अझै ६ वटा मन्त्रालय खाली राखेर उपचुनावमा केन्द्रित सत्ता गठबन्धन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा हाल ६ वटा मन्त्रालय खाली छन् । १० दलीय गठबन्धनलाई भाग लगाउँदा कांग्रेसलाई परेका ४ मन्त्रालय, जसपा र जनमत पार्टीलाई परेको १/१ मन्त्रालय अझै प्रधानमन्त्रीले नै चलाइरहेका छन् । तर, यी दुवै पार्टीले १० वैशाखको उपचुनावअघि मन्त्री हुने नेताको नाम पठाउन उदासिनता देखाएका छन् ।

‘समपूर्ण ध्यान उपनिर्वाचनमा लगाउनु पर्ने भएकाले उपनिर्वाचनअघि मन्त्रीपरिषद् विस्तारको सम्भावना न्यून छ,’ नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले भने, ‘यसबारे अहिले छलफल समेत गर्ने समय पाइएको छैन ।’

नेपाली कांग्रेसमा संस्थापन पक्ष र इतरका डा. शेखर कोइराला पक्षबीच मन्त्री छान्ने विषयमा सहमति जुट्न नसक्दा १७ चैतमा भएको सातौँ पटकको मन्त्रिपरिषद् विस्तार पनि पूर्ण बन्न नसकेको हो । इतरले संस्थापन पक्षले आफ्ना संसदलाई उपयुक्त मन्त्रालयको जिम्मेवारी नदिएका कारण असन्तुष्टी जनाएका थिए । डा. कोइरालाले सम्मानजनक सहभागिता नभए आफूहरू सरकारमा नजाने अडान लिएका थिए । कोइराला पक्षले पनि यस विषयमा पछिल्लो समय छलफलै नभएको बताएकाे छ ।

यस्तै, जसपाका नेता अशोक राईले पनि निर्वाचनअघि आफ्नो पार्टीमा मन्त्री बन्नेको नामबारे छलफल नभएको बताए ।

‘यसबारे छलफल गर्न भ्याएको छैन,’ उनले भने, ‘अध्यक्ष उपनिर्वाचन लड्दै हुनुहुन्छ । सकिएपछि मात्र होला की ।’

उता जनमत पार्टी १७ चैतमा सरकारबाट बाहिरिएको थियो । उक्त पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानलाई राजीनामा बुझाउन लगाएर पार्टीका अध्यक्ष सिके राउतले फिर्ता बोलाएका थिए । राउत गठबन्धनबाट असन्तुष्ट बनिरहेका छन् । तर, उनले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएका छैनन् । यसो हुँदा उनी सरकारमा जाने नजानेबारे धारणा बनाउन सकेका छैनन् ।

अहिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र खानेपानी मन्त्रालय खाली छन् ।

यता प्रधानमन्त्रीको सचिवालय सदस्य मनहरी तिम्सिनाले कांग्रेस र जसपाले मन्त्रीहरुको नाम नदिएपछि सरकार विस्तार हुन नसकेको बताए ।

‘उहाँहरूले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री बनाउन नेताको नाम पठाउनु भएको छैन,’ उनले भने, ‘यताबाट त जहिले नाम आउँछ, त्यही दिन पूर्ण हुने हो ।’

११ पुसमा प्रधानन्त्रीको शपथ लिएका प्रचण्डले हालसम्म सातौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुस ११ मा प्रधानमन्त्रीको शपथ लिएका थिए । त्यसपछि, दोस्रो पटक माघ ३, तेस्रो तथा चौथो पटक १४ र २३ माघमा, पाँचौँ पटक १४ फागुन र छैटौँ १६ फागुनमा र सातौँ पटक १७ चैतमा मन्त्रिपरिषद् विस्तार गरेका छन् । तर प्रधानमन्त्री बनेको ३ महिना १६ दिनमा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *