एस छाड्दै न्यौपानेले भने-‘झालनाथसमेत एमालेमा नै फर्किने मनस्थितिमा हुनुहुन्छ’ (भिडिओ)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् ।
शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको आरोप लगाए ।
उनले एकीकृत समाजवादी पार्टी अवसरवादमा लिप्त भएको पनि आरोप लगाए । उनले सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरू मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गरे ।

उनले भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्त्वपूर्ण कुरा हो भन्ने सोचेर आफूले नेकपा ९एकीकृत समाजवादी पार्टी परित्याग गरेको घोषणा गरे । उनले आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए ।
उनले नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झालनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको दाबी गरे ।
उनले भने, ‘नेकपा एकीकृत समाजवादीले परिचय दियो तर पहिचान दिन सकेन । सदैव आफ्नो आफ्नो स्वार्थमा निहीत भएको आभास भएको मलाई लाग्यो, विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्द्वात्मक भौतिकवादी दर्शनको धारबाट अलग भई वस्तुगत परिस्थितिको ठोस विश्लेषण नगरी मार्क्सवाद दुईचार शब्द निकालेर अवसरवादीमा आधारित भयो । सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने, मैले मिति २०७९ माघ २१ र २२ को केन्द्रिय समितिको बैठकमा आफ्नो धारणासहित फरक मत राखेको थिएँ । हालसम्म कुनै पनि छलफल नभएकाले त्यहाँ बसिरहन सकिनँ । यस्तो पार्टीको सदस्य भएर बस्नुभन्दा देशको असल नागरिक भएर बस्ने सोचेँ, भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्त्वपूर्ण कुरा हो ।’
नेता न्यौपानेले सांसद भएकाहरूलाई नौ-नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नजाने दाबी गरे ।








