टिप्पणी

मुलुक हाँक्ने ‘ड्राइभिङ सीट’मा बसेका प्रचण्डले बचाउन सक्लान् तीन करोड जनता ?

आम नागरिकहरू विश्वासमा परेर सार्वजनिक र निजी प्लेटको सवारी साधन चढ्छन् । गाडी कतिखेर दुर्घटना हुन्छ ? यो कसैलाई थाहा हुँदैन । जतिबेला पनि सवारी साधन दुर्घटनामा पर्न सक्छ । कतिपय चालक दुर्घटना हुने थाहा पाएपछि आफू हाम्फालेर बाँच्छन् तर अरूको त्यही मृत्यु हुन्छ । गाडीमा धेरै यात्रु चढेका छन् । चालक अनुभवी, पूरानो, आँटिलो छ भने उसले जस्तोसुकै दुर्घटना हुनबाट जोगाउन सक्छ । गाडीको स्टेरिङ र ब्रेक फेल भएपनि त्यसले चालकलाई उनले यात्रु बचाउँछ ।

गाडीमा चढेका यात्रु फर्किन्छन् कि फर्किँदैनन् ? भन्न सकिँदैन । कहिले टायर पड्किएर त कहिले इन्जिन बिग्रिएर दुर्घटना भइरहेको छ । यद्यपि, यात्रुलाई आफ्नो जिम्मेवारी सम्झिने चालकले उनीहरूलाई बचाउँछन् । गाडी चढ्दा यात्रु चालककै भरमा चढेका हुन्छन् । उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउने काम चालकको हो । गाडीको लोडको नधानेको, ब्रेक नचलेको, इन्जिन बिग्रिएको भने चालकसँग दुइटै उपाय हुन्छ । कि आफू मरेर अरूलाई बचाउने, कि अरूलाई मारेर आफू बच्ने ।

चालकले गाडीको पार्टपुर्जाले काम नगरेको पहिल्यै थाहा पाउँछन् । कति चालक पत्तो पाउने बित्तिकै अगाडिको ढोकाबाट हाम्फालेर आफ्नो ज्यान जोगाउँछन् । कतिपयले रुखमा लगेर ठोकिदिन्छन् अनि यात्रु बचाउँछन् । बरु चालकको ज्यान नै किन नजाओस् । सवारीको लाइसेन्स लिनका लागि लिखित, मौखिक र ट्रायल परीक्षा पास गर्नुपर्छ । गाडी, बाटो, ऐनकानुन र ट्राफिकको विषयमा ज्ञान हुनेलाई लाइसेन्स दिइन्छ । उसको कारणले कसैको ज्यान जानुहुँदैन भनेर सरकारले त पहिल्यै जाँचपड्ताल गर्छ ।

त्यतिकै हातहातमा बाँड्ने चीज त होइन, लाइसेन्स । सहचालक हुँदै चालकको लाइसेन्स लिनेहरू यहाँ धेरै छन् । त्यही गाडीमा बर्सौँ सहचालक भएर उनीहरूले लाइसेन्स लिएका हुन्छन् । यसरी लाइसेन्स लिनेलाई सवारीको विषयमा धेरै ज्ञान हुन्छ । कुन पार्टपुर्जा कहाँ लाग्छ ? गाडीलाई दुर्घटना हुनबाट कसरी जोगाउने ? उनीहरूलाई राम्ररी थाहा हुन्छ । केही कारणवश बाटोमा गाडी बिग्रियो भने उनीहरू आफैँ बनाएर चलाउने सक्ने क्षमताका हुन्छन् । मिस्त्री खोजेर हिँड्नुपर्ने बाध्यता तिनलाई छैन ।

भनसुन र पैसाको आडमा लाइसेन्स लिनेहरूलाई बाटो, ट्राफिक, कानुन, ट्राफिक नियमबारे केही पनि थाहा हुँदैन । एउटा स्टेरिङ बिग्रियो भनेपनि त्यस्ता चालक हेरेको हेर्यै हुन्छन् । गाडीको विषयमा केही जानकारी नभएकालाई लाइसेन्स दिएपछि त्यस्तो हुनु त स्वाभाविकै हो । केही नजान्नेको हातमा लाइसेन्स थमाइदिँदा सवारी दुर्घटना बढेको छ । गाडी चलाउन नजान्दा कि ऊ आफैँ मर्छ कि अरूलाई मार्छ । गाडी आफैँ दुर्घटना हुने होइन । चालकको लापरबाही र गाडीको कन्डिसन दुर्घटनाको कारण हुन् ।

गाडी चल्न सक्ने अवस्थामा छ कि छैन ? चालकले नहेरेपछि गाडी दुर्घटना हुनु स्वाभाविकै हो । २० वर्षे पूराना सवारी साधन चलाउँदा, सीटभन्दा बढी यात्रु हाल्दा, गाडीमा गीत बजाउँदा सवारी दुर्घटनामा पर्ने हो । गाडीमा भर्खरै जन्मेको दुधे बालक पनि हुन्छ । युवा पनि चढेका हुन्छन् । बुढाबुढी पनि यात्रा गरिरहेका हुन्छन् । एउटा सार्वजनिक यातायातमा पाँच दर्जन बढी यात्रु चढेका हुन्छन् । तिनको जिम्मेवारी त चालकले लिएको हुन्छ । चालकले लापरबाही गरिदियो भने यात्रुहरू मर्नुपर्ने अवस्था बन्न सक्छ ।

यसमा सरकारको पनि दोष छ । सरकारले अनुभव नभएकालाई पनि भकाभक लाइसेन्स दिइरहेको छ । कलिलो उमेरकालाई लाइसेन्स दिनु नै गलत छ । नागरिकता निकाल्नेबित्तिकै लाइसेन्स लिइन्छ । अनुभव नै नभएकाले लाइसेन्स पाइरहेका छन् । तर, यसमा यात्रुको के दोष ? उनीहरू त पैसा तिरेर चढेका हुन् । उनीहरूले लाइसेन्स माग्ने कुरा भएन ? गाडी चलाएको कति वर्ष भो ? अनुभव छ कि छैन ? सोध्न मिलेन । गाडी कति वर्ष पूरानो हो ? भनेर प्रश्न गर्‍यो भने बिच बाटोमा ओराल्देला भन्ने डर ।

सरकारले पैसा खाएर लाइसेन्स दिन काममा रोक लगायो भने अकालमा ज्यान गुमाउने क्रम रोकिन्थ्यो नि । अनुभव नभएकालाई, नपढेकालाई लाइसेन्स नदिने भनी कानुन बनाउने हो भने धेरै दुर्घटनामा कमी आउँथ्यो । कलिलो उमेरमा लाइसेन्स दिनुहुँदैन । ऐनकानुन र गाडीबारे राम्ररी ज्ञान भएकालाई मात्र लाइसेन्स दिनुपर्छ । २० वर्ष कटेका सवारी साधन चल्नलाई पूर्ण प्रतिबन्ध लगाउनुपर्छ । दुर्घटनामा परेका मृत्यु हुनेलाई दिइने क्षतिपूर्ति रकम पनि बढाउनुपर्छ ।

अनि मात्र चालकहरूको चेत खुल्छ । मर्ने मरेको मर्यै भइरहेको छ तर पनि चालकहरू बेवास्ता गरिरहेका छन् । लापरबाहीले सवारी साधन हुइँकाइरहेका हुन्छन् । चालकको सानो गल्तीले एकै ठाउँमा पाँच दर्जनको ज्यान जान सक्छ । यस्तो गम्भीर विषयमा हेलचेक्र्याइँ गर्नेलाई सरकारले कारबाही पनि गरेको छैन । सरकारले ऐनकानुन बनाउने हो, जनता जन्माउने होइन । एउटा जनता मर्‍यो भने राज्यलाई कति क्षति हुन्छ ? चालकको लापरबाहीले जनता मरिरहेका छन् ।

चालकले जनता जन्माउन सक्छ ? सक्दैन भने उनीहरूलाई मार्न पनि पाइएन । सरकार कडाइका साथ ऐनकानुन कार्यान्वयन नगर्ने, चालक लापरबाहीका साथ गाडी चलाउने अनि मरिदिनुपर्ने चाहिँ जनता ? मर्नका लागि गाडीमा चढेका त अवश्य पनि होइन, होलान् ? चालक जिम्मेवारी नहुँदा अभिभावकले आफ्नो सन्तान गुमाउनुपर्छ । सन्तानले आफ्नो अभिभावक । राज्यले नागरिकको क्षति व्यहोर्नुपर्छ । १० वर्ष जनयुद्धको नेतृत्वकर्ता यतिखेर देश हाँक्ने ड्राइभिङ सीटमा बसेका छन् ।

मुलुकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुक बचाउँछन् कि सकाउलान् ? हेर्न बाँकी छ । उनको सानो गल्तीले देशलाई ठूलो क्षति हुन सक्छ । तीन करोड जनताको अभिभावक उनी हुन् । मुलुकको अर्थतन्त्र समस्याग्रस्त छ । अब त्यसलाई जोगाउने जिम्मा उनको भयो । उनले सकेनन् भने सारा मुलुकले दुःख पाउँछ । विदेशी हस्तक्षेप बढ्छ । त्यसैले उनले फुकिफुकी कदम चाल्न जरुरी छ । २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । राजा वीरेन्द्रको सन्तान सखाप भयो ।

वीरेन्द्रको सन्तान सकिएपछि ज्ञानेन्द्र राजा बने । उनले आफूलाई जनताको सेवक होइन, शासक सम्झिए । उनीद्वारा जिल्ला जिल्ला घुम्न जाने काम मात्र भयो । जनताले आफ्नो कुरा राख्दा टाउको हल्लाउने तर काम नगर्ने राजामा पर्थे उनी । जनताले दिएको फुल लिने अनि घुमघाममै रमाइरहने । राजाले केही गर्दैन भन्ने थाहा पाएपछि राजतन्त्र फाल्नुपर्छ भनेर देशभरका जनता सडकमा आए । अहिले राजा नागार्जुनको जंगलमा गएर बस्नुपरेको छ ।

राजा भएको बेलामा जनताका लागि काम गरेको भए आज दरबार छोडेर भाग्नुपर्दैनथ्यो । समयको ख्याल गरेर अघि बढेको भए सायदै राजतन्त्र फ्याँक्नुपर्थ्यो होला । सबैभन्दा ठूलो समय हो । समय समात्न सकिँदैन । एकचोटि बितेको समय बित्योबित्यो । बेलैमा काम गरेन भने पछुताउनेबाहेक अन्य कुनै विकल्प रहँदैन । प्रचण्ड तीन पटक प्रधानमन्त्री बने । दुईपटक उनले कोटपाइन्ट लगाएर शपथ खाए । यो पटक भने दाउरासुरुवाल लगाए । ज्ञानेन्द्रको जस्तो अवस्था प्रचण्डको हालत पनि त्यस्तै हुन्छ ।

प्रधानमन्त्री भएको एक सय दिन बितिसक्दा पनि उनी चलमलाएका छैनन् । जनता र राष्ट्रको हितमा हुने एउटा काम पनि उनीद्वारा भएको छैन । ज्ञानेन्द्रले जनता पनि मारेका थिएनन् । उनको पालोमा अर्थतन्त्र टाट पल्टिएको पनि थिएन । महँगी र बेरोजगारी अहिलेजस्तो थिएन । भ्रष्ट्राचार पनि यतिविघ्न थिएन । जसका कारण ज्ञानेन्द्रलाई नेपालकै भूमिमा बस्न दिइयो । प्रचण्डलाई त देशबाटै लखेट्छन् जस्तो छ । महँगीले सीमा नाघिसकेको छ ।

सर्वसाधारणलाई बिहानबेलुका छाक टार्न मुस्किल परेको छ । बेरोजगारी, भ्रष्ट्राचार र गरिबीमा मुलुक गिजोलिएको छ । विदेशी ऋण निरन्तर बढिरहेको छ । विदेशी हस्तक्षेप बढेको छ । नेपाल नै अन्य मुलुकले लैजान्छ कि भन्ने डर भइसकेको छ । अर्थतन्त्र टाट पल्टिसक्यो । सरकारी कर्मचारीलाई तलब र ज्येष्ठ नागरिकलाई भत्ता दिने पैसा छैन । बैक तथा वित्तीय संस्था टाट पल्टिसकेको छ । अनि यस्तो हुँदा पनि प्रचण्ड हात बाँधेर बसेका छन् ।

राजाको पालामा जस्तै हप्ताको दुई पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । भाषण छोड्नबाहेक अरू केही गर्ने होइन । खर्च कटानी गरेर देश बचाउनतर्फ ध्यान छैन । दाउरासुरुवाल लगाएर टाउको हल्लाउँदै हिँडेको छ । यस्तो गैरजिम्मेवार ड्राइभरले तीन करोड जनतालाई अप्ठ्यारोमा पार्ने निश्चित छ ।

  • अनुसा थापा, भक्तपुर
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *