेहनत र सहयोग गरेको देखिएको छ । सबै गठबन्धन दलले जिल्ला, प्रदेश र स्थानीय तहका नेतासमेत यादवको पक्षमा मत मागिरहेको जसपा नेता अशोक राई बताउँछन् ।

‘हाम्रो जित हुनेमा कुनै शंका नै छैन,’ राईले मकालुखबरसँग भने, ‘यसै पनि जिते जस्तै हो । साथीहरू खटेर लागिरहनु भएको छ ।’

यस्तै, माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि यादवको पक्षमा मत माग्न बारा जाने भएका छन् । जसपा प्रवक्ता मनिषकुमार सुमनका अनुसार प्रधानमन्त्री प्रचण्ड यादवको पक्षमा मत माग्न बारा जाने निश्चित भएको हो ।

‘गठबन्धनको साथ हामीलाई दरो रूपमा छ,’ सुमनले मकालुखबरसँग भने, ‘ गठबन्धनमा रहेका अध्यक्ष सहित शीर्ष नेताहरू निर्वाचन क्षेत्र आइरहनु भएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष समेत आउनुहुने भएको छ ।’

प्रधानमन्त्रीको सचिवालय सदस्य मनहरि तिम्सिनाका अनुसार वैशाख पहिलो साता प्रधानमन्त्री प्रचण्ड उपेन्द्रलाई मत माग्न बारा जाने भएका हुन् ।

‘निर्वाचन आचारसंहिता लाग्नुभन्दा दुई तिन दिन अगाडि जाने कुरा भएको छ,’ उनले भने, ‘सायद यही साता जानुहुन्छ होला । गते चाहिँ फाइनल भएको छैन ।’

त्यस्तै, कांग्रेसबाट शेरबहादुर देउवा पनि उपेन्द्रलाई मत माग्न बारा जाने तयारीमा छन् । जसपा नेता राईका अनुसार कांग्रेस शेखर कोइराला पक्ष पनि उपेन्द्रलाई मत माग्ने कार्यमा सहयोगका लागि निरन्तर संवादमा छन् ।

यो क्षेत्रमा मंसिर ४ को निर्वाचनमा माओवादीले कुशवाहालाई उम्मेदवार उठाएको थियो । त्यो बेला जसपाका रामसहाय प्रसाद यादवले १३ हजार ८ सय २२ मत पाउँदा उनले कुशवाहा १३ हजार ४ सय ६८ मत पाएका थिए ।

कुशवाहा ३५४ मतान्तरले हारेका थिए । तर माओवादीले उपेन्द्रलाई टिकट दिने भएपछि यही चैत १५ गते कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका थिए । उनी अहिले पनि जनमत पार्टीबाट उम्मेदवारमा उठेका छन् । यसकारण पनि यादवलाई सो क्षेत्र आफ्नो निर्वाचन क्षेत्र नभएको र यादवले त्यहाँका जनताको दुःखलाई प्रत्यक्ष रूपमा नबुझेको कारण जित्न गाह्रो हुने आकलन गरिरहेको छ ।

भोट माग्दै उपेन्द्र यादव/तस्बिर : यादवको फेसबुकबाट

उपेन्द्रलाई गठबन्धनको आश
माओवादीले कुशवाहालाई टिकट नदिएर उपेन्द्रलाई सहयोग गरेपछि उनले सिके राउतको जनमत पार्टीलाई समाएर निर्वाचनमा होमिएका छन् । क्षेत्रमा जसपा अब्बल देखिए पनि यादवको काम त्यहाँका जनताले हेर्न पाएका छैनन् । यसले गर्दा कुशवाहालाई जितका लागि सहज हुने आकलन पनि एक थरिको छ ।

यता रास्वपाबाट पनि पूर्व डिआइजी हुँदा राम्रो काम गरेको र नयाँ पार्टीप्रति जनताको लहर भएकाले उपेन्द्रलाई यो चुनाव जित्न पटक्कै सहज नभएको विश्लेषण भइरहेको छ । तर यो तथ्यलाई स्वीकार गर्ने पक्ष्मा जसपा छैन ।

रामसहाय यादवकै कारण बारा–२ मा जनमत बलियो छ भन्ने पक्षमा छ । त्यसमाथि मधेसमा खासगरी यादव समुदायका मतदाताले निर्वाचन पाएसम्म जुनसुकै पार्टीको होस्, यादवलाई नै मत हाल्ने गर्छन् भन्ने मानसिकता रहेको पाइन्छ । यादव मतदाता बढी रहेको यो क्षेत्रबाट उपनिर्वाचनमा उम्मेदवार बन्न पाए सजिलै जित्छु भन्ने आत्मविश्वास उपेन्द्रमा देखिएर नै त्यहाँबाट उठेको जसपाका नेताहरू दाबी गर्छन् । त्यसमाथि सत्ता गठबन्धनमा सामेल भएका उनलाई गठबन्धनको दह्रो सहयोग बाहिरी रूपमा देखिएको छ ।

प्रवक्ता सुमन भन्छन्, ‘हाम्रो पार्टी त्यो क्षेत्रमा यसै पनि बलियो छ । त्यहाँका अधिकांश पालिका र वडा नै हाम्रो पार्टीले जितेको छ । विगत दुई वटा निर्वाचन जसपाले लगातर जितेको छ । गठबन्धनको बलियो साथ पाएर हाम्रो जित सुनिश्चित छ । उपेन्द्रको जित गठबन्धनको भविष्यसँग जोडिएको विषय हो ।’

उपेन्द्रलाई रोक्न जनमतको जोड
उपराष्ट्रपति निर्वाचनमा जसपा र जनमत पार्टीबिच ठूलै टकराब देखियो । त्यो बेला गठबन्धनको भागबण्डामा उपराष्ट्रपति पद जसपालाई परेको थियो । तर सिके राउतको पार्टी जनमतले पनि ममता झालाई उम्मेदवार बनाएको थियो । यता जसपाबाट रामसहायप्रसाद उम्मेदवार थिए । गठबन्धनको ठुलो दल कांग्रेस र माओवादीले रामसहयप्रसादको पक्षमा मतदान गरेका थिए । गठबन्धनका केही साना दलले ममतालाई मतदान गरेका थिए । गठबन्धनबाट हाल सिके राउत बाहिरिएका छैनन् । तर उनको पार्टीबाट मन्त्री बनेका अब्दुल खानलाई मन्त्रिपरिषद् विस्तार भएको दिन चैत १७ गते फिर्ता बोलाएर सरकारबाट बाहिरिएका छन् । तर उनले प्रधानमन्त्री दिएको विश्वासको मत फिर्ता लिएका छैनन् ।

यस्तै, उनले वैशाख १० गते हुने उपनिर्वाचनमा पनि उपेन्द्र यादवलाई हराउन तत्कालीन माओवादी नेता कुशवाहालाई आफ्नो पार्टीमा ल्याएर उठाएका छन् । कुशवाहाको बारा २ मा राम्रो छवि छ । उनी माओवादीले टिकट नदिएर बसेका थिए । तर राउतले उनलाई आफ्नो पार्टीबाट उठाएपछि कुशवाहाको पनि उद्दार भएको छ ।

यता जसपाले राउतलाई गठबन्धनको संस्कारविपरीत अगाडि बढेको तर्क गरिरहेको छ । उनलाई इमानदारिता र अनुशासनविपरीत हिँडेको बताइरहेको छ ।

जसपा प्रवक्ता सुमनले भने, ‘सिकेजीले गठबन्धनमा इमानदारता देखाउनु भएन । हुने केही पनि होइन । अहिले हामी केही बोल्ने पक्षमा छैन । समय आउँछ ।’

अनेक दावी, आकलन र अड्कलका बीच उपेन्द्र यादवलाई जसरी पनि हराएर संसदको ढोका बन्द गर्ने जनमत पार्टीको प्रयास सफल होला/नहोला हेर्न बाँकी छ । जनमत पार्टीका एक नेता भन्छन्, ‘हाम्रो पक्षमा माहोल राम्रो हुँदै गएको छ । रास्वपा र जनमत पार्टीलाई जित्न कुनै समस्या छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *